Logo

ओलीलाई अष्टलक्ष्मीको चुनौती



काठमाडौं, ३१ भाद्र । नेकपा एमालेमा १० बुँदेको विषयले विवाद चर्किएको छ । अध्यक्ष केपी शर्मा ओली १० बुँदे हुबहु कार्यान्वयन गर्न तयार नभएपछि भीम रावल, अष्टलक्ष्मी शाक्यलगायत नेताहरु असन्तुष्ट भएका छन् ।

आज बागमती प्रदेश अन्तर्गत काठमाडौं जिल्लास्तरीय एमालेको प्रशिक्षणमा विवाद छताछुल्ल भयो । बागमती प्रदेशकी मुख्यमन्त्री समेत रहेकी एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य कार्यक्रममा सहभागी भइन् । तर, भाषण सकेर निस्किइन् ।

संचालकले शाक्य हेटौंडा जानुपर्ने भएकाले हिंडेको बताए । तर, उनले भाषणकै क्रममा असन्तुष्टि पोखिन् । १० बुँदे सहमति कार्यान्वयन हुनुपर्ने बताइन् । उनले १० बुँदे सहमति कार्यान्वयनबारे भनिन्, जालझेल आवश्यक छैन । २०७५ जेठ २ मा जो आउँछ, उसैलाई मानेर अगाडि बढौं ।

शाक्य १० बुँदे सहमति हुबहु कार्यान्वयन भए बागमती प्रदेशको इञ्चार्ज हुनेछिन् । तर, बागमतीमा रामबहादुर थापा बादललाई नै इञ्चार्जका रुपमा मञ्चमा राखियो । भाषणका क्रममा बादलभन्दा अगाडि नै शाक्यलाई बोल्न लगाइयो ।

शाक्यले अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिदै सहमति कार्यान्वयन गर्न भनिन् । ‘ठूलो छाति बनाउनुपर्छ । बुँदे सहमति कार्यान्वयन गरेर बढ्नुपर्छ ।’

उपाध्यक्ष भीम रावललाई सुदूरपश्चिमको इञ्चार्जको जिम्मेवारी निरन्तर नबनाएकोमा ओलीइतर समूहहरु असन्तुष्ट भइरहँदा शाक्यको पछिल्लो भनाई आएको हो । रावल १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै असन्तुष्ट छन् । उनले आफू इञ्चार्ज नै रहेको भन्दै ओलीलाई चुनौती दिइसकेका छन् । शाक्यले पनि असन्तुष्टि पोखिन् । उनले ओलीतर्फ व्यङ्ग्य गर्दै सामन्ती सोच अन्त गर्नुपर्ने बताइन् । उनले भनिन्, ‘सामन्ती सोच अन्त गर्नुपर्छ ।’

विगतको कमी कमजोरीको निर्मम समिक्षा गर्नुपर्ने बताइन् । सच्चिएर हिंड्नुपर्ने भन्दै ओलीतर्फ संकेत गरिन् ।

शाक्यले गालीगलौजको संस्कार छाड्नुपने बताइन् । उनको संकेत ओलीतर्फ थियो ।



प्रतिक्रिया दिनुहोस्