Logo

उपेन्द्र यादवको प्रश्न : नेपालमा कुन राजनीतिक दलसँग यो संविधान सर्वस्विकार्य छ भनेर भन्ने आँट छ ? (भिडिओसहित)



काठमाडौं, ३ असोज । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले वर्तमान संविधानलाई टेकेर, आधार मानेर यसलाई परिमार्जन गर्नुपर्नेमा जोड दिएका छन् । आज अपरान्ह प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने,‘संसद्को बाटोबाट यसलाई परिमार्जन गरेर अघि बढ्नुपर्छ । संविधानमा भएका त्रुटिहरु सच्याउनुपर्छ । संविधानमा रहेका केही आधारलाई हामीले सकारात्मक नै भनेका छौं ।’ उनले संविधानमा ऐतिहासिक मधेश विद्रोह उल्लेख नगरिएकोमा गुनासो पोखे । उनले संविधानको संरचना नै गलत भएको पनि उल्लेख गरे ।

उनले आफूहरुले संविधानमाथि प्रहार नगरेको जिकिर गरे । तर, आफूहरु संविधानलाई परिमार्जन गरेर सबैले अपनत्व लिने बनाउन लागिपरेको पनि यादवको भनाई छ । उनले प्रदेश बनाईएपनि अधिकारविहीन बनाईएको भन्दै आक्रोश पोखे । उनले संविधान निर्माणको प्रक्रिया केलाउँदै जाँदा संविधान संविधानसभाको नाममा शासक जातका केही मुठ्ठीभरले जनतामाथि संविधान लादिएको टिप्पणी गरे । एकल भाषा नीति विभेदकारी भएको पनि उनले बताए ।

यादवले संविधान सच्याउन भनेर आफूहरुले सुरुदेखि नै भनेको बताए । केपी शर्मा ओलीले पनि संविधान सच्याउने भनेर आफूहरुसँग दुई बुँदे सहमति गरेको र अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवाले पनि संविधान संशोधन गर्ने प्रतिबद्धता जनाएको यादवले उल्लेख गरे । उनले भने,‘हामीले उठाएका कुरा सही छन् । राज्य पूनसंरचना सच्याउनुपर्छ । शासकीय स्वरुप पनि सच्याउनुपर्छ । थुप्रै प्रावधानहरु छन्, तिनलाई सच्याउनुपर्छ । जसले हिजो संविधान जबरजस्ती जारी गरे, उनीहरुले पनि अहिले संविधान कार्यान्वयन गर्न सकिएन भनेर भनिरहेका छन् ।’



प्रतिक्रिया दिनुहोस्