Logo

एकै दिन १५ अर्ब खर्च



काठमाडौं, असोज २ । विभिन्न मुलुकबाट नेपाल भित्रिने विविध वस्तुहरूको आयात बढेसँगै राजस्व संकलनमा उल्लेख्य वृद्धि भएको छ । सरकारले दुई महिनाको अवधिमा करिब डेढ खर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०७८ ÷७९ को बितेका दुई महिना साउन र भदौमा मात्र १ खर्ब ६८ अर्ब ५७ करोड ७६ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।

पछिल्लो समय अर्थमन्त्री जनार्दन शर्माले संशोधित बजेटमार्फत चालू आर्थिक वर्षमा कुल १० खर्ब ५० अर्ब रुपैयाँ राजस्व संकलन हुने लक्ष्य राखेका छन् । सरकारले दुई महिनामा कर राजस्वअन्तर्गत १ खर्ब ४८ अर्ब तथा गैरकर राजस्वअन्तर्गत २० अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ । सरकारले भदौ महिनामा मात्र ७५ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ । यसैगरी, गत साउन महिनामा ९३ अर्ब रुपैयाँ राजस्व संकलन गरेको थियो ।

संवैधानिक बन्देजको अवस्थामा राजस्व मात्र उठाउन पाउने तर सरकारी खर्च गर्न नपाउने अवस्था उत्पन्न भएपछि महालेखा नियन्त्रको कार्यालयले बजेट शून्यताको गाँठो फुकाइदिएको थियो । महालेखाले बजेट शून्यताको गाँठो फुकाएसँगै सरकारले गत बुधबार दिनभर हतारमा सरकारी कोषबाट एक दिनमै झन्डै १५ अर्ब रुपैयाँ खर्च गरेको थियो । सो रकम चालू खर्चतर्फको हो ।

बिहीबारबाट सरकारले बजेट खर्च गर्न नपाउने अवस्था आएपछि हतारमा सरकारले कर्मचारीलाई भदौ महिनाको तलब खुवाउनदेखि दैनिक कार्य सञ्चालन गर्न एक दिनमै यतिधेरै रकम खर्च गरेको महालेखाले जनाएको छ । संसद्मा जारी सरकार र प्रतिपक्षी दलको किचलोको चपेटामा चालू आर्थिक वर्षको बजेट परेर मुलुकको इतिहासमै पहिलोपटक बहुमतप्राप्त सरकार आफ्नै ढुकुटीमा भएको खर्चसमेत गर्न नपाउने संवैधानिक बन्देजको अवस्थामा पुगेको छ ।

बिहीबारबाट बजेट खर्च नै नहुने अवस्था आउने बुझेर त्यसअघि गत बुधबार एकदिनमै सरकारले झन्डै १५ अर्ब रुपैयाँ खर्च गरेको हो । महालेखा नियन्त्रक कार्यालयका अनुसार गत बुधबार सरकारी कोषबाट १४ अर्ब ८७ करोड ८ लाख रुपैयाँ खर्च भएको थियो । यसरी खर्च भएको रकममध्ये चालू खर्चमा ८ अर्ब ७० करोड रुपैयाँ र वित्तीय व्यवस्थातर्फ ६ अर्ब रुपैयाँ खर्च भएको थियो ।

यो अवधिमा पुँजीगत खर्च भने जम्मा १६ करोड रुपैयाँ मात्र भएको महालेखाको तथ्यांकमा उल्लेख छ । अब संसद्को अर्को बैठक आगामी ४ असोजमा बोलाइएको छ । यो अवधिमा सरकारले बजेट खर्च गर्न पाउँदैन । चालू आवको बितेका दुई महिनामा उच्च आयात देखिएको कारण सरकारले लिएको लक्ष्यअनुसार राजस्व संकलन दर पूरा भएको जनाइएको छ ।

गत दुई महिनाको राजस्व वृद्धिदरको विश्लेषण गर्दै अर्थमन्त्री शर्माले तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गत १५ जेठमा राखेको भन्दा राजस्वको लक्ष्य बढाएका छन् । चालू आर्थिक वर्षको बितेका दुई महिनामा सरकारले चालूतर्फ ५८ अर्ब रुपैयाँ खर्च गरेको छ ।

यसैगरी, २ अर्ब ६ करोड रुपैयाँ विकास खर्च तथा वित्तीय व्यवस्थातर्फ २८ अर्ब रुपैयाँ खर्च गरेको महालेखा नियन्त्रक कार्यालयले जनाएको आजको राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्