Logo

तालिवान सत्तामा आएलगत्तै विवाद, नेताहरुबीच भनाभन



एजेन्सी, ३० भाद्र । अफगानिस्तानमा तालिवानले सरकार बनाएको एक हप्तामै विवाद बाहिरिएको छ । तालिवानको दुई समूहबीचको विवाद खुलेको हो ।

तालिवानका संस्थापकमध्येका नेता मुल्लाह अब्दुल गनी बरादार र एकजना मन्त्रीबीच भनाभन भएको बीबीसीले स्रोतको हवाला दिदै उल्लेख गरेको छ । बरादार अहिलेको मन्त्रिमण्डल गठनप्रति असन्तुष्ट छन् । उनी सार्वजनिक रुपमा केही बोलिरहेका छैनन् ।

राष्ट्रपति भवनमा बरादार र हक्कानी नेटवर्कका प्रभावशाली नेता समेत रहेका शरणार्थी मामलामन्त्री खलिल उर रहमान हक्कानीबीच भनाभन भएको हो । उनीहरुको समर्थकबीच पनि झगडा भएको थियो । गत हप्ताको अन्ततिर भनाभन भएको बताइएको छ ।

तालिवान सरकारका उपप्रधानमन्त्री बरादार निकै असन्तुष्ट छन् । तालिवानले अफगानिस्तानमा सत्ता कब्जा गरेको जस लिने विषयमा पनि उनीहरुबीच विवाद बढेको छ । बरदार कुटनीतिक पहलबाट सफलता हासिल भएको दाबी गर्छन् । हक्कानी समूह लडेर जितेको दाबी गर्छन् ।

बरादार तालिवानभित्रको नरमपन्थी समूहका नेता हुन् । उनले कुटनीतिक चार्तुयता देखाएर तालिवानलाई बलियो बनाएका थिए । रुस र चीन पुगेर त्यहाँका नेताहरुलाई तालिवानबाट खतरा नभएको विश्वास दिलाएका थिए । बरादार अमेरिकाका तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पसँग फोन संवाद गर्ने पहिलो तालिवान नेता हुन् । उनले तालिवानको तर्फबाट अमेरिकी फौज फिर्ता हुने दोहा सम्झौतामा हस्ताक्षर गरेका थिए ।

तालिवानमा हक्कानी नेटवर्क पश्चिमा र भारतविरोधी मानिन्छन् । उनीहरुको पाकिस्तानसँग बलियो सम्बन्ध रहेको छ । पश्चिमा र भारतप्रति उनीहरुको कठोर नीति देखिन्छ ।



प्रतिक्रिया दिनुहोस्