Logo

बाग्मती प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसको संस्थागत दाबी छ, हामी पछि हट्दैनौंः इन्द्र बानियाँ



काठमाडौं, भदौ ३० । बाग्मती प्रदेशका कांग्रेसको संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले प्रदेशको मुख्यमन्त्रीमा आफ्नो पार्टीको संस्थागत दाबी भएको बताएका छन् । विपक्षी दलको नेताका हिसाबले बाग्मती प्रदेशमा आफ्नो नेतृत्वमा सरकार बनाउने चाहना राख्नु स्वाभाविक भएको उनको भनाइ छ ।

आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता बानियाँले भने, ‘अहिले अष्टलक्ष्मी शाक्यको सरकार अल्पमतमा परेको छ, उहाँले राजीनामा दिएर या विश्वासको मत लिएर मार्गप्रशस्त गर्नुपर्ने हो । अब गठबन्धनको नेतृत्वमा सरकार बन्छ । तर कसको नेतृत्वमा बनाउने भन्ने टुंगिएको छैन । तर मेरो व्यक्तिगत चाहना मात्र होइन, मेरो पार्टी नेपाली कांग्रेसको चाहना पनि दलको नेतालाई मुख्यमन्त्री बनाउने भन्ने छ । मुख्यमन्त्रीमा संस्थागत रुपमै कांग्रेसको दाबी छ ।’

नेता बानियाँले सत्ता गठबन्धनले निर्णय नगर्दासम्म सबैको दाबी स्वाभाविक भएको पनि बताए । उनले भने, ‘हामीले बाग्मती प्रदेशमा आफ्नो नेतृत्वमा सरकार बनाउने चाहना स्वाभाविक हो, गठबन्धनका अरु दलले आफ्नो सरकार बनाउने अभिव्यक्ति दिनु पनि स्वाभाविकै हो । सुरुको नेतृत्व हामीलाई दिनुपर्छ भन्ने कुरा चलिरहेको छ । अन्तिम टुंगो लागेको छैन ।’

उनले राजनीति सम्भावनाको खेल भएकाले राजेन्द्र पाण्डे या आफ्नो जसको नेतृत्वमा पनि सरकार बन्न सक्ने बताए । उनले भने, ‘उहाँको पनि दाबी छ, मेरो पनि दाबी छ । केन्द्रीय गठबन्धनमा सरकार बनाउन साथ दिएका कारण उहाँहरुको दाबी पनि स्वभाविक हो । अब कसको नाममा सहमतिमा बन्छ, म ठ्याक्कै बताउन सक्दिनँ । तर मैले दाबी छाड्ने कुरा छैन । अन्तिमसम्म दाबी रहन्छ । गठबन्धन संस्कृति अनुसार म हुँदा राजेन्द्र पाण्डेले मान्नुपर्यो, राजेन्द्र पाण्डे हुँदा मैले मान्नुपर्यो । कि गठबन्धन नै भत्काउनुपर्यो । सरकारको नेतृत्व कसले गर्ने भन्ने कुरा नेतृत्वले टुंग्याउनुपर्छ ।’

उनले केन्द्रीय गठबन्धन समस्यामा परेको पनि स्वीकारे । उनले भने, ‘लामो समयदेखि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । अध्यादेश फिर्ता लिने या प्रक्रियामा लगेर टुंग्याउने कुराले समस्या आइसकेको छ । तर यो अप्ठ्यारो परिस्थितिमा संसद्, संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षाका लागि निर्माण भएको सरकार हो । केही प्रक्रियागत र कानुनी रुपमा जटिलता छन् । त्यसलाई समाधान गर्दै अघि बढ्नुपर्छ ।’

नेता बानियाँले एमसीसीका बारेमा प्रपोगान्डा भइरहेको बताए । उनले भने, ‘संसद्मा टेबल नभईकन यसबारे भ्रम सिर्जना गरिएको छ । खास बहस गर्ने थलो संसद् हो । संशोधन गर्नुपर्ने हो भने पनि त्यहीँ छलफल गर्नुपर्यो । अनधिकृत चर्चा परिचर्चा गरेर उछाल्नुको कुनै अर्थ छैन ।’

नेपाली कांग्रेसको डडेलधुराको वडा अधिवेश विवाद पनि राजनीतिक प्रपोगान्डा मात्र भएको उनको दाबी छ । उनले भने, ‘क्रियाशील सदस्यता छानबिन समिति सर्वसम्मत रुपमा बनेको हो । यसमा रामचन्द्र पौडेल समूहको पनि प्रतिनिधित्व छ । निर्वाचन समिति पनि त्यसरी नै सर्वसम्मत रुपमा बनेको हो । निर्वाचन समितिले प्रतिनिधि खटाएको छ । उसले त्रुटि देखेमा वा उजुरी परेमा फेरि वडा अधिवेशन गर्ने हो । स्वाभाविक रुपमा प्रतिनिधि छनोट गरिसकेको विषयमा विवाद गर्न मिल्दैन ।’ उनले कांग्रेसको महाधिवेशन अब नरोकिने पनि बताए ।

नेता बानियाँले आवश्यकताको सिद्धान्त अनुसार मुलुकको राजनीतिक निकासका लागि अर्ली चुनावु हुन सक्ने पनि औंल्याए ।



प्रतिक्रिया दिनुहोस्