Logo

भारतीय राजदुतावासले गर्यो हिन्दी कार्यक्रमको आरम्भ



काठमाडौं, ३१ भदौ । भारतीय राजदुतावासले भाद्र २९ देखि असोज १२ सम्म “आजादीका अमृत महोत्सव” को कार्यक्रमको रुपमा पाक्षिक हिन्दी कार्यक्रमको आरम्भ गरेको छ ।

‘भारत स्वतन्त्र भएको ७५ वर्षमा हिन्दी भाषाले गरेको प्रगति’ विषायक वेबिनारसँगै यस कार्यक्रमको आरम्भ भएको दुतावासले जनाएको छ ।

दुतावासले जारी गरेको प्रेस विज्ञप्तीमा पाक्षिक हिन्दी कार्यक्रमलाई भारत र विदेशमा हिन्दी दिवसको रुपमा मनाइने जनाइएको छ ।

वेबिनारमा भारत र नेपालका ३२ जना हिन्दी भाषा विज्ञको सहभागिता थियो । कार्यक्रममा भारतको आगरास्थित केन्द्रीय हिन्दी संस्थानका उपाध्यक्ष अनिल शर्मा प्रमुख अतिथिको रुपमा उपस्थित थिए । भारतका हिन्दी भाषा विज्ञ डा विजय कुमार मलहोत्रा वेबिनारमा सहभागी थिए । त्यस्तै, नेपालबाट त्रिभुवन विश्वविद्यालय हिन्दी विभागका प्रमुख डा संजीता बर्मा र दिग्गज हिन्दी साहित्यकार डा. राम दयाल राकेशको सो वेबिनारमा उपस्थिति थियो ।

वेबिनारका सहभागीहरुले हिन्दी भाषाको प्रयोगलाई नेपालमा र विश्वव्यापी रुपमा कसरी प्रवद्र्धन गर्न सकिन्छ भन्नेबारे आ–आफ्ना विचार प्रस्तुत गरेका थिए । संस्कृत, हिन्दी र नेपाली भाषा परिपूर्ण भएको उल्लेख गर्दै भाषा विज्ञहरुले यी भाषाहरुको सांस्कृतिक एवम् ऐतिहासिक पृष्ठभूमि एउटै भएकाले यी भाषाहरुबीच अनोन्याश्रित सम्बन्ध रहेको चर्चा गरे । सोही अवसरमा भारतका माननीय गृहमन्त्री अमित शाह र माननीय विदेशमन्त्री डा एस जयशंकरले दिएको सन्देश पनि प्रस्तुत गरिएको थियो ।

पाक्षिक हिन्दी उत्सव अन्तर्गत दूतावासले भाद्र २९ देखि असोज १२ सम्म श्रृंखलाबद्ध रुपमा विभिन्न कार्यक्रम र प्रतियोगिताको आयोजना गर्ने जनाएको छ । दूतावासमा कार्यरत भारतीय अधिकारीले “राजभाषा प्रतिज्ञा” लिई हिन्दीलाई आधिकारिक भाषाको रुपमा संरक्षण र प्रवद्र्घन गर्ने प्रतिबद्घता व्यक्त गरेका थिए ।

सन् १९४९ सेप्टेम्बर १४ मा भारतको संविधान सभाले हिन्दी भाषालाई भारतको आधिकारिक भाषाको रुपमा स्थापित गरेको ऐतिहासिक दिनको सम्झना गर्न प्रत्येक वर्ष भारतभर र विदेशमा हिन्दी दिवस मनाउने गरिन्छ ।



प्रतिक्रिया दिनुहोस्