Logo

बैतडीमा २२ जनामा स्क्रब टाइफसको सङ्क्रमण



बैतडी, ३० भदौ । पछिल्लो समय यहाँ ‘स्क्रब टाइफस’ रोगको जोखिम बढ्दै गएको छ । यहाँका स्वास्थ्य संस्था र अस्पतालमा उपचारका लागि आउने बिरामीमा स्क्रब टाइफस देखिन थालेपछि जोखिम बढ्दै गएको हो ।

जिल्ला अस्पतालमा उपचारका लागि आउने बिरामीमा पनि स्क्रब टाइफस देखिएको अस्पतालका सूचना अधिकारी हरिश पन्तले जानकारी दिए । विगतका वर्षमा फाट्टफुट्ट मात्र देखिए पनि यस वर्ष स्क्रब टाइफसका बिरामीको सङ्ख्या बढेको छ । उनले भने, “वर्षायामको सुरुबाटै बिरामीको सङ्ख्या बढेको छ, साउनदेखि हालसम्म २२ जनामा स्क्रब टाइफस पुष्टि भइसकेको छ ।”

जिल्लाका सबै स्थानीय तहबाट आएका बिरामीमा स्क्रब टाइफस देखिने गरेको छ । त्यसमध्ये पनि सदरमुकामस्थित दशरथचन्द नगरपालिका र दोगडाकेदार गाउँपालिकाबाट उपचारका लागि जिल्ला अस्पताल आएका बिरामीमा बढी यो रोग देखिएको सूचना अधिकारी पन्तले बताए ।

जिल्ला अस्पतालमा बढीजसो भाइरल ज्वरोका बिरामी उपचारका लागि आउने गरेका छन् । अस्पतालमा हाल दैनिक १०० बिरामी उपचारका लागि आउने गरेकामा ५० जना भाइरल ज्वरोका आउने गरेका जिल्ला अस्पतालका प्रमुख डा वसन्तराज जोशीले बताए । “अस्पतालले ज्वरोका प्रत्येक बिरामीमा स्क्रब टाइफसको परीक्षण गरिरहेको छ”, उनले भने, “केही स्क्रब टाइफसका बिरामीलाई अस्पताल भर्ना नै गरेर उपचार गर्नुपर्ने अवस्था छ ।”

वर्षात्मा पानीका मुहान सफा नहुँदा पानीजन्य रोग देखापर्ने गरेको स्वास्थ्यकर्मीले बताएका छन् । यो समयमा किर्नालगायतका किराले टोक्ने भएकाले स्क्रब टाइफसका बिरामी पनि देखिने गरेका अस्पतालका प्रमुख डा जोशीले बताए । उनले भने, “पशुचौपाया घुलमिल हुँदा किर्नाले टोक्ने त्यसपछि स्क्रब टाइफस देखिने गरेको छ, स्क्रब टाइफसले ज्यानै लिन सक्ने भएकाले परीक्षणको दायरा बढाएर उपचार गरिरहेको छौँ ।”



प्रतिक्रिया दिनुहोस्