Logo

जनताको बलिदानपूर्ण सङ्घर्षबाट प्राप्त संविधानमा सबैको समान पहुँच



काठमाडौं, असोज ३। राष्ट्रपति विद्यादेवी भण्डारीले जनताको बलिदानपूर्ण सङ्घर्षबाट प्राप्त संविधानमा सबै नागरिकको समान पहुँच हुनुपर्ने बताएका छन् ।

संविधान दिवस तथा राष्ट्रिय दिवस–२०७८ को अवसरमा शुभकामना दिँदै उनले राज्यबाट प्राप्त सेवा तथा सुविधा स्थापित गरी आमनागरिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति प्रदान गर्नुपर्नेमा जोड दिएकी छन् ।

‘‘संविधानद्वारा प्रत्याभूत नागरिक आकाङ्क्षालाई कार्यरूप दिनु हाम्रो युगीन अभिभारा हो,’’ सन्देशमा भनिएको छ, “जननिर्वाचित संविधान सभाद्वारा २०७२ साल असोज ३ गते जारी संविधान लोकतान्त्रिक प्रणाली स्थापना गर्ने मार्गदर्शन हो । ”

राष्ट्रपति भण्डारीले लामो समयको सङ्क्रमणकाल र द्वन्द्वलाई समाप्त पार्न सफल राजनीतिक दलहरूलाई संविधानप्रदत्त नागरिक अधिकारको उपयोग गरी शान्तिपूर्ण माध्यमबाट राजनीतिक उद्देश्य हासिल गर्न राष्ट्रिय राजनीतिको मूल प्रवाहमा सामेल हुन आग्रह गरेकी छन्।

त्यसैगरी, उपराष्ट्रपति नन्दबहादुर पुनले असोज ३ गतेलाई इतिहासकै स्वर्णिम दिन भएको बताएका छन् । उनले विभिन्न कालखण्डका जनआन्दोलन, सशस्त्र सङ्घर्ष, जनयुद्ध, २०६२र०६३ सालको ऐतिहासिक जनआन्दोलनलगायत विभिन्न आन्दोलनमा शहादत प्राप्त गर्ने वीर सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले सुख, शान्ति, समृद्धि एवम् समुन्नति तथा समृद्धिको शुभकामना दिएका छन्।

सभामुख अग्निप्रसाद सापकोटाले संविधानमा अन्तर्निहित लोकतान्त्रिक मूल्य–मान्यता, आदर्श र प्रतिबद्धतालाई व्यवहारमा रूपान्तरण गर्नु आजको मुख्य कार्यभार भएको सन्देशमा उल्लेख गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्