Logo

ओमानसँग नेपाल ५ विकेटले पराजित, अमेरिकासँग शुक्रबार खेल्ने



काठमाडौं, ३० भदौ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय अन्तराष्ट्रिय सिरिजको दोस्रो खेलमा नेपालले हार ब्यहोरेको छ । मंगलबार भएको दोस्रो खेलमा नेपाल घरेलु टोली ओमानसँग ५ विकेटले पराजित भएको हो ।
नेपालले दिएको १ सय ९७ रनको लक्ष्य ओमानले ३१ ओभर १ बलमा मात्र ५ विकेट गुमाउदै पूरा गरेको थियो ।

ओमानको जितमा जतिन्दर सिंहले १ सय ७ रनको शतकीय इनिङ्स खेले । विस्फोटक ब्याटिङ गरेका उनले ६२ बलमा ६ छक्का र १२ चौका प्रहार गरे । उनले पाँचौ ओभरमा सोमपाल कामीविरुद्ध एकै ओभरमा ३ चौका र ३ छक्का प्रहार गर्दै ३० रन जोडेका थिए ।
नेपालका करण केसी र कुशल मल्लले २/२ विकेट लिए । सुशन भारीको नाममा १ विकेट रह्यो ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४७ ओभर ४ बलमा अलआउट हुँदै १ सय ९६ रन बनाएको थियो । नेपालका लागि ओपनर आसिफ शेखले ९० रनको अर्धशतकीय इनिङ्स खेले । त्यस्तै, कप्तान ज्ञानेन्द्र मल्ल र करण केसीले समान २१÷२१ रन जोडे । साथै यसअघीका खेलमा उत्कृष्ट प्रदर्शन गर्दै आएका रोहित पौडेल २० रनमा आउट भए ।

ओमानका बिलाल खान एक्लै ४ विकेट लिए । नेस्टर धाम्बाले २ तथा जिशन मक्सुद र मोहमद नदीमले १/१ विकेट लिए । यससँगै ओमानविरुद्ध नेपाल लगातार तेस्रो खेलमा पराजित भएको छ । लिग–२ अन्तर्गत नै सन् २०२० को फेब्रुअरीमा नेपाल घरेलु मैदानमा ओमानसँग दुई खेलमा पराजित भएको थियो ।

अब नेपालले शुक्रबार अमेरिकासँग दोस्रो खेल खेल्नेछ । त्यस्तै, ओमानसँग आगामी आइतबार खेल्नेछ । लिग–२ को अंक तालिकामा नेपाल छैटौं स्थानमा रहेको छ । नेपालले ६ खेलमा ६ अंक जोड्दै लिग–२ को अंक तालिकाको छैटौं स्थानमा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्