Logo

कामपालाई कर उठाउन सकस, ३० दिने सूचनापछि पनि ७ प्रतिशत मात्रै उठ्यो



काठमाडौं, भदौ ३१ । राजनीतिकलगायत विभिन्न शक्ति केन्द्रको दबाबका कारण काठमाडौं महानगरपालिकालाई कर उठाउन सकस परेको छ । निकै तामझामका साथ बाजा बजाएर कर संकलन गर्न थालेको महानगरलाई राजनीतिक नेतृत्व र ठूलाबडाको दबाब थेग्न गाह्रो परेको छ । त्यसले गर्दा अपेक्षितरूपमा कर संकलन हुन नसकेको बताइएको छ ।

महानगरले करिब ७० सरकारी र अन्य निकायलाई कर तिर्न ताकेता गर्दै पत्र पठाएको थियो । पत्र बुझेर पनि कर तिर्न अटेर गरेपछि २८ वर्षदेखि कर तिर्न अटेर गरेका करदातालाई ३० दिनभित्र कर तिर्न आग्रह गर्दै करदाताको कार्यालयमै पुगेर माइकिङ गरेको थियो । माइकिङ गर्दा पनि केही उपाय नलागेपछि बाजाजागासहित कर तिर्न आग्रह गरेको थियो ।

कामनपा राजस्व विभाग प्रमुख डा शिवराज अधिकारी भन्छन्– ‘सकेसम्म प्रयास गर्दा पनि हालसम्म झन्डै ५ करोड रुपियाँ मात्र असुली भएको छ ।’ उनका अनुसार ती निकायसँग करिब ६० करोड रुपियाँ कर असुल्न बाँकी छ ।

उनले एक महिनाको म्याद सकिँदा समेत कर उठाउन सफल नभएको जानकारी दिँदै भने– ‘कसैले लकडाउनका कारण समस्या परेको त कसैले आफू सरकारी निकाय भएको भन्दै कर नतिर्ने अडान राखेका छन् । कतिपयले समाजिक संघ–संस्थाले कर तिर्न नपर्ने अडान राखेका छन् ।’

कामपा राजस्व विभागको तथ्यांकअनुसार करिब ७० करदातामध्ये १८ करदाताले मात्र कर तिरेका छन् । तीमध्ये ८ करदाताले पूरै कर चुक्ता गरेका छन् भने बाँकी १० ले आंशिक कर मात्र बुझाएका छन् ।

करचुक्ता गर्ने संस्थाहरूमा जिगमीसिग्मी पर्वल विष्ट, राजेन्द्रकुमार कावरा, शहीद मेमोरियल अस्पताल, होटल मस्याङ्दी, बुद्धमल, केशा पोपर्टिज, सुरज आर्किड र वैशाली होटल छन् ।

आंशिक कर तिर्नेमा एनआरटी क्लब, युनाइटेड वल्र्ड ट्रेड सेन्टर, काठमाडौं इन्जिनियरिङ कलेज, नेसनल हस्पिटल, एलआरआई स्कुल, जनमैत्री अस्पताल, प्रवीणबहादुर केसी स्टारमल र केजे पोपर्टिज प्रालि रहेका छन् । आंशिक करचुक्ता गर्नेमा स्वास्थ्य राज्यमन्त्री सञ्चालक रहको जनमैत्री अस्पतालसमेत रहेको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot