Logo

‘अब देशलाई निर्वाचनमा लिएर जानुको अर्को विकल्प छैन्’ : प्रदीप पौडेल (भिडिओसहित)



प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका प्रभावशाली युवा नेता प्रदीप पौडेलले सरकारको बारेमा अहिले नै मूल्यांकन गर्ने बेला नभएको बताएका छन् । तर, उनले मुलुकलाई अहिलेको राजनीतिक अन्यौलताबाट निकास दिनको लागि चाँडो भन्दा चाँडो निर्वाचनमा लैजानुपर्ने बताएका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘सभामुखले पनि समझदारी निर्माण गरेर यो डेडलाईनलाई फुकाउन जरुरी छ । र, यो संबैधानिक व्यवस्थाभित्र छिटोभन्दा छिटो देशलाई निर्वाचनमा लानुको अर्को कुनै बिकल्प छैन् ।’ प्रस्तुत छ नेता पौडेलसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :

काँग्रेसको कारणले शेरबहादुर देउवाले काम गर्न सक्नुभएन, उहाँ असक्षम प्रधानमन्त्रीको रुपमा अघि बढ्दै हुनुहुन्छ, अनि तपाईंहरु के हेरेर बस्नुभएको छ ?

अहिले नै सरकारको सबै पक्षबाट मुल्याङकन गर्ने बेला भएको छैन् । तर मन्त्रीपरिषद विस्तारलगायतका विषयमा सरकारले तत्काल आफ्नो प्रभावकारीता बढाउन जरुरी छ । कामहरु तत्काल सम्पन्न गर्न जरुरी रहेको छ । साथै, नेपाली काँग्रेस नेतृत्वमा बनेको संयुक्त सरकार सफल हुँदा अथवा सरकारको टिकाटिप्पणी हुँदा काँग्रेसलाई आगामी निर्वाचनमा प्रत्यक्ष रुपमा असर गर्छ । त्यसकारणले गर्दा हाम्रो नेतृत्व गम्भिर भएर तत्काल गर्नुपर्ने कामलाई छिटो सम्पादन गर्न जरुरी छ ।

सरकार बनेको ६६ दिन भयो, तर अहिलेसम्म मन्त्रिपरिषद् विस्तार भएको छैन, तपाईंहरुको भागबन्डा मिलेको छैन अनि सरकारले कसरी काम गर्छ ?

हाम्रै काँग्रेसको कारणले भन्दापनि सरकारको गठबन्धनभित्र रहेका अन्य राजनीतिक दलहरु बीचमा समझदारी हुन नसकेको अथवा यस्ता पार्टीहरु बीचमा आपसमै मन्त्री हुने व्यक्तिको चयन गर्न नसक्दा यस्तो भएको हो । तर, यस्ता कुरा आन्तरिक कुरा भए । यस्तो कुरा गरेर भाग्न पनि मिल्दैन । अथवा यसबाट छुटकारा पनि मिल्दैन । त्यसकारण मन्त्रिपरिषद् बिस्तार नहुने कुराले सरकारको पर्फर्मेन्स देखिँदैन, सरकारले आफ्नो कार्यक्रमहरु प्रभावकारी रुपमा गर्न सक्दैन । बिबिध विषयमा देखिएका समस्याहरु समाधान गर्नको लागि तत्काल मन्त्रिपरिषद विस्तार गर्नुपर्छ । मन्त्रिमण्डलले पूर्णता पायो भने विभिन्न विभागको जिम्मेवारी लिने व्यक्तिहरुले आफ्नो कामलाई अगाडी बढाएपछि सरकारको काममा प्रभावकारी देखिन्छ ।

तर, सरकारको काम प्रभावकारी देखीएन, काँग्रेसले के हेरेर बसेको छ ?

काँग्रेसभित्रैबाट पनि प्रधानमन्त्रीज्युलाई हाम्रो आदरणीय सभापतिज्यूलाई सरकारको प्रभावकारिता बढाउनका लागि छिटो मन्त्रिमण्डल विस्तार गर्नको लागी अघिल्लो सरकारले लथालिङगको स्थिति जुन निर्माण गरेको छ । त्यसपछि बनेको सरकारकाप्रति जनताको आशा, भरोसा र विश्वास रहेको छ । त्यो स्थितिलाई बर्करार राख्नका लागी अथावा जनतालाई राहत पुग्नेगरि सरकारले आफ्नो काम देखाउन जरुरी रहेको छ । त्यो कुरा पार्टीभित्रै पनि हामीले भनिरहेका छौं । अहिले मुख्यगरि मन्त्रिमण्डल विस्तारमा ढिलाई भएको हो, यसलाई छिटो गर्नका निम्ति हामीले हाम्रो नेतृत्वलाई भनेका छौं ।

संसद् चल्न सकेन, बजेट पारित हुन सकेन, देश संङ्कटमा गइसक्यो, तपाईंहरुको ध्यान त्यता जाँदैन ?

त्यो चाँही संसद् चलाउने, बजेटको विषयमा समझदारी निर्माण गर्ने अथवा विपक्षीले पनि बाधा तथा व्यबधानमात्र गर्न पनि स्वभाविक होईन । यसमा समझदारी निर्माण गरेर अगाडि बढ्नु नै उपयुक्त हुन्छ । अब मुख्यगरि यो धेरै राजनितीक दलहरु मिलेर सरकार बनाएको स्थितिमा चाहीँ समझदारीपूर्ण ढंगले अघि बढ्नुपर्छ । संसद् चल्न नदिएर कसैलाई पनि लाभ हुँदैन । संसद् चल्न सकेन, संसद् व्यवस्थित् ढंगबाट चल्न सकेन भने निराशा बढेर जाने स्थिति हुन्छ । त्यसैले विपक्षी पनि आफ्नो ठाउँबाट जिम्मेवार हुनुपर्छ । हुँदै नभएको कुरामाथि हठ गरेर, ईगो राखेर संसद चल्न नदिएर आफ्नो इगो साँधेर त्यसअनुसार काम गरे कसैलाई पनि लाभ हुन सक्दैन् । सभामुखले पनि समझदारी निर्माण गरेर यो डेडलाईनलाई फुकाउन जरुरी छ । र, यो संबैधानिक व्यवस्थाभित्र छिटोभन्दा छिटो देशलाई निर्वाचनमा लानुको अर्को कुनै बिकल्प छैन् ।

त्यसोभए निर्वाचन कहिले गर्ने ?

मैले भनें नी संवैधानिक व्यवस्थाभित्रै निर्वाचनमा समझदारी कायम गरेर अब निर्वाचनले मात्रै निकास दिनसक्छ भन्ने आधारमा अब देशलाई निर्वाचनमा लिएर जानुको अर्को विकल्प छैन् । अब कसैको पनि एकल गणित हुन सकेन । मिलिजुली अगाडि बढ्नुपर्ने ठाउँमा समझदारीनै हुन सकेन भने अगाडि बढ्नुपर्छ ।

तपाईंको विचारमा निर्वाचन नै अबको राजनीतिक निकास हो त ?

हो । अब यो संसद् प्रभावकारी हुन नसक्नु, अनि सरकार प्रभावकारी हुन नसक्नु, मिलीजुली सरकार बनाएर प्रभावकारी रुपमा काम गर्न नसक्नु, अब फेरी निर्वाचनको मिति पनि धेरै टाढा छैन, संसदीय अबधी पनि डेढ वर्षको हाराहारी मात्र बाँकी रहेको छ । त्यसैले छिटो निर्वाचनमा जाने बाटोबाहेक अब अरु विकल्प देखिँदैन ।

आगामी वैशाखमा निर्वाचन हुन्छ त ?

वैशाखमै निर्वाचन हुनसक्छ ।

निर्वाचनमा जाने भनेर तपाईंले भनिरहँदा काँग्रेसभित्र महाधिवेशनको लफडा छ, यो कहिले समाधान हुन्छ ?

यो त हामीले कार्यतालिका प्रकाशित गरिसकेका छौं । अन्तिमपटक हामीले प्रकाशित गरेको कार्यतालिका कार्यान्वयन भैरहेको छ । त्यसैले महाधिवेशन हुन्छ । त्यसका निम्ति तयारीहरु भइरहेका छन् । हाम्रो क्रियाशिल सदस्यताको पनि ७७ वटै जिल्लामा टुङ्गो लाग्दैछ । अब १३ वटा जिल्लामात्र बाँकी हो । त्यो पनि आज÷भोलिमा सम्पन्न हुन्छ ।

कुन–कुन जिल्लामा अझै समस्या छ ?

डोल्पा, रसुवा, धनुषा र बाँकेमा भने केही समस्या रहेका छन् । यी जिल्लामा पनि केही दिनमै समाधान हुन्छ ।

तपाईंहरु अहिले होटेलमा बस्नुहुन्छ, छलफल गर्नुहुन्छ, के विषयमा छलफल भइरहेको छ ?

होइन, हामी होटेलमा बसिरहेका छैनौ । हामीले छलफल भने गरिरहेका छौं । समझदारी हुन सकिरहेको छैन । कुनै कुनै वडामा मात्र यस्तो रहेको छ । त्यसैले त्यहाँका साथीहरुसँग बसेर आपसी समझदारीहरु जुटाउने काम भइरहेको छ । सूची तयार गर्नको लागी काम भइरहेको छ ।

असोज ५ गते सबै वडामा वडा अधिवेशन हुन्छ ?

हो, बाँकी जिल्लामा असोज ५ गते वडा अधिवेशन सुरु हुन्छ । त्यसपछाडि प्रक्रियागत ढंगबाट अधिवेशन अघि बढ्छ । कार्यतालिकाको कार्यान्वयन हुन्छ ।

कार्यतालिकाको कसरी कार्यान्वयन हुन्छ ? तपाईंको पार्टी सभापतिले महाधीवेशन चाहानुहुन्छ ?

महाधिवेशन कसैले पनि नचाहेको अवस्था छैन । नचाहेको भए यो अवस्था सम्म पुग्ने नै थिएन नी । ५७ जिल्लामा वडा अधिवेशन भइसकेको छ । अब केही जिल्लामा मात्र बाँकी रहेका छ । ती जिल्लामा सहमति हुनै सकेन भने त्यस्ता जिल्लाहरुमा स्थगित नै गरेर अघि बढ्न पनि सकिन्छ । त्यसैले अब पनि महाधिवेशन नचाहने स्थीती हुन्छ भन्ने मलाई लाग्दैन ।

तपाईंले महामन्त्रीमा उमेद्धारी दिने घोषणा गर्नु भएको छ । त्यो आवस्यकता हो की तपाईंले पनि प्रोपागाण्डा गर्न खोज्नु भएको हो ?

मैले पहिलो कुरा क्रियाशिल सदस्यताको सम्पूर्ण काम सम्पन्न भएपछि, वडा अधिवेशन भएपछि उमेद्धारी घोषणा गर्ने भनेर भनेको छु । महामन्त्रीमा उमेद्धारी दिने मेरो सोच हो । तर अहिले औपचारीक रुपमा भने घोषणा गरेको छैन्।

युवा पुस्ताका नेताले धमाधम उम्मेद्धारी घोषणा गर्न थाल्नुभएको छ, गगन थापाले रामचन्द्र पौडेल र विश्वप्रकाश शर्माले बिमलेन्द्र निधिको समूहमा गएर उम्मेद्धारी घोषणा गर्नुभएको छ । अब तपाईं चाहीँ कुन समुहबाट आउनुहुन्छ ? महामन्त्रीमा उम्मेद्धवारी दिने घोषणा त गर्नुभयो नि ?

योबारेमा छलफल गर्न बाँकी छ । सबे आदरणीय नेताहरुसँग कुरा राख्ने, साथीहरुसँग पनि छलफल गर्ने अनिमात्र मैले उम्मेद्धारी घोषणा गर्नेछु । सबैलाई थाहा छ, म सबैसँग छु ।

गगन थापाले गुट परिवर्तन गर्नुभयो अनि तपाईंले गर्नुभएको छैन ?

होइन, उहाँले त्यसो गर्नुभएको छैन । तर, यो निर्वाचन प्रतिष्पर्धा गर्ने सन्दर्भमा नयाँ शिराबाट आउने परिस्थिति आउनपनि सक्छ । त्यसैले के गर्ने भन्ने कुरा आगामी दिनमा हुने छलफलमा निर्भर गर्छ ।



प्रतिक्रिया दिनुहोस्