Logo

गणेशमानको प्रधानमन्त्री त्याग



काठमाडौं, २ असोज । यो त्यही जीप हो जसमा चढेर गणेशमान सिंह जनआन्दोलनका सर्वोच्च कमाण्डरका रुपमा राजा वीरेन्द्रलाई भेट्न नारायणहिटी गएका थिए । २०४६ सालको जनआन्दोलनको बलले तत्कालीन राजा वीरेन्द्र बहुदलीय प्रजातन्त्रको घोषणा गर्न पुगे । जनआन्दोलनका सर्वोच्च कमाण्ड थिए गणेशमान सिंह ।

चाक्सीबारीस्थित सिंहको घरमै जनआन्दोलनको घोषणा भएको थियो । त्यो ऐतिहासिक घरबाट जीप चढेर गणेशमान सिंह नारायणहिटी दरबारतर्फ लागे । जीपमा नेपाली काँग्रेसको चार तारे झण्डा थियो ।

सिंगो देशको मात्र नभई अन्तर्राष्ट्रिय समुदायको पनि त्यो जीपमा आँखा थियो । गणेशमान सिंह नै देशको प्रधानमन्त्री बन्ने अनुमानहरु भए । राजाले गणेशमान सिंहलाई प्रधानमन्त्री बनाउन लागेको आँकलनहरु गरिए । त्यतिबेला सक्रिय राजतन्त्र भएकाले राजाले प्रधानमन्त्री नियुक्ति गर्ने अधिकार राख्थे ।

गणेशमान सिंह नारायणहिटी छिरे । उनलाई राजा वीरेन्द्रले स्वागत गरे । देशको प्रधानमन्त्री बनेर राजसंस्थासहितको बहुदलीय प्रजातान्त्रिक प्रणालीलाई अगाडि बढाउने जिम्मेवारी सम्हाल्न भने ।
गणेशमान मुसुक्क हाँसे । राजालाई लाग्यो उनी प्रधानमन्त्रीको प्रस्तावबाट खुशी भए ।

त्यसअघि राजा कहाँ प्रधानमन्त्री बनाइदिन भन्दै विन्ती चढाउन पुग्ने या दरबारका विभिन्न पदका कर्मचारीमार्फत् विन्ती पुर्याउनेहरु हुन्थे । तर, गणेशमान सिंह फरक ढंगले प्रस्तुत भए ।

सिंहले आफूले प्रधानमन्त्री पदका लागि नभई प्रजातान्त्रिक पद्धतिका लागि जनआन्दोलनको कमाण्ड गरेको जवाफ दिए । उनले प्रधानमन्त्रीको जिम्मेवारी कृष्णप्रसाद भट्टराईलाई दिनुपर्ने प्रस्ताव राखे ।

राजा वीरेन्द्र गणेशमानको त्यो त्यागबाट आश्चर्यमा परे । गणेशमानप्रति उनको सम्मान झन् बढेर गयो । कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्री बनाउने आग्रहलाई सहर्ष स्वीकारे ।

नेपाली राजनीतिमा त्यो त्याग न त्यस अघि भएको थियो न त्यसपछि । वरिष्ठ पत्रकार माथवरसिंह बस्नेतले गोरखापत्रमा लेख लेखेर यो घटनालाई न भूतो न भविष्यति भनेका छन् ।

प्रधानमन्त्रीका लागि नेपालमा कोतपर्व जस्ता हत्याकाण्डहरु पनि भएका थिए । विभिन्न हत्याकाण्डहरु भएका थिए । सत्ताका लागि धेरै काटमारहरु भए । १८ हजार मारिने गरी सशस्त्र द्वन्द्व पनि भए । तर, गणेशमान सिंहले रक्तपात देखि षड्यन्त्रका बलमा प्रधानमन्त्रीमा पुग्ने प्रवृत्तिमा पूर्णविराम लगाउन त्यागको भावना प्रदर्शन गरेका थिए ।

Photo Source: Ganeshman Singh Foundation



प्रतिक्रिया दिनुहोस्