Logo

हतियारको व्यापारले पश्चिमा देशहरुबीच मतभेद



एजेन्सी, ३ असोज । यतिबेला अमेरिका र फ्रान्सबीच मतभेद बढेको छ । फ्रान्सले अमेरिका र अष्ट्रेलियामाथि सुरक्षा सन्धीबारे ढाँटेको आरोप लगाएको छ ।

फ्रान्सेली विदेशमन्त्री जिन भेस लि ड्रायनले विश्वासघातको आरोप लगाएका हुन् । उनले फ्रान्सेली टेलिभिजनमा बोल्दै लामो समयदेखि साथ रहेका देशहरुबाट कपट, झुट, विश्वासघात र तिरस्कार भएको टिप्पणी गरेका हुन् ।

फ्रान्सले अष्ट्रेलिया र अमेरिकामा रहेका आफ्ना राजदूतहरुलाई बोलाएर आक्रोश पोखिसकेको छ । अमेरिका, अष्ट्रेलिया र बेलायतबीच सुरक्षासम्बन्धी सम्झौता हुँदा फ्रान्सलाई बाहिर राखिएको छ । यो सम्झौता अष्ट्रेलियाले पनडुब्बी खरिद गर्ने विषयसँग पनि जोडिएको छ ।

सन् २०१६ मा अष्ट्रेलियाले फ्रान्सबाट ४० अर्ब डलर मूल्य पर्ने पनडुब्बी खरिद सम्झौता गरेको थियो । त्यसलाई स्थगन गरेर अमेरिका र बेलायतसँग संयुक्त सुरक्षा सम्झौता गरेको छ । त्यसप्रति फ्रान्स चिढिएको छ ।

पछिल्लो घटनाले पश्चिमा देशहरुबीच मतभेद बढेको छ । अंग्रेजी बोल्ने पश्चिमा देशहरु र नबोल्ने देशहरुबीच ध्रुवीकरण बढ्न थालेको छ । यो समस्या हतियारको व्यापारसँग जोडिएको छ ।

चीनले अकस भनिएको अष्ट्रेलिया, यूके र अमेरिकाबीचको सुरक्षा सम्झौतालाई विश्व शान्ति खलबलाउने अभिप्राय भनेको छ । यसलाई सन् १९८० को दशकमा अमेरिका र सोभियत संघबीच भएको शितयुद्धसँग तुलना गरेको छ । अकस सम्झौताबाट जापान र भारतलाई धक्का समेत मिलेको चिनियाँ विदेश मामलाको सन्देश आउने गरेको ग्लोबल टाइम्सले लेखेको छ ।



प्रतिक्रिया दिनुहोस्