Logo

बिमला वलीका कारण शंकर पोखरेल हैरान



बुटवल, ३० भाद्र । लुम्बिनी प्रदेशकी सांसद बिमला वली फेरि चर्चामा आएकी छिन् । शंकर पोखरेल नेतृत्वको प्रदेश सरकार ढाल्न निर्णायक भूमिका खेलेकी वलीले आफूमाथि अपहरणको आरोप लगाएकी थिइन् । उनी यही विषयमा आज प्रहरीसम्म पुगेकी छिन् ।

पूर्वमुख्यमन्त्री शंकर पोखरेलसहित ४ जनाविरुद्ध वलीले जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा किटानी जाहेरी दिएकी छिन् । घटना दाङको भएकाले प्रहरीले उतै पठाइदिएको छ ।

जाहेरीमा वलीले आफूलाई दाङस्थित घरबाट अपहरण गरी १५ साउन देखि मुख्यमन्त्रीको बुटवलस्थित निवासमा बन्धक बनाएको उल्लेख गरेकी छिन् । ५ दिनसम्म बन्धक बनाएपछि आफू शौचालय जाँदा लगाउने जुत्ता लगाएर भाग्न सफल भएको बताएकी छिन् । अपहरण र शरीर बन्धकसम्बन्धी कानुन अनुसार कारबाहीको माग समेत गरेकी छिन् ।

प्रदेश सांसद उत्तरकुमार वलीको निधनपछि नेकपाबाट उपनिर्वाचनमा दाङबाट विमला वली विजयी भएकी थिइन् । एमाले र माओवादी केन्द्र ब्युँतदा उनी माओवादीमा रहेको बताइन् । तर, लुम्बिनीमा सत्ता संघर्ष हुँदा उनले साउनको तेस्रो साता एमालेमा रहेको विज्ञप्तिमार्फत् सार्वजनिक गरिन् । त्यतिबेला उनी मुख्यमन्त्रीको निवासमा थिइन् ।

पछि माओवादी केन्द्रमा रहेको भन्दै पत्रकार सम्मेलन नै गरिन् । वलीले माओवादी रोजेपछि शंकर पोखरेल नेतृत्वको सरकार ढलेको थियो ।

वलीका कारण पोखरेलले विगत देखि वर्तमानसम्म हैरानी भोगिरहेका छन् । वली जहाँबाट निर्वाचित भइन् त्यो पोखरेलको पनि गृहजिल्ला हो । यसकारण उनका लागि यो प्रतिष्ठाको विषय बन्न पुग्यो । दाङमै पोखरेल कमजोर रहेको सन्देश गइरह्यो ।

पोखरेललाई आफ्ना विश्वासपात्रहरु खटाएर वलीलाई सम्झाएर मन्त्रीसहितको आश्वासन दिएर समर्थन गर्न पठाएको चर्चा छ । वली आइन् तर झड्का दिएर गइन् । पोखरेल फेरि हैरानीमा परे ।
अहिले फेरि वलीले अपहरणको जाहेरी दिएकी छिन् । यसले उनलाई फैरि हैरानी पारेको छ ।



प्रतिक्रिया दिनुहोस्