Logo

एमाले ५७ दिने संसद् अवरोधको रेकर्ड तोड्न खोज्दै छः माओवादी नेता



काठमाडौं, असोज १ । नेकपा (माओवादी केन्द्र) का नेता चक्रपाणि खनालले नेकपा एमाले ५७ दिनको संसद् अवरोधको रेकर्ड तोड्न लागिरहेको आरोप लगाएका छन् । देशलाई संकट र अराजकतामा धकेलेर केपी ओलीले सत्ता गुमेको छटपटी देखाइरहेको उनको दाबी छ ।
आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता खनालले भने, “एमालेले विगतमा ५७ दिनसम्म संसद् अवरोध गरेको थियो, अहिले त्यसको रेकर्ड तोड्न खोजिरहेको छ । उसको अवरोधका कारण देश आर्थिक संकटमा गयो । बजेट होलिडेका कारण चाडबाडको मुखमा कर्मचारीले तलब खान नपाउने स्थिति बनेको छ । बजेटका विषयमा सबै दल सहमति आउनुपर्ने अवस्था छ ।”
आफ्नो दलले सरकारलाई अप्ठ्यारो नपारेको दाबी उनले गरे । उनले थपे, “यो संघर्षबाट आएको सरकार हो । सरकार नै हाम्रो हो, किन अप्ठ्यारोमा पार्ने ? किन असहयोग गर्ने ? गठबन्धन दलहरुको आन्तरिक समस्याले ढिला भएको हो । अब छिटोभन्दा छिटो गर्नुपर्छ ।”
नेता खनालले सक्षम सरकार, सक्षम नेतृत्वको अभावका कारण भ्रष्टाचार बढिरहेको बताए । उनले भने, “तर एउटा दल वा नेताका कारण भ्रष्टाचार बढेको होइन, संविधान, कानुन र नीतिले भएको पनि होइन,  हाम्रो संरचना नै त्यस्तै किसिमको छ ।” केही धारा संशोधनसहित नहुने हो भने एमसीसी फिर्ता जाने उनले बताए ।

साथै उनले पार्टी अध्यक्ष प्रचण्डले अस्थिरता ननिम्त्याएको पनि उनले दाबी गरे । उनले भने, “अहिले संकटको समाधान भनेकै प्रचण्ड जस्तो भएको छ । माओवादी केन्द्रको राष्ट्रिय सम्मलेनले प्रचण्डको विकल्प खोज्दैन । प्रचण्डको विकल्प सोचेका छैनौं । विकल्प खोज्ने बेला पनि भएको छैन ।”



प्रतिक्रिया दिनुहोस्