Logo

‘हामी माधव नेपालको पार्टीमा जाने कुरा भएको छैन’ : युवराज ज्ञवाली



नेकपा (एमाले) का उपाध्यक्ष युवराज ज्ञवालीले आफूहरु माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीमा नजाने बताएका छन् । माधव नेपालको पार्टीका नेताहरुले आफूहरु उक्त पार्टीमा जान लागेको भनेर भन्नु स्वभाविक भएको उनको टिप्पणी छ । नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । कुराकानीको क्रममा उनले भनेका छन्–‘हामी माधवजीको पार्टीमा जाने सम्भावना छैन् । छोडेर जाने भए यहाँ आउने नै थिएनौं नी । यो हामीले बनाएको पार्टी हो, हामीले किन छोड्ने ? उहाँहरुसँग हाम्रो कुनै कुरा भएको छैन । अहिले हाम्रो जाने कुरा पनि भएको छैन । उहाँहरुले भन्ने कुरा स्वभाविक हो । हामीले पनि उहाँहरुलाई हामीसँग फर्किएर आउनु भनिरहेका छौ । उहाँहरुले पनि भनिरहनुभएको छ । राजनीतिमा यो चलिरहन्छ ।’ उपाध्यक्ष ज्ञवालीसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :

एमालेमा १० बुँदे कार्यान्वयन नहुने केपी शर्मा ओलीको घोषणापछि तपाईंहरु अन्यौलमा पर्नुभयो होईन ?

होईन, दश बुंदे त हामी स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक बसेर ब्यापक छलफल गरेर अन्तरपार्टी निर्देशन जारी गरिएको छ । त्यो अन्तरपार्टी निर्देशनमा प्रष्ट रुपमा कसरी एकीकरण गर्ने र दश बुँदे कार्यान्वयन कसरी गर्ने भन्ने कुरा लेखिएको छ । तर, पछि व्यवहारमा लागु गर्दा केही ठाँउहरुमा समस्या देखापरेको छ । आम रूपमा धेरै ठाँउमा यो लागु भइसक्यो । यो अगाडि बढिसक्यो । तर, केही ठाउँमा केही समस्या रहेका छन् । अब भोलिदेखि हाम्रो स्थायी कमिटी बैठक बस्दैछ । कहाँ–कहाँ समस्या छन्, ती समस्याहरु हामी हल गर्छौं ।

समस्या धेरै ठाउँमा देखिएको छ । कतिपय जिल्लामा पनि देखियो, जिल्ला अध्यक्ष पनि परिवर्तन हुन सकेको छैन । जेठ २ मा फर्किन कोही पनि तयार भएनन् ? के कारणले यस्तो भयो ?

धेरैजसो ठाँउमा यो लागु भइसक्यो । केहीे ठाँउमा मात्र केही अन्यौल भएको छ । त्यसलाई समाधान गरिन्छ ।

कसरी समाधान गर्नुहुन्छ ? सुदुरपश्चिममा इन्चार्ज को भीम रावल की लेखराज भट्ट ?

यी कुराहरु हामी बैठकमा प्रष्ट पार्छौं ।

बागमती प्रदेशमा रामबहादुर थापा की अष्टलक्ष्मी शाक्य ?

अष्टलक्ष्मी शाक्य संयोजक हो अब त्यसमा उहाँले संयोजन गर्ने भन्ने कुरा भएको छ । त्यहीअनुसारको एउटा मेकानिजम पनि बनेको छ । त्यसो भएकाले यो कार्यान्वयन गर्दा केही समस्याहरु देखापरेका छन् । यस्ता समस्या हल भइहाल्छन् ।

कसरी हल हुन्छ ? आधार दिन सक्नुहुन्छ ?

समाधान हुन्छ । अन्तरपार्टीको १२ बुँदेको १२ नम्बरमा जुन कुरा लेखिएको छ । अन्तरपार्टी निर्देशन जारी गरिएको छ, त्यसमा प्रष्ट लेखिएको छ ।

त्यसोभए १० बुँदे सम्झौता कार्यान्वयन हुन्छ ?

हुन्छ, केही समस्याहरु देखिन्छन् । कार्यान्वयन गर्दा केही समस्याहरु देखिन्छन् ति समस्यालाई स्थाई कमिटीको बैठक आजदेखि सुरु हुन्छ त्यो बैठकमा हामी राख्छौं ।

आजबाट सुरु हुने स्थायी कमिटी बैठकका मुख्य एजेन्डा के छन् ? बैठक कति बजे कहाँ हुदैछ ?

महाधिवेशनको दस्ताबेजहरु छन्, तीन वटा दस्ताबेजहरु आइपुगेको छ । त्यसबारे छलफल गर्ने हो । त्यसमा विविध बिषयहरु छन् । १० बुँदे कार्यान्वयनको सन्दर्भमा के भइरहेको त्यसको बारेमा समिक्षा गर्ने र देखिएका समस्याहरुलाई हल गर्ने काम स्थायी कमिटीबाट हुन्छ । भोलि हाम्रो ११ बजे संविधान दिवस मनाईन्छ त्यसपछि १ बजे तुलसीलाल स्मृति प्रतिष्ठानमा बैठक सुरु हुन्छ ।

अहिलेको अवस्थामा अब एमालेमा बिग्रह आउँदैन ?

बिग्रह आउँदैन । अलि अलि समस्या त भइहाल्छ । त्यस्ता समस्याहरुलाई छलफलबाट हल गरिन्छ । पार्टीले निर्णय गरिसकेपछि सबै ठाउँका नेताहरुले त्यसलाई कार्यान्वयन गर्नुपर्छ ।

तर, पार्टी अध्यक्ष केपी शर्मा ओलीले जेठ २ मा पार्टी फर्कनै सक्दैन भन्नुहुन्छ ?

को नेताले के भाषण गर्नुभएको छ ? त्यो अलग कुरा हो, तर पार्टीको संस्थागत निर्णय र पार्टीको सर्कुलरलाई आधार बनाउनुपर्छ । त्यसमा बुझाईमा केही समस्या छ भने आज छलफल गर्छौं ।

प्रदेशमा देखिएका सबै समस्या समाधान हुन्छ त ?

समाधान हुन्छ । धेरै ठाँउमा यो लागु भइसक्यो । मैले कर्णाली प्रदेशमा गएर सबै लागु गराइसकें । कुनै पनि समस्या छैन् । अन्य केही ठाउँमा देखिएका समस्या हामी हल गर्छौं ।

भीम रावलको रुष्टता बाहिर आएको छ नी ?

यस्ता कुराहरु आइरहेका छन् । म पनि थाहा पाइरहेको छु । त्यो समस्या किन आएको हो ? र कसरी समाधान गर्ने यसबारे आज सल्लाह गर्छौं ।

अष्टलक्ष्मी शाक्यले पनि मञ्चबाटै आफ्ना असन्तुष्टि राख्नुभएको छ ?

बिभिन्न ठाउँबाट आइरहेका छन् । त्यसलाई हल गरिन्छ ।

त्यसोभए तपाईंहरु एमाले छोडेर माधवकुमार नेपालको पार्टीमा जानुहुन्न ?

त्यो सम्भावना छैन् । छोडेर जाने भए यहाँ आउनेनै थिएनौं नी । यो हामीले बनाएको पार्टी हो, हामीले किन छोड्ने ?

माधवकुमार नेपालले हिजो भन्नुभएको छ–अब युवराज ज्ञवालीलगायत सबै हामीकहाँ आउनुहुन्छ, केपी शर्मा ओलीसँग उहाँहरुले काम गर्न सक्नुहुन्न भनेर ? तपाईँहरु के गर्नुहुन्छ ?

होईन, उहाँहरुसँग हाम्रो कुनै कुरा भएको छैन । अहिले हाम्रो जाने कुरा पनि भएको छैन । उहाँहरुले भन्ने कुरा स्वभाविक हो । हामीले पनि उहाँहरुलाई हामीसँग फर्किएर आउनु भनिरहेका छौ । उहाँहरुले पनि भनिरहनुभएको छ । राजनीतिमा यो चलिरहन्छ ।

हिजो बिरोध खतिवडले भीम रावल र युवराज ज्ञवाली कसरी एमालेमा बस्न सकेका होलान् मलाई दया लाग्छ भनेर तपाईहरुबारे टिप्पणी गर्नुभएको थियो, यसमा तपाईँको प्रतिक्रिया के छ ?

होईन, दया मान्नुपर्ने केही जरुरी छैन् । उहाँहरुलाई दया लाग्नु राम्रो कुरा हो । १०औं वर्षदेखि पार्टीमा गलत कुराको विरुद्ध हामीले बोल्दै आएका छौं । अबपनि कुनै समस्या परे आन्तरिक संघर्षको आधारमा हामी समाधान गछौं । पार्टीभित्र छलफल, बहस, निर्णय गछौं साथै निर्णयलाई कार्यान्वयन गर्छौं । त्यसैले यसमा आत्तिनुपर्ने कुनै जरुरी छैन ।

कर्णाली प्रदेशमा एमाले धेरै कमजोर भयो भन्छन्, तपाईं इन्चार्ज हुनुहुन्छ, के छ अवस्था ?

होइन, एमालेको अवस्था जे थियो त्यस्तै छ । केही साथीहरु उता जानु भएको हो । यसरी त मेचीदेखि महाकालीसम्म सबै ठाँउमा जानुभएको छ । तर, आधारभुत रुपमा नेकपा एमालेका नेता तथा कार्यकर्ताहरु हामी सँगै छन् ।

एमालेले संसद अवरुद्ध गरिरहेको छ, तपाईहरु संसदीय व्यवस्थालाई ध्वस्त पार्ने खेलमा लाग्नुभएको हो ?

यसमा सधैंभरि संसद् अवरुद्ध गर्ने भन्दापनि एउटा सहमति कायम गरेर अघि बढ्नुपर्छ । हामी संसदीय सघंर्षमा छौं । हामी सरकारमा पनि बस्यौं अहिले प्रतिपक्षमा छौं । फेरी सरकारमा जानुपर्छ । यो चलिरहने कुरा हो । त्यसो भएर संसद् कसरी संचालन गर्ने ? नियम के हो ? कानुन के हो ? विधि के हो ? संविधानमा के व्यवस्था छ ? संसदीय मर्यादा, संसदीय नियमावली सबैलाई पालन गरेर सबै सांसदहरु चल्नुपर्छ । नियम, कानुन र विधिको आधारमा चल्नुपर्छ । त्यसैले सत्तापक्ष र प्रतिपक्षबीच छलफल हुनपर्यो । सभामुखज्युले कोअर्डिनेशन गर्नुपर्यो । संसद् चल्ने वातावरण हुनुपर्यो । सधैंभरि टसल मात्र गरेर चल्दैन् ।

त्यसोभए तपाईहरु संसद् सुचारु गर्न तयार हुनुहुन्छ ?

त्यसमा सत्तापक्षले मुख्य पहल गर्नुपर्छ । सभामुखले वातावरण बनाउनुपर्छ ।

हाम्रो देशमा कहिलै नभएको बजेट होलीडे भयो, किन यस्तो भयो ?

यो गम्भीर कुरा हो । यसमा सबै जिम्मेवार हुनपर्छ ।

कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसद्बाट छिट्टै एमसीसी पारित हुन्छ भन्नुभएको छ , एमालेले अब के गर्छ ?

यसबारेमा सत्ता पक्षले के गर्ने हो पहिला स्पष्ट हुनुपर्यो । त्यसपछि हामी पार्टीमा छलफल गरेर विचार राख्छौं ।



प्रतिक्रिया दिनुहोस्