Logo

एक साताभित्र सरकारले पूर्णता पाउँछ : अध्यक्ष नेपाल



काठमाडौँ, १ असोज: नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एक साताभित्र सरकारले पूर्णता पाउने बताएका छन् ।

पार्टीको मीनभवनस्थित केन्द्रीय कार्यालयको आज उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री नेपालले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई सोधेका प्रश्नका जवाफका बारेमा छलफल भइरहेको बताए । नेपालले पञ्चशीलको सिद्धान्त अवलम्बन गर्दै आएकाले असंलग्न परराष्ट्र नीतिअनुसार नै अघि बढ्ने उनको भनाइ थियो । “जग्गाको स्वामित्वमा नेपालको सार्वभौम अधिकार रहने र यसबाट उत्पन्न हुने बौद्धिक सम्पत्तीमा नेपालको अधिकारको सुनिश्चितता चाहन्छौँ”, अध्यक्ष नेपालले भने । उनले परियोजनामा नेपाली कर्मचारी र श्रमिक रहनुपर्नेमा जोड दिँदै कुनै सैन्य सङ्गठन तथा सुरक्षा छाताभित्र नरहने र नेपालले स्वतन्त्र निर्णय गर्न पाउनुपर्ने विचार व्यक्त गरे ।

एकीकृत समाजवादीले दैनिक प्रशासनिक कार्य सञ्चालनका लागि काठमाडौँ महानगरपालिका–३१ स्थित उक्त कार्यालय आजदेखि प्रयोगमा ल्याएको हो । सचिवालय सदस्य जीवनराम श्रेष्ठले कार्यालय स्थापना भएपछि पार्टीको राजनीतिक गतिविधि र बैठक सञ्चालनका लागि महत्वपूर्ण दस्तावेजलगायत कागजात व्यवस्थित रुपमा अभिलेख गरिने बताए ।-रासस/Photo By: Mukunda Kalikote



प्रतिक्रिया दिनुहोस्