Logo

आर्थिक सूचकहरु ओरालो लागिसके, दलहरुले सहमति गर्नुपर्छ : डा. अधिकारी



काठमाडौं, ३० भदौ । अर्थविद् डा. चन्द्रमणि अधिकारीले अहिले दलहरुले समाधान खोजेर मुलुकलाई निकास दिनुपर्ने बताए । उनले भने,‘अहिलेको अवस्थाले हामी तदर्थवादमा चलिरहेको देखाउँछ । समयमै बजेट प्रस्तुत गर्ने, समयमै प्रि–बजेट गराउने कुरा संविधानमै व्यवस्था गरिएको छ, तर हामीकहाँ छलफल नै हुँदैन् । हाम्रो राजनीतिक नेतृत्व र सरकार गम्भीर रहनेछ भन्ने मनोविज्ञान देखिन्छ ।’ आज (बुधबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले  अहिलेको परिस्थितिको समाधान दलहरुबाट नै निकाल्नुपर्नेमा जोड दिए ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले भने,‘यसको समाधान संसद्बाट हुने हो । चाँडोभन्दा चाँडो संसद् चल्ने व्यवस्था हुनुपर्छ । प्रतिपक्षले पनि सहयोग गर्नुपर्छ । अर्थतन्त्र बिग्रियो भने मुलुक पछि पर्छ, अहिले आर्थिक सूचकहरु ओरालो लागिसके । हामी शोधानन्तर बचतमा पनि नकारात्मक स्थितिमा पुगेका छौं ।’

सरकारले ल्याएको बजेटको प्रतिस्थापन विधेयक पारित भएको छैन। तर, प्रतिनिधि सभाले बजेटलाई सैद्धान्तिक स्वीकृति दिएको छ। यस्तोमा सरकारले बजेट खर्च गर्न पाउँछ कि पाउँदैन भन्ने प्रश्न खडा भएको छ। संविधानको धारा ११४ अनुसार अध्यादेश ल्याएको ६० दिनभित्र प्रतिनिधि सभा र राष्ट्रिय सभाले स्वीकार नगरे निष्क्रिय हुने व्यवस्था छ । शेरबहादुर देउवा नेतृत्वको सरकारले केपी शर्मा ओलीको सरकारले ल्याएको अध्यादेशको प्रतिस्थापन विधेयक प्रतिनिधि सभामा पेश गरिसकेको छ। प्रतिनिधि सभाले प्रतिस्थापन बजेटलाई सैद्धान्तिक स्वीकृति दिएको छ। प्रतिस्थापन विधेयकले अहिलेसम्म कानुनी मान्यता पाएको छैन। प्रतिनिधि सभामा बजेटसम्बन्धी अध्यादेश पेश भएको आज ६० दिन पुगेको छ । अध्यादेश पनि निष्क्रिय हुने र प्रतिस्थापन विधेयक पनि पारित नभएको अवस्थामा सरकारलाई खर्च गर्ने बाटो हुने छैन् ।

 



प्रतिक्रिया दिनुहोस्