Logo

बायोमेट्रिक लागु भएपछि मात्र कोरिया रोजगारी सुरु हुने



काठमाडौं, भदौ ३० । करिब दुई वर्षदेखि रोकिएको कोरिया रोजगारी बायोमेट्रिक प्रणाली लागु भएपछि मात्र सुचारु हुने भएको छ। दक्षिण कोरिया सरकारले रोकिएको रोजगारी सुचारु गर्न बायोमेट्रिक प्रणालीलाई अनिवार्य गर्नुपर्ने सर्त थपेपछि अझै एक महिनासम्म कोरिया रोजगारी सुरु हुने छैन।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सुर्यप्रसाद गौतमले कोरियाले बायोमेट्रिक प्रणाली अनिवार्य गर्नुपर्ने सर्त थपेपछि बायोमेट्रिकका लागि भौतिक पूर्वाधार जडानको काम भइरहेको बताए। ‘बायोमेट्रिक प्रणाली सुरु नभई कोरिया रोजगारी सुचारु नहुने भएपछि भौतिक पूर्वाधार निर्माणको काम सुरु भइरहेको छ,’ उनले भने, ‘यो काम आउँदो असोज मसान्तसम्म सम्पन्न गर्ने योजना छ।’

कोरियाले बायोमेट्रिक प्रणालीलाई जोड दिनुको कारण नक्कली परीक्षार्थीलाई रोक्नु रहेको बताउने गरेको छ। ‘कोरियन भाषा परीक्षामा सहभागी हुने र कोरिया जाने व्यक्ति फरक फरक रहेको पाइएपछि कोरिया सरकारले बायोमेट्रिक प्रणालीलाई जोड दिएको ब्ुझिएको छ,’ गौतमले भने। विगतमा कोरियन भाषा परीक्षामा सहभागी भएका र फारम भरेका व्यक्ति फरकफरक परेपछि प्रहरीले समेत पक्राउ गरेको थियो।

बायोमेट्रिक प्रणालीमा जो कोरियन भाषा परीक्षामा सहभागी हुने हो, सोही व्यक्तिको औंठा छाप हुने र जसले गर्दा रोजगारदातालाई झुक्याउन नपाइने भएकाले विश्वासिलो मानिन्छ। सचिव गौतमले बायोमेट्रिक प्रणालीमा परीक्षा फारम भर्दा लिइने औंठा छापलाई नै अन्तिम समयसम्म रोजगारदाताले प्रयोग गर्न पाउने बताए।

सन् २०२० देखि रोकिएको कोरिया रोजगारी सुचारु गर्न नेपालले पटकपटक आग्रह गर्दै आए पनि कोरियाले यसअघि काठमाडौं–सिओल सिधा हवाई उडान हुनुपर्ने, नेपाली कामदार अनिवार्य १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने र त्यसको खर्च कामदारले बेहोर्नुपर्ने सर्त राखेको थियो। ती तीन सर्त मान्न नेपाली पक्ष तयार रहेपछि कोरियाले बायोमेट्रिक प्रणालीको अर्को सर्त थपेको हो।नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्