Logo

चीनको अमेरिकासहित पश्चिमा देशसँग टकराव बढ्यो



एजेन्सी, १ असोज । चीनको अमेरिकासहित पश्चिमा देशहरुसँग सिधा टकराव देखिएको छ । यसले विश्वको शक्तिसन्तुलनमा फेरबदल आउने संकेतहरु पनि देखिएको छ ।

अमेरिका, बेलायत र अष्ट्रेलियाबीच त्रीपक्षीय प्रतिरक्षा साझेदारी घोषणामा आणविक हतियारसहितको पनडुब्बीको विषय प्राथमिक छ । अष्ट्रेलियाले आणविक हतियारयुक्त पनडुब्बी विकास गर्ने समझदारीसहितको त्रीपक्षीय साझेदारीप्रति चीन भने झस्किएको छ । यसलाई चीनविरुद्धको साझेदारी भनिएको छ ।

अमेरिकाको इन्डो प्यासिफिक प्रतिरक्षासम्बन्धी आक्रामक रणनीति अन्तर्गत पछिल्लो समझदारी घोषणा भएको हो । यसलाई अमेरिकाले विश्वमा नयाँ ध्रुवीकरण गर्न खोजेको चिनियाँ धारणा ग्लोबल टाइम्समार्फत् आएको छ । अमेरिकाले चीनविरुद्ध आफ्ना मित्रहरुलाई प्रयोग गर्न खोजेको चिनियाँ आरोप रहेको छ । उसले अफगानिस्तानमा लज्जाजनक धक्का खाएपछि अमेरिकाले नयाँ रणनीति चालेको टिप्पणी गरेको छ ।

यसैगरी, अमेरिका, बेलायत र अष्ट्रेलियाको त्रीपक्षीय प्रतिरक्षा साझेदारीप्रति फ्रान्सले आफूलाई बाहिर राखेकोमा असन्तुष्टि जनाइसकेको छ । अष्ट्रेलियासँग फ्रान्सले पनडुब्बीसम्बन्धी सम्झोता गरेको थियो । तर, अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले उक्त सम्झौता स्थगित गरेको जनाइसकेका छन् । फ्रान्सले अमेरिकाको कारण सम्झौता स्थगित गराइएको भन्दै असन्तुष्टि जनाएको हो ।

फ्रान्सका विदेशमन्त्री जिन भेस लि ड्रिनले युरोपेली युनीयनका देशहरुलाई बाहिर राखेर गरेको समझदारीले युरोपको आफ्नै रणनीति हुनुपर्छ भन्ने आवश्यकतालाई अझ जोड दिनुपर्ने भएको बताएका छन् । उनले अमेरिकाको कदमलाई मित्रहरुबीच नहुने कार्यशैली भनेका छन् । तीन देशको नयाँ समझदारीले पश्चिमाहरुबीच नयाँ विवाद समेत जन्माएको छ ।

अमेरिका, बेलायत र अष्ट्रेलियाले गरेको विशेष सुरक्षा सम्झौता चीनविरुद्ध लक्षित देखिन्छ । अमेरिकाको इन्डो प्यासिफिक सैन्य रणनीति अन्तर्गत यी सबै भइरहेका छन् । प्रतिरक्षा क्षमता अभिवृद्धिका लागि गरिएको सम्झौता चीनलाई काउन्टर दिने उद्देश्य अन्तर्गत रहेको भनेपनि अमेरिकाले खण्डन गरेको छ ।

फ्रान्सेली डिजाइनको पनडुब्बी सम्झौता भएको छ । अष्ट्रेलियाले १२ वटा पनडुब्बी खरिदका लागि ५० अर्ब डलर खर्च गर्ने भएकोमा त्यो स्थगित भएको छ । यो हतियारको व्यापारको दृष्टिले फ्रान्सलाई ठूलो धक्का हो ।

यसैगरी, चीनविरुद्ध लक्षित क्वाड नाम दिइएको अर्को समूह पनि सक्रिय छ । अमेरिका, अष्ट्रेलिया, भारत र जापान छन् । यी देशहरुको बैठक बस्दै आएको छ । क्वाडको सैन्य अभ्यास पनि बढ्न थालेको छ । सामुन्द्रिक युद्धको अभ्यास समेत भयो ।

 



प्रतिक्रिया दिनुहोस्