Logo

चीनविरुद्ध संगठित हुँदै यी देश, कमजोर देशहरु प्रभावित



समाचार विश्लेषण । कोरोना भाइरसको कहरले विश्वको शक्तिसन्तुलनमा ठूलो फेरबदल ल्यायो । चीन झन् शक्तिशाली बन्दै गयो । उसले आक्रामक रणनीतिका साथ विश्वभर उपस्थिति बढायो । त्यसको नतिजा अफगानिस्तानमा देखिएको छ ।

चीनको साथ पाएको पाकिस्तानको भूमिकाले तालिवानले नसोचेको शक्ति आर्जन गर्यो । फलस्वरुप अमेरिकी राष्ट्रपति जोय वाइडेनको आँकलनभन्दा छिटो तालिवान काबुल पसे । यो घटना यति छिटो भयो कि विश्व नै आश्चर्यचकित भयो । तालिवानले चिनियाँ साथ र लगानीको विषयमा बोलिहाले । पाकिस्तानको गुप्तचर निकाय आइएसआईका प्रमुख फैज हमिद काबुल पुगेर तालिवानको माइक्रोमेनेजमेन्टमा सक्रिय भए । उनी पुगेपछि बल्ल तालिवानको सरकार घोषणा भयो ।

दक्षिण एशियामा चीनको आक्रामक उपस्थितिहरु बढ्दै गयो । पाकिस्तान, श्रीलंका, मालदिभ्समा मात्र नभई नेपालमा पनि चीनको सक्रियता बढ्यो । यसप्रति क्षेत्रीय शक्ति भारत झस्कियो । भुटानसँँगको दोक्लाम घटना मात्र नभई लद्दाक नजिकैको सीमामा भारतको फौजसँग चीनको फौजको झडप सामान्य विषय थिएन । यसले दक्षिण एशियातर्फ चीनको बढ्दो चासोको सन्देशहरु प्रवाह भए ।

अफ्रिका, दक्षिणपूर्वी एशिया देखि दक्षिण अमेरिकासम्म चीनको चासो बढ्दै गएको देखिन्छ । यसबाट पश्चिमा राष्ट्रहरु झस्किएका छन् । चीनसँग बढ्दो आक्रामक उपस्थितिको सामना गर्न पश्चिमा देशहरु संगठित हुन थालेका छन् ।

अमेरिका, बेलायत र अष्ट्रेलियाले विशेष सुरक्षा सम्झौता गरेका छन् । प्रतिरक्षा क्षमता अभिवृद्धिका लागि गरिएको सम्झौता चीनलाई काउन्टर दिने उद्देश्य अन्तर्गत रहेको देखिन्छ । यो सम्झौताले अष्ट्रेलियालाई आणविक शक्तिसहितको पनडुब्बी पहिलोपटक दिलाउँदैछ । अब अष्ट्रेलिया समेत चीनलक्षित पश्चिमाहरुको प्रतिरक्षा प्रणालीमा सहभागी भएको छ । फ्रान्सेली डिजाइनको पनडुब्बी सम्झौता भएको छ । अष्ट्रेलियाले १२ वटा पनडुब्बी खरिदका लागि ५० अर्ब डलर खर्च गर्दैछ ।

चीनविरुद्ध अर्को समूह समेत सक्रिय छ । क्वाड नाम दिइएको यो समूहमा अमेरिका, अष्ट्रेलिया, भारत र जापान छन् । यी देशहरुको बैठक बस्दै आएको छ । क्वाडको सैन्य अभ्यास पनि बढ्न थालेको छ । सामुन्द्रिक युद्धको अभ्यास समेत भयो । चीनको बढ्दो शक्तिको सामना गर्न यो समूह सक्रिय भएको हो । गत वर्ष सैन्य अभ्यास गर्दा यो चीनविरुद्ध लक्षित रहेको विश्लेषण पनि भयो ।
लद्दाक क्षेत्रमा भारत र चीनको फौजबीच झडपपछि क्वाडको सक्रियता बढेको हो । यसपछि पश्चिमा देशहरुले भारतसँगको निकटतालाई अझ बढावा दिए ।

यसैगरी, भारतका रक्षा प्रमुख जनरल विपिन रावतले चीन र पाकिस्तानबीचको हातेमालोको विषय उठाए । उनले बुधबार एक सेमिनारमा बोल्दै चीनतफं संकेत गर्दै सिनिक सभ्यताले इस्लामिक सभ्यतासँग हातेमालो गरेर पश्चिमा सभ्यतालाई काउन्टर दिन थालेको विषय राखे । उनले चीनले इरानसँग मित्रता बनाउँदै टर्कीतर्फ बढेको र अफगानिस्तानमा पाइला राखेको विषय राखे ।

चीनको उदय अति छिटो भएको उल्लेख गर्दै भारतले तालिवान नियन्त्रित अफगानिस्तानमा पर्ख र हेरेको नीति लिएको उल्लेख गरे । उनले चीन झन् झन् आक्रामक रुपमा बढिरहेको भन्दै भारतले प्रतिरक्षा प्रणालीको विकास गर्दै लानेतर्फ कदम चालेको विषय उठाए ।

यसरी चीनको द्रुत आक्रामक ढंगको उदयप्रति अमेरिकासहितको संगठित शक्ति विकास हुँदै गएको छ । यसले विश्वसमा नयाँ शक्तिसन्तुलन देखिएको छ । अर्कोतर्फ, नयाँ प्रकारका द्वन्द्व र त्यसले उत्पन्न गर्ने परिणामहरु देखिनथालेको छ ।



प्रतिक्रिया दिनुहोस्

https://pch.edu.np/

हल बुकिंग फाराम