Logo

प्रधानमन्त्रीको रूपमा देउवा निकम्मा भए, अब कांग्रेसलाई ठूलो धक्का पर्छ : डा. दीक्षित



काठमाडौं, २ असोज । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दिक्षितले वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपालको ईतिहासकै निकम्मा प्रधानमन्त्रीको रुपमा चित्रण गरेका छन् । उनले भने,‘दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने, त्यो पनि २० प्रतिशतमा झारे, देउवा त चारपटक असक्षम भैसके । यसपालि त खत्तम नै पारे । अब कांग्रेस नै डुब्दैछ । देउवाको काम हेरेर के भन्नु ? देउवाजी मात्रै होईन अब पाँच दलीय गठबन्धन नै असफल भयो । प्रधानमन्त्रीको रुपमा देउवा निकम्मा भए । अब कांग्रेसलाई ठूलो धक्का पर्छ । गठबन्धनलाई पनि धक्का पर्छ ।’

आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले एकथरीले संसद् विघटन गर्दा संविधान र लोकतन्त्र बलियो बनाउन भनेर भनेको र संसद् पूनःस्थापित भएपछि अर्कोथरिले पनि त्यही संविधान र लोकतन्त्र बलियो बनाउन भनेर भनेकोमा आफूलाई आश्चर्य लागेको बताए ।

उनले भने,‘संसद् विघटन गरेपनि लोकतन्त्र बलियो बनाउन भन्छन् । पूनःस्थापना भएपछि पनि लोकतन्त्रको लागि भन्छन् । यो कस्तो कुरा हो ? संविधान कच्चा नभएको भए आजको अवस्था कसरी आउँथ्यो ? अहिले पहिलोपटक बजेट होलिडे भयो मुलुकमा । लोकतन्त्र र संविधान नै हामीले हेर्ने हो, अहिले त्यागी र तपश्वी नेता हामीसँग छैनन् । पुष्पलाल, विपी, गणेशमान, मदन भण्डारीजस्ता नेता छैनन्, अहिलेको नेता असफल भए । सिस्टम नै गलत छ । राष्ट्रपति या देशमा प्रत्यक्ष निर्वाचित प्रणालीमा जानुपर्छ भनेर त हामीले पहिलेदेखि नै भन्दै आएको हो नि । यसको लागि संविधान नै परिमार्जन गरौं । कतिपयले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको कुरा गर्दा अधिनायकवादको कुरा गर्छन्, तर चेक एण्ड ब्यालेन्स राखौं न । दुई तिहाई मत ल्याउँदा पनि निरंकुश भयो नि । अहिलेका पात्रहरु पटक्कै ठीक भएनन् । शीर्ष नेताहरुलाई त्यही दलका दोस्रो तहका नेताहरुले विदा गर्नुपर्छ । माथिल्लो तहका नेताहरु सबैलाई रिटार्यड गर्नुपर्छ । देशको औषधी गर्ने चिकित्सकहरु ६० वर्षमा रिटायर्ड हुनुपर्ने, अनि ८०, ९० वर्ष पुगिसक्दा पनि नेताहरुलाई रिटार्यड गर्नुपर्दैन ?’



प्रतिक्रिया दिनुहोस्