Logo

तङ्ग्रिने सुरसारमा धुलिखेलको पर्यटन



काभ्रेपलाञ्चोक, ३० भदौ । भदौ दोस्रोे सातादेखि कोरोना सङ्क्रमण दर ओरालो लागेसँगै धुलिखेलस्थित होटल सारथीका सञ्चालक प्रह्लाद प्याकुरेललाई होटल व्यवसाय अब तङ्ग्रिएला भन्ने विश्वास बढेको छ । त्यसयता होटलमा शुक्रबार र शनिबार चहलपहल बढ्दै यो महिनाको अन्त्यतिर दैनिक आन्तिरिक पर्यटकको आउजाउ पनि हुन थालेको छ ।

केही कार्यक्रमको लागि सोधनी र ‘बुकिङ्’ ले प्याकुरेलको उत्साह बढाएको छ । प्रक्षेपण गरिएको कोरोना तेस्रो लहर आउँला नआउँला तर, कोरोना सङ्क्रमण दर घट्दै गएकाले हाल धुलिखेलमा होटल–पर्यटन तङ्ग्रने सुरसारमा रहेको देखिन्छ । “अब व्यवसायले रुप फेर्ला भन्ने आशा जगाएको छ, कोरोना तेस्रो लहरको चिन्ता उत्तिकै त छ तर हाल होटल–पर्यटन सहज बन्दै गएको अनुभूति हुँदैछ”, प्याकुरेलले भने । कोरोनाका दुईवटा लहरले होटल व्यवसायीलाई निकै ठूलो घाटा व्यहोर्न बाध्य बनाइरहेका बेला पुनः तेस्रो लहरको महामारी प्रक्षेपणले उनीलगायत धुलिखेलका होटल व्यवसायीलाई लयमा फर्कनेबारे थप चिन्ताको भारी नबोकाएको भने हैन ।

गत चैतमा दोस्रो लहर सुरुसँगै होटल सारथीमा वैशाख अन्तिम सातासम्मका बुकिङ रद्ध भए । ५० बेड क्षमताको होटलमा वैशाख अन्तिमसम्म जेनतेन स्वास्थ्य मापदण्डअनुसार सेवा दिएपछि जेठ, असार र साउनमा होटेल ठप्पै रह्यो । कोभिड–१९ को दोस्रो लहरको कोरोना सङ्क्रमण बढ्न थालेपछि होटल सारथीसँगै पर्यटकीय स्थल धुलिखेलका होटेल वैशाख अन्त्यसम्म गरिएका बुकिङ धमाधम रद्द गर्न बाध्य बनेका थिए ।

कोरोनाको जोखिमपछि पुनः बामे सर्दै गरेका होटेल अब बन्द गर्न नपर्ने अपेक्षा गरेको क्षेत्रीय होटल सङ्घ (हान)का अध्यक्ष प्रेमकण्ठ माकजू श्रेष्ठले बताए । “तत्कालै तेस्रो लहरको कोरोना आउने र सावधानी अपनाउनुपर्ने सूचना सरकारी पक्षबाटै आउन थालेपछि होटल व्यवसायी निकै तनावमा थियौँ, व्यवसायी टाट पल्टने अवस्था आइसकेको थियो, अब सङ्क्रमण दर घटेपछि हामी होटेल–पर्यटन लयमा फर्कने भएपछि खुसी छौँ”, धुलिखेल लज रिसोर्टका सञ्चालकसमेत रहनुभएका श्रेष्ठले भने, “दैनिक दुई सयको हाराहारिमा रिसोर्टमा आन्तरिक÷बाह्य पर्यटक आउने गरेकोमा कोरोनाको दोस्रो लहर वैशाखपछि साउनसम्म शून्यमै झ¥यो ” । अहिले दिनानुदिन आन्तरिक पर्यटक बढ्दै छन् । सो क्षेत्रका पर्यटन व्यवसायी अब विदेशी पर्यटकको पर्खाइमा छन् ।

धुलिखेलको होटल–पर्यटन कोरोनाको दोस्रो लहरले निकै प्रभावित बनायो । धुलिखेलमा ठूला–साना गरी करिब ६० होटलमा एक हजार बेड क्षमता छन् । जिल्लास्थित धुलिखेलको होटल–पर्यटनमा मात्रै करिब रु ५० अर्बको लगानी रहेको छ । यहाँ करिब तीन हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् ।



प्रतिक्रिया दिनुहोस्