Logo

अब राष्ट्र बैंकले समस्या समाधानको लागि नेतृत्व लिनुपर्छ : पूर्व कार्यकारी निर्देशक थापा



काठमाडौं, ३० भदौ । नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापाले अहिलेको अवस्थामा राष्ट्र बैंकले निर्णायक भूमिका खेल्नुपर्नेमा जोड दिए । उनले आपत्तकालिन स्थितिको रुपमा केन्द्रीय बैंकले नेतृत्व लिनुपर्ने पनि बताए ।

आज (बुधबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘बजेट कार्यान्वयनमा नआउँदा परेको असर परेको छ । नीति निर्माताहरुबाट बजेटको क्यालेण्डरसहित क्रान्तिकारी सुधार भएका थिए ।’ उनले प्रतिस्थापन विद्येयक पारित नभएको अवस्थामा मुलुकको खर्च सञ्चालनमा नै समस्या भएको उल्लेख गर्दै अब नेपाल राष्ट्रले तत्काल प्याकेज ल्याउनुपर्ने बताएका हुन् । उनले अमेरिकामा बाराक ओबामाको कार्यकालमा समस्या हुँदा त्यहाँको केन्द्रीय बैंकले अर्थतन्त्र जोगाएको स्मरण गराए । उनले राष्ट्र बैंकले सिडि रेसियो स्थगन गर्नुपर्ने र टर्म लोनको व्यवस्था गरेर जानुपर्ने उनको सुझाव छ ।

सरकारले ल्याएको बजेटको प्रतिस्थापन विधेयक पारित भएको छैन। तर, प्रतिनिधि सभाले बजेटलाई सैद्धान्तिक स्वीकृति दिएको छ। यस्तोमा सरकारले बजेट खर्च गर्न पाउँछ कि पाउँदैन भन्ने प्रश्न खडा भएको छ। संविधानको धारा ११४ अनुसार अध्यादेश ल्याएको ६० दिनभित्र प्रतिनिधि सभा र राष्ट्रिय सभाले स्वीकार नगरे निष्क्रिय हुने व्यवस्था छ । शेरबहादुर देउवा नेतृत्वको सरकारले केपी शर्मा ओलीको सरकारले ल्याएको अध्यादेशको प्रतिस्थापन विधेयक प्रतिनिधि सभामा पेश गरिसकेको छ। प्रतिनिधि सभाले प्रतिस्थापन बजेटलाई सैद्धान्तिक स्वीकृति दिएको छ। प्रतिस्थापन विधेयकले अहिलेसम्म कानुनी मान्यता पाएको छैन। प्रतिनिधि सभामा बजेटसम्बन्धी अध्यादेश पेश भएको आज ६० दिन पुगेको छ । अध्यादेश पनि निष्क्रिय हुने र प्रतिस्थापन विधेयक पनि पारित नभएको अवस्थामा सरकारलाई खर्च गर्ने बाटो हुने छैन् ।

 



प्रतिक्रिया दिनुहोस्