Logo

आईसीसी विश्वकप लिग टूमा अमेरिकासँग नेपाल पराजित



असोज १, काठमाण्डौ । आईसीसी विश्वकप लिग टू अन्तर्गतको सिरिजमा शुक्रबार नेपाल अमेरिकासँग पराजित भएको छ । भखैरै सम्पन्न खेलमा नेपाल अमेरिका सँग ६ विकेटले पराजित भएको हो । नेपालले दिएको १ सय ७५ रनको लक्ष्य अमेरिकाले ३० औँ ओभरमा ४ विकेट गुमाएर भेटायो । अमेरिकाको जितमा स्टेभन टेलरले ९२ रनको योगदान गरे ।

यस्तै मोनान्क पटेलले अविजित ३८ रन जोड्दा जस्करण मल्होत्राले अविजित ३६ रन बनाए ।

सुसान्त मोदानी २ रनमा आउट हुँदा करिमा गोरे र संजय कृष्णामुर्थीले खाता नखोली पेभेलियन फर्काए ।

नेपालका लागि सन्दिप लामिछाने र करण केसीले समान दुई दुई विकेट लिए । त्यसअघि अल अमरेत क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४८ ओभरमा सबै विकेट गुमाएर १ सय ७४ रन बनाएको थियो ।

नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्ले ५५ रन बनाए भने कुशल भुर्तेलले ३६ र गुल्सन झाले २८ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले राम्रो खेल्न सकेनन् ।

कप्तान मल्लले ९१ बलमा ३ चौकासहित ५० रन पूरा गरेका हुन् । कप्तान मल्ल एकदिवसीय अन्तराष्ट्रियमा नेपालका लागि सर्वाधिक रन बनाउने खेलाडी समेत बनेका छन् ।

मल्लले ३ सय ६६ रन जोड्दै सर्वाधिक रन बनाउने खेलाडी बनेका हुन् । उनले पूर्व कप्तान पारस खड्काले बनाएको ३ सय १५ रनको रेकर्ड तोडेका हुन् । पहिलो खेलमा अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो ।

लिग-२ अन्तर्गतको जारी सिरिजमा अमेरिकाको यो पहिलो जित हो । नेपालको भने यो लगातार दोस्रो हार हो । बिहीबार भएको खेलमा नेपालले ओमानसँग ४ विकेटको हार व्यहोरेको थियो ।

अब नेपालले आइतबार ओमानसँग प्रतिस्पर्धा गर्नेछ । अमेरिकाले पनि सोमबार ओमानसँग खेल्नेछ । लिग-२ मा नेपाल ७ खेलमा ६ अंक जोडेर छैटौं स्थानमा रहेको छ । अमेरिका १५ खेलमा १४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।  ओमान १२ खेलमा २० अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

लिग-२ विश्वकप छनोटको एक रुप हो । सात टोली रहेको लिग-२ मा एक टोलीले ९ सिरिजसहित कुल ३६ खेल खेल्ने छन् । लिग-२ को शीर्ष तीन राष्ट्रले २०२३ को जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा स्थान बनाउने छन् ।



प्रतिक्रिया दिनुहोस्