Logo

प्रहरी महानिरीक्षक क्षेत्रीको आतिथ्यमा आसरा सुधार केन्द्रको वार्षिकोत्सव सम्पन्न



काठमाडौं, १ असोज । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको प्रमुख आतिथ्यमा आसरा सुधार केन्द्र रानीबारीको २५औं वार्षिकोत्सव तथा रजतजयन्ती कार्यक्रम केन्द्रको कार्यालय रानीबारीमा शुक्रबार आयोजित एक समारोहबीच सम्पन्न भएको छ । सो अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्री एवम् केन्द्रकी अध्यक्ष सिर्जना थापाले केन्द्रलाई महत्वपूर्ण योगदान पुर्‍याउनुहुने केन्द्रकी पूर्व अध्यक्ष सीमा अर्याल, पूर्व प्रहरी नायव महानिरीक्षक विमला थापा र केन्द्रकी पूर्व सचिव रम्भा लामालाई सम्मानपत्र प्रदान गरिन्।

प्रहरी महानिरीक्षक थापा क्षेत्रीले कार्यकारिणी समितिका पदाधिकारीलाई सम्मानपत्र, केन्द्रको वार्षिक गतिविधिमा सहयोग गर्ने नेपाल प्रहरी अस्पताल, प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग केनाईन महाशाखा महाराजगंज, महानगरीय सशस्त्र प्रहरी गण महाराजगंज र चिकित्सक तथा चिकित्सा मनोविद समेतलाई प्रशंसापत्र एवम् केन्द्रको सुरक्षा एवं व्यवस्थापन कार्यमा योगदान पुर्‍याउने प्रहरी कर्मचारीहरु तथा उत्कृष्ट परामर्शदातालाई कदरपत्र तथा नगद पुरस्कार प्रदान गरे । सो अवसरमा उनले उक्त केन्द्रको वार्षिक प्रकाशन ‘आसरा दर्पण’ को विमोचन समेत गरे।

उक्त अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले लागूऔषध सेवनकर्ताको उपचार र पुनर्स्थापनाको जिम्मेवारी नेपाल प्रहरीको कार्यक्षेत्र भन्दा फरक रहेको चर्चा गर्दै नेपाल प्रहरी श्रीमती संघद्वारा संचालित यस केन्द्रले स्थापनाकाल देखिनै निर्वाह गरेको भूमिका सामाजिक सुधार र सामाजिक सेवाको दृष्टिबाट महत्वपूर्ण पहिचान बनाएको बताए । साथै लागूऔषध दुर्व्यसनीमा फसेका मानिसहरूलाई नयाँ जीवन दिन केन्द्र सफल रहेको उाले उल्लेख गरे ।

लागूऔषध समस्या विश्वकै साझा समस्याको रूपमा देखा परेकोले यसको दुर्व्यसन, उत्पादन, खरीद बिक्री, सञ्चय, ओसारपसार र उपभोगको वृद्धि एक साझा चुनौतीको विषय भएको बताउँदै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले कुलतमा फसेका युवा शक्तिलाई राष्ट्र निर्माणको बाटोमा ल्याउनु सबैको सामाजिक दायित्व रहेको बताए ।

कार्यक्रममा केन्द्रकी अध्यक्ष थापाले लागूऔषध दुर्व्यसनीको विकराल समस्यालाई मध्यनजर गर्दै यस केन्द्रले प्रयोगकर्ताहरूलाई उपचार, परामर्श सेवा एवं पुनर्स्थापना कार्यमा दत्तचित्त भई लागि परेको उल्लेख गरिन्।  कुलतमा फसेका युवावर्गलाई कुलतबाट मुक्ति दिलाउन केन्द्र क्रियाशील रहेको बताउँदै अध्यक्ष थापाले लागूऔषध विरुद्ध जनचेतनामूलक कार्यक्रम, योगा अभ्यास जस्ता कार्यहरूलाई व्यापक रुपमा संचालन गर्नुपर्नेमा जोड दिए ।



प्रतिक्रिया दिनुहोस्