Logo

चालक अनुमतिपत्र नहुँदा समस्या



काठमाडौँ, ३० भदौ । गतवर्ष जेठदेखि मोटरसाइकल चलाउन थाल्नुभएका डाँछीका दिनेश न्यौपानेसँग अझै चालक अनुमतिपत्र छैन । नयाँ बानेश्वरस्थित एउटा स्वास्थ्य क्लिनिकमा कार्यरत उहाँ डेढवर्ष पहिलेसम्म सार्वजनिक बसमा ओहोरदोहोर गर्थे ।

विसं २०७६ चैतमा सरकारले जारी गरेको बन्दाबन्दीले सार्वजनिक यातायात बन्द भयो । त्यसपछि भने उनले पहिले आफन्तको मागेर र पछि आफैँ किनेर मोटरसाइकल चलाइरहेका छन् । मोटरसाइकल चलाएको महिनौँसम्म पनि नयाँ चालक अनुमतिपत्रका लागि आवेदन नखुल्दा न्यौपानेले भर्न पाएनन् । गत पुसमा आवेदन खुलेपनि प्राविधिक समस्याले गर्दा पुस र माघ महिनामा पटकपटक प्रयास गरेपनि भर्न नसकेको उनले बताए ।

उनले फागुन महिनामा आवेदन भर्नुभएको थियो । असार महिनाको अन्तिम सातामा पालो आउने भनेपछि उनले लिखित र प्रयोगात्मक परीक्षाका लागि तयारी गरे । दोस्रो लहरसहित कोभिड फैलन थालेपछि गत वैशाखमा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी ग¥यो र उहाँको परीक्षाको मिति धकेलियो ।

साउन महिनामा बन्दाबन्दी हटेसँगै पुनः परीक्षा हुने आशा पलाएको भए पनि चावहिलस्थिथत यातायात कार्यालयको जवाफले निरास बनाएको न्यौपानेले बताए । यो डेढ वर्षमा उहाँले एक पटक ट्राफिक प्रहरीको जाँचमा परेर रु एक हजार जरिवाना तिरेका थिए। आफूसँग अनुमतिपत्र हुँदा ढुक्कले चलाउन पाइने भए पनि अहिले डराएर हिँड्नुपरेको उनको दुखेसो छ । उनी सकेसम्म ट्राफिक प्रहरीको जाँच नहुने भित्रि सडकमा हिँड्ने गरेका छन् ।

उनले भने, “आफूसँग अनुमतिपत्र नहुँदा गाह्रो भएको छ ।”एकातिर कोभिड र अर्कातिर कार्डको आपूर्ति नहुँदा लामो समयसम्म नयाँ चालक अनुमतिपत्रका लागि परीक्षा सञ्चालन भएको छैन । एकातिर सेवाग्राहीले चाहेर पनि अनुमतिपत्र बनाउन पाएका छैनन् भने त्यही अनुमतिपत्र नभएको भन्दै ट्राफिक प्रहरीले जरिवाना गर्दै आएको छ । पटकपटक कोभिडका कारण भन्दै प्रशासनले सार्वजनिक यातायात बन्द गर्दा काठमाडौँ उपत्यकामा निजी सवारीसाधन चढ्ने बढ्दैछन् ।

सार्वजनिक सवारीसाधनमा स्वास्थ्यमापदण्डको पालना नगराउँदा निजी सवारी साधन चढ्नु बाध्यता भएको उपत्यकावासी बताउँछन् । सवारी साधन किनेर चढ्नु कतिका लागि रहर त कतिका लागि बाध्यता छ ।

सेवाग्राहीले चाहेर पनि चालक अनुमतिपको परीक्षामा सहभागी हुन पाएका छैनन् भने सडकमा पनि जाँच कम मात्रै भएको देख्न सकिन्छ । केही वर्ष पहिलेसम्म ट्राफिक प्रहरीले मुख्य मात्रै होइन सहायक सडकमा जाँच गर्ने गरेकोमा डेढवर्ष पहिले कोभिड देखिएपनि जाँच खासै भएको पाइँदैन ।

ट्राफिक प्रहरीले भने कोभिडका कारणले जाँच कम गर्न प्रहरी प्रधान कार्यालयबाट निर्देशन आएकाले त्यसैका आधारमा कम गरिएको जनाएको छ । देशरभमा सङ्क्रमण बढीरहँदा जाँच कम भएको ट्रफिक प्रहरी महाशाखाका प्रवक्ता सञ्जिव शर्मा दासले बताए । अहिले पुनः जाँच बढाउने गरी योजना बनाइएको छ । उनले भने, “कोभिड सङ्क्रमण बढीरहँदा हामी मास्कको प्रयोगबारे चेतना फैलाउनेलगायतका अरु जिम्मेवारी पूरा गर्न लागेका थियौँ अब पुनः जाँच बढाइनेछ ।”

अहिले महाशाखाले दैनिक ६० देखि ८० जनासम्मलाई अनुमतिपत्र नभइ सवारीसाधन चलाएको भनी कारवाही गरिरहेको छ । ट्राफिक प्रहरीले सबैलाई रोकेर जाँच नगरेपनि चालकले सवारीसाधन चलाएको हेरेर टाढाबाट पनि उसँग कागजात छछैन थाहा हुने उहाँको भनाइ छ । उनले भने, “चोकचोकमा खटिएका ट्राफिक प्रहरीले शङ्का लाग्दा जाँच गरिरहेका छन् ।”

चालक अनुमतिपत्र नभइ चलाउनेको सङ्ख्या बढिरहे पनि उपत्यकामा सवारी दुर्घटना नबढेको तथ्याङ्कले देखाएको छ । कोभिडका कारण अझै पनि सडकमा आवतजावत कम हुँदा सवारी चाप कम भएकाले दुर्घटना कम भएको प्रहरी उपरीक्षक दासको भनाइ छ । रासस



प्रतिक्रिया दिनुहोस्