Logo

माधव नेपाल एमालेमा फर्कलान् ?



काठमाडौं, १ असोज । अष्टलक्ष्मी शाक्यले माधव नेपाललाई ३१ भदौमा एमाले काठमाडौं जिल्ला प्रशिक्षणमा नेता नै भनिन् । धेरै दुःख गरेको पार्टी छाडेर बाटो बिराएको भन्दै फर्कन आग्रह गरिन् ।
योगेश भट्टराईले माधव नेपाल एमालेमै फर्कने बताए । उनले निर्धक्कसँग नेपाल एमालेमा फर्कने बताउनु अर्थपूर्ण छ ।

माधव नेपालले भने नेकपा एमाले फुटाएर नेकपा एस गठन गरिसकेका छन् । १ असोजमा पार्टी केन्द्रीय कार्यालय उदघाटन गरिसकेका छन् । जिल्ला हुँदै स्थानीय तहमा कमिटीहरु गठन गरिरहेका छन् । एमाले तलैसम्म विभाजित भइसकेको छ ।

के माधव नेपाल फेरि एमालेमा फर्कलान् ? चासोको विषय छ । माधव नेपालले एमालेको विरोध गरेर पार्टी फुटाएका होइनन् । उनको संघर्ष केपी शर्मा ओलीसँग भएको हो । शक्तिसंघर्षका क्रममा नेपालले विभिन्न शर्तहरु राखे । शक्तिको बाँडफाँडको शर्त राखे । तर, ओली तयार भएनन् ।

माधव नेपाललाई पार्टी फुटाउँदा हस्तीहरुले भने साथ दिएनन् । आफ्नो समूहमा लागेर नवौं महाधिवेशनमा चुनाव जितेका उपाध्यक्षहरु भीम रावल, अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भुसाल, सचिवहरु गोकर्ण बिष्ट, योगेश भट्टराई र भीम आचार्य समेतले साथ छाडे । आफ्ना विश्वासपात्र मानिएका रघुजी पन्तले समेत साथ छाडे ।

हस्तीहरुले साथ छाडेकाले माधव नेपाल असन्तुष्ट भए । तर, उनी पछि हटेनन् । यद्यपि, हस्तीहरुको साथ नहुँदा नेकपा एस लामो समय टिक्ने वा नटिक्नेमा आशंका छ ।

माधव नेपाल पक्षधरले ओली नरम भएमा या ओलीको ठाउँ अन्य कुनै नेताले लिएमा एकता हुनसक्ने ठानेका छन् । विगतमा नेकपा एमालेबाट फुटेको नेकपा माले फेरि पुरानै पार्टीमा विलय भएको थियो । बामदेव गौतम एमालेमै फर्किए । उनीभन्दा अघि कतिपय नेता एमालेमा फर्किइसकेका थिए ।

माधव नेपाल एमालेमा फर्कनसक्ने सम्भावना छ । तर, त्यो ओलीको नेतृत्वकालमा निकै कठिन छ । ओलीले ३१ भदौको कार्यक्रममा माधव नेपाललाई कुनै हालतमा फर्कन नदिने गरी बोले । उनले भने, ‘माधव नेपाललाई फेरि पार्टी फुटाउन फर्काउने ?’

ओली र नेपालबीच इगो पनि बढेको छ । यसकारण दुवै एउटै पार्टीमा हुने सम्भावना कमजोर छ । तर, राजनीति सम्भावनाहरुको खेल हो ।



प्रतिक्रिया दिनुहोस्