Logo

बेलायतमा एकै दिनमा तीस हजारभन्दा बढी कोरोना सङ्क्रमित



३१ भदौ : बेलायतमा पछिल्लो समय कोरोना सङ्क्रमण दर बृद्धि भएको बताइएको छ । बुधबार सार्वजनिक गरिएको तथ्यांकअनुसार त्यहाँ एकैदिनमा ३० हजार भन्दा बढी नयाँ सङ्क्रमित थपिएका छन् । त्यहाँको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले दिएको जानकारीअनुसार गएको २४ घन्टामा ३० हजार ५९७ जना नयाँ सङ्क्रमित थपिएका हुन् । सङ्क्रमित हुनेको संख्या अघिल्लो हप्ताको तुलनामा निकै बढेको बताइएको छ ।

यससँगै बेलायतमा कुल सङ्क्रमितको संख्या ७३ लाख १२ हजार ३७१ पुगेको छ । त्यहाँ केही दिनयता खुकुलो गरिएको लकडाउनपछि सङ्क्रमित संख्या दैनिक उकालो लाग्दै गएको हो । यसैगरी पछिल्लो २४ घन्टामा थप २०१ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । पछिल्ला केही दिनमा त्यहाँ दैनिक मृत्यु हुनेको संख्यामा पनि बृद्धि भएको पाइएको छ । बेलायतमा कोरोनाका कारण हालसम्म एक लाख ३४ हजार भन्दा बढीको मृत्यु भइसकेको छ ।-सिन्ह्वा/Photo: Agency



प्रतिक्रिया दिनुहोस्