Logo

संखुवासभा हत्याकाण्डः दुईभन्दा बढी व्यक्ति संलग्न, गाउँलेले घटना लुकाएको आशंका



काठमाडौं, ३ भाद्र । संखुवासभामाको मादी नगरपालिकाको उम्लिङमा एकै परिवारका ६ जनाको सामूहिक हत्यामा दुई वा सोभन्दा बढी व्यक्ति संलग्न रहेको आशंकामा अनुसन्धान अगाडि बढाइएको छ । प्रहरीले आशंकित ४ जनालाई पक्राउ गरी अनुसन्धान बढाएको छ ।

६ जनाको हत्या एक व्यक्तिले गर्न नसक्ने निष्कर्षमा प्रहरी पुगेको र थप अनुसन्धान भइरहेको बुझिएको छ । योसँगै घटना नयाँ मोडमा पुगेको छ ।

हत्याका आरोपी लोकबहादुर कार्की पक्राउ परी घटनामा संलग्नता स्वीकार गरेका थिए । २६ भाद्रमा सार्वजनिक गरिएका उनले आफू एक्लैले हत्या गरेको बयान दिएका थिए । तर, प्रहरीले घटनाको अनुसन्धान अगाडि बढाउँदै जाँदा थप तथ्य फेला पारेको थियो ।

लोकबहादुरको भाई नरेशको हातमा मृतकमध्ये रञ्जना कार्कीको मोबाइल फेला परेको थियो । प्रहरीले नरेशलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । यसले घटनामा अन्य व्यक्तिको पनि संलग्नता रहेको तथ्य खुल्दै गएको छ ।

विहान भएको घटनाबारे वरपरका गाउँले पनि प्रत्यक्षदर्शी भएको हुनसक्ने आधारमा बयानहरु लिने क्रम चलिरहेको छ । तर, घटना डरधम्कीका कारण लुकाइएको हुनसक्ने प्रहरीको अनुसन्धानले देखाएको बुझिएको छ ।

२१ भाद्रको विहानै मौका छोपेर तेजबहादुरको हत्या गरेको र त्यसपछि परिवारको अन्य सदस्यको हत्या गरेको बयान लोकबहादुरले दिएका छन् । उनले सबैको हत्या चिपर्टले हानेर गरेको भनेपनि धारिलो हतियारको समेत प्रयोग गरेको तथ्य फेला परेको छ ।

६ जनाको हत्यामा कम्तिमा एक घन्टा लागेको घटनाको वस्तुस्थितिले समेत देखाएको छ । त्यत्रो अवधिमा चिच्याहट हुँदा गाउँका अन्यले देखेर पनि लुकाएको हुनसक्ने प्रहरीको अनुसन्धानले देखाएको छ ।

अहिलेसम्म प्रहरीले बाहिर आएको बयानमा तेजबहादुरको हत्या गरेको उनकी पत्नी कमला कार्की र बुहारी रञ्जना कार्कीले देखेका थिए । उनीहरु घटनास्थलमा आएपछि आक्रमण गरेका थिए ।

हत्याको दृश्य ८ वर्षीय विपिन कार्की र ५ वर्षीया गोमा कार्कीले पनि देखेपछि उनीहरुको पनि हत्या गरेका थिए । हत्या गर्न खोज्दा विपिन र गोमा भागेका थिए । उनीहरुको लखेटेर हत्या गरेको बयान लोकबहादुरले दिएका थिए । त्यसपछि घरमा बसेकी ८४ वर्षीया पार्वती कार्कीको पनि हत्या गरेका थिए । बुद्धमान कार्की कान नसुन्ने भएकाले केही थाहानपाएकाले छाडिदिएका थिए ।



प्रतिक्रिया दिनुहोस्