Logo

देशभरका ४३ स्थानमा खाद्य कम्पनीको सुपथ मूल्य पसल सञ्चालन



काठमाडौं, असोज १ । सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आजदेखि ४३ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । सुपथ मूल्य पसल ३९ जिल्लामा ४३ स्थानमा सञ्चालन हुँनेछ ।

सरकारले चाडपर्वको अवसरमा हरेक वर्ष दशैँ, तिहार र छठ पर्वका बेला सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ ।
कम्पनीले यस वर्ष चामल, दाल, चिउरा, पिठो र तेलमा रु पाँच तथा भटमासको तेल, मासु र कर्णाली सिमीमा १० छुट दिनेछ । कम्पनीले काठमाडौँ उपत्यकामा खाद्यको थापाथली, रामशाहपथ, नक्खु, लगनखेल र सूर्यविनायक बिक्री केन्द्रबाट सुपथ मूल्यमा खाद्य सामग्री बिक्री वितरण हुने जनाएको छ ।

यस्तै, उपत्यकाबाहिर बनेपा, विराटनगर, बिर्तामोड, हेटौँडा, नारायणगढ, भैरहवा, बुटवल, नेपालगञ्ज, पोखरा, दाङ, सुर्खेत, धनगढी, महेन्द्रनगर, डडेलधुरालगायत स्थानबाट खाद्य वस्तु बिक्री वितरण हुने बताइएको छ । यस वर्ष खाद्य कम्पनीले च्याङ्ग्रा ल्याउने सम्भावना कम रहेको जनाएको छ । कोभिडका कारण कम्पनीले गत वर्षसमेत च्याङ्गाको बिक्री वितरण रोकेको थियो ।

खाद्य कम्पनीसँगै साल्ट ट्रेडिङ कर्पोरेसन र दुग्ध विकास संस्थान (डीडीस ले आफ्ना बिक्री केन्द्रमा सुपथ मूल्य पसल सञ्चालन गर्ने जनाएका छन् । साल्ट ट्रेडिङले नुन र चिनीलगायतका खाद्यवस्तु र दुग्ध विकास संस्थानले घिउ र पनिरमा छुट दिएको छ ।

खाद्य व्यापार कम्पनीले फापर, सिमी भटमासको तेल, चामल र खसीबोकामा प्रतिकिलो १० रुपैयाँ छुट दिएको छ । यसैगरी, पिठो, चिउरा, तोरीको तेल, सनप्mलावरको तेल, दालमा प्रतिकिलो ५ रुपैयाँ छुट दिएको छ ।

दुग्ध विकास संस्थानले घिउमा प्रतिकिलो ५० रुपैयाँ र पनिरमा प्रतिकिलो २० रुपैयाँ छुट दिएको छ । साल्ट ट्रेडिङले चिनीमा ५ रुपैयाँ र नुनमा २ रुपैयाँ छुट दिएको छ । खाद्य व्यापार कम्पनीले देशका विभिन्न ३९ जिल्लाको ४३ वटा स्थानबाट सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो ।

यस्तै, साल्ट ट्रेडिङ कर्पोरेसनले ३२ स्थानबाट सुपथ मूल्य पसल सञ्चालन गरेको छ । साल्ट ट्रेडिङको सुपथ मूल्य पसलबाट नुन प्रतिकिलो १८ रुपैयाँमा र चिनी प्रतिकिलो ७९ रुपैयाँमा पाइनेछ । साल्ट ट्रेडिङका अनुसार चिनी प्रतिव्यक्ति २ किलो र नुन ६ किलोसम्म किन्न पाइनेछ ।



प्रतिक्रिया दिनुहोस्