Logo

‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयम् सेवा’



दैलेख, ३० भदौ । राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयम् सेवा’ भन्ने नाराका साथ दैलेख सफाइ अभियान सुरुआत भएको छ ।

पूर्वमन्त्री कुन्तीकुमारी शाहीले मंगलबार अभियानको शुभारम्भ गर्दै वाग्मती सफाइ महाअभियानको प्रेरणाबाट दैलेख सफाइ अभियान सुरु गरिएको बताए । कार्यक्रममा दैलेख नगरपालिका उपप्रमुख सावित्री मल्ल, दैलेखी सेवा समाजका उपाध्यक्ष मीना थापा, एभरेस्ट क्लब दैलेखका अध्यक्ष दीपक शाही लगायतले सफाइको नेतृत्व गरेका थिए ।

सफाइ अभियानले हरेक पसलमा अनिवार्य डस्टबिन राख्न र जथाभावी फोहर नफाल्न अपिल गर्दै जनचेतना जगाएको अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य डा माला खरेलले राससलाई जानकारी दिए । सफाइ अभियानलाई अब साप्ताहिक रुपमा निरन्तरता दिइने भएको छ ।

अभियानका लागि नगरपालिकाले ट्र्याक्टरसहित कर्मचारी पठाएर सहयोग गरेको थियो । दैलेख बजार क्षेत्रमा गुट्खा खाएर जथाभावी फाल्दा बजारका सडक गल्ली दुर्गन्धित भएकामा सफाइपछि चिटिक्क भएको छ । विसं २०७० जेठ ५ गते वाग्मती सफाइ महाअभियान सुरु भएपछि देशव्यापी रुपमा सफाइ जागरण फैलिएको छ ।

वाग्मती सफाइ महाअभियानबाट प्रभावित भएर काठमाडौँ उपत्यकामा २५ र उपत्यकाबाहिर १०७ स्थानमा सफाइ अभियान सुरु भइसकेको छ । देशव्यापी रुपमा सफाइ जागरण फैलिएको भनिए पनि राजधानीकै फोहर उठ्न नसकेर दुर्गन्ध फैलिएको छ । सफाइ अभियानमा स्थानीय सरकारले सहयोग नगरेको अभियानकर्मीको गुनासो छ ।



प्रतिक्रिया दिनुहोस्