Logo

उपत्यकाका विद्यालय अन्योलमा



काठमाडौं, असोज १ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरोकारवालासँग हतारमा विद्यालय खोल्न नहुने सहमति गरेपछि काठमाडौं उपत्यकाका विद्यालय खोल्ने वा नखोल्ने अन्योलमा परेको छ ।

ललितपुर महानगरपालिकाले आइतबारबाट विद्यालय खोल्ने तयारी गरेको छ । तर, त्यहाँका अधिकांश ठूला विद्यालयका सञ्चालकहरू भने विद्यालय खोल्ने पक्षमा छैनन् ।

अभिभावक महासंघले दशैंअघि विद्यालय नखोल्न दबाब दिएपछि निजी विद्यालयका छाता संगठन प्याब्सन र एनप्याब्सनले असोज १ गतेबाट विद्यालय खोल्ने विषयमा ठोस निर्णय गर्न सकेका छैन । पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दै गएपछि विद्यालय खोल्ने विषय अन्योलमा परेको हो ।

धेरै दिन विद्यालय बन्द गर्दा धेरै विद्यालय बन्द हुने अवस्थामा पुग्ने धारणा राख्दै प्याब्सनका अध्यक्ष टीकाराम पुरीले भने– ‘लामो समयसम्म विद्यालय बन्द गर्दा विद्यार्थीलाई पनि समस्या पर्ने देखिएको छ ।’ उनले स्थानीय तहको समन्वयमा अधिकांश जिल्लाका विद्यालय खुल्ने थालेको बताउँदै अब उपत्यकाका विद्यालय खोल्न ढिला गर्न नहुनेमा जोड दिए ।

ललितपुर महानगर शिक्षा समितिले विद्यालय खोल्ने अधिकार विद्यालय प्रशासनलाई सुम्पिएपछि अधिकांश विद्यालयले अभिभावकको रायअनुसार आइतबारबाट विद्यालय खोल्दै छन् ।

काठमाडौं महानगरपालिका शिक्षा विभागको हिजो बिहीबार सम्पन्न बैठकले आज शुक्रबार महानगरपालिकाको विद्यालय सञ्चालन गर्ने विषयमा मापदण्ड तयार गर्ने निर्णय गर्न सात सदस्यीय समिति गठन गरेको आजकोे नेपाल समाचारपत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्