Logo

ओली-नेपाल सिध्याउने लडाईंमा, कस्को के होला ?



काठमाडौं, २ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल एक अर्कालाई राजनीतिक रुपमा सिध्याउने लडाईंमा छन् । कुनैबेला एउटै गुटमा रहेर एमालेमा लामो समय शक्तिको अभ्यास गरेका यी दुई नेताहरु नदीको दुई किरानजस्ता भएका छन् ।

ओलीले माधव नेपालरहितको एमाले रहने भनेका थिए । नेपालले पनि एमालेको नेतृत्व स्वीकार्न तयार भएनन् । जसका कारण एमाले विभाजित भयो ।

एमाले विभाजन पूर्व नै माधव नेपालले ओलीलाई ठूलो क्षति पुर्याइसकेका थिए । ओली नेतृत्वको सरकार ढाल्न माधव नेपालले नै मुख्य भूमिका खेलेका थिए । त्यस अघि नै गण्डकी प्रदेशमा एमाले नेतृत्वको सरकार ढलिसकेको थियो ।

राष्ट्रिय सभाको उपनिर्वाचनमा एमाले उम्मेदवार बादललाई माधव नेपालले आफूनिकट खिमलाल देवकोटालाई कलम चिन्हको उम्मेदवार बनाएर हराइदिए ।

एमाले विभाजित हुँदा २३ जना प्रतिनिधि सभाका सांसद माधव नेपालको पक्षमा गए । नेकपा एसको तुलनामा नेकपा एमालेमा अझै पनि ४ गुणा बढी सांसद छन् । एमालेसँग ९६ सांसद छन् । तैपनि, माधव नेपाल यथास्थितिमा शक्तिशाली बनेका छन् । सत्ता गठबन्धनमा छन् । उनको दल सरकारमा जान ठिक्क परेको छ ।

माधव नेपालकै रणनीतिमा कर्णालीमा फ्लोर क्रस भयो । सुदूरपश्चिम र कर्णालीमा माओवादी नेतृत्वको सरकार ढल्नबाट जोगियो । लुम्बिनीमा पनि शंखर पोखरेल नेतृत्वको सरकार ढलिसकेको छ । अब बागमती प्रदेश र प्रदेश नं १ मा सरकार ढल्ने अवस्थामा छ । ओलीले एकपछि अर्को क्षति भोगिरहेका छन् ।

संघीय संसद देखि ६ वटा प्रदेशहरुमा नेकपा एसको भन्दा नेकपा एमालेका सांसद बढी संख्यामा छन् । तर, नेकपा एस बलियो बन्दै गएको छ । यसले ओलीको राजनीतिलाई दुरगामी धक्का पर्ने घटना विकास भइरहेको छ ।

अहिले ओली र नेपाल एक अर्कालाई सिध्याएरै छाड्ने जुधाईमा छन् । यो जुधाईमा एमालेका धेरै नेता कार्यकर्ता मिचिएका छन् । दुवैलाई राजनीतिक धक्का पर्ने अवस्था विकास हुँदै गएको छ । एमालेभित्र यही घटनाले नयाँ नेतृत्वको उदय हुनसक्छ ।

अहिले एमाले र नेकपा एसका कतिपय नेता कार्यकर्ता चुनावमा भोग्नुपर्ने नोक्शानीको लेखाजोखा गर्न थालेका छन् । ओली माधव नेपाललाई सुन्यमा झार्छु भन्दैछन् । माधव नेपाल पनि गठबन्धन बनाएरै चुनावमा ओलीलाई धक्का दिने रणनीतिमा छन् । तर, स्थिति दुवैले भने जस्तो सिधा रेखामा नबढ्न सक्छ ।

२०७९ सालभित्र आमनिर्वाचन हुने निश्चितप्रायः छ । आवधिक चुनाव हुन १४ महिना बाँकी छ । यी १४ महिनामा विभाजित अवस्थामै एमाले र नेकपा एसले चुनाव लडेमा दुवैले ठूलो धक्का खानुपर्ने निश्चितप्रायः छ ।

२०५४ मा एमालेबाट फुटेर नेकपा माले बनेको थियो । तत्कालीन नेकपा मालेले २०५६ को चुनावमा देशभर कुनै निर्वाचन क्षेत्रमा जित्न सकेन । नेकपा एमालेको पनि २०५१ को चुनावी परिणामभन्दा सिट संख्या घट्यो ।

२०७४ को आमनिर्वाचनमा एमालेले उल्लेख्य सफलता हासिल गर्नुमा नेकपा माओवादी केन्द्रसँगको चुनावी गठबन्धन पनि मुख्य कारण थियो । एमालेले १०३ र माओवादी केन्द्रले ५९ निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ चुनावमा उम्मेदवार उठाएका थिए । सुर्य चिन्हमा उम्मेदवार बनेका १०३ मध्ये ७८ जना विजयी भएका थिए । गोलाकारभित्र हँसिया हथौडा चुनाव चिन्ह लिएर माओवादीका ३६ उम्मेदवार विजयी भएका थिए । १६५ निर्वाचन क्षेत्रमा नेकपा एमाले र माओवादीको मात्र जोड्दा ११४ हुन आउँछ ।

एमाले र माओवादी मिल्दा दुवैलाई चुनावमा ठूलो फाइदा पुगेको थियो । २०७० सालको निर्वाचनमा हार व्यहोरेको धेरै क्षेत्रमा एमाले उम्मेदवार माओवादीसँगको गठबन्धनले विजयी भएका थिए ।
माओवादीसँगको गठबन्धनले ७८ स्थानमा प्रत्यक्षतर्फको उम्मेदवारलाई विजय बनाउन सकेको एमालेले आउँदो निर्वाचनमा यही सफलता दोहोराउने सम्भावना कमजोर छ । माओवादीसँग एमालेको गठबन्धनको सम्भावना देखिदैन । अर्कोतर्फ, एमाले आफै फुटेको छ ।

विघटित प्रतिनिधि सभामा निर्वाचित एमालेका ७८ मध्ये ३१ जनाले १० हजार भन्दा बढी मतान्तरले जित हासिल गरेका थिए । १६ जनाले ७ हजार, ११ जनाले ५ हजार, ६ जनाले ३ हजार, ६ हजारले २ हजार, ५ जनाले १ हजार, ३ जनाले ५ सय र ३ जनाले ५ सयभन्दा कम मतान्तले जीत हासिल गर्न सकेका थिए । यो तथ्यांकलाई आधार मान्ने हो भने माओवादीसँग विना गठबन्धनमा जाँदा एमालेलाई सिधै ५० सिटमा झट्का लाग्ने देखिन्छ । माओवादीको मत एमालेलाई पर्दा कम्तिमा ५० सिटमा जीत सुनिश्चित भएको हो । बाँकी ३० सिटमा पनि कम्युनिस्ट एकता नहुँदा जीत निकै कठिन हुने देखिन्छ ।

एमाले समेत विभाजित भएकाले थप सिटहरुमा धक्का लाग्न सक्छ । एमालेबाट फुटेको नेकपा एसलाई पनि देशभर चुनाव सहज छैन ।



प्रतिक्रिया दिनुहोस्