Logo

एमाले महाधिवेशनः पदाधिकारीसहित केन्द्रीय सदस्य सबै निर्वाचित हुने



काठमाडौं, असोज ४ । अध्यक्ष र केन्द्रीय सदस्य मात्रै महाधिवेशनबाट निर्वाचित गर्ने निर्णय गरेको एमालेले अब पदाधिकारीसहित सबै केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था गर्न लागेको छ ।

पार्टीभित्रैबाट तीव्र आलोचना भएपछि पार्टी उपमहासचिव एवं संगठन विभाग प्रमुख विष्णु पौडेलले आफ्नो सांगठनिक प्रस्तावमा संशोधन गर्दै सबै पदाधिकारीसहित केन्द्रीय सदस्यहरू निर्वाचित हुने प्रस्ताव समेटेका हुन् । यसअघि अध्यक्षबाहेकका पदाधिकारी निर्वाचित केन्द्रीय कमिटीबाट अध्यक्षले चयन गरिने उल्लेख गरिएको थियो ।

ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा आइतबारदेखि सुरु भएको एमाले स्थायी कमिटी बैठकमा पार्टीको राजनीतिक, सांगठनिक तथा वैचारिक कार्यदिशाको विषयले प्रवेश पाएको छ । बैठकमा विधान महाधिवेशन केन्द्रित छलफल सुरु भएको छ । केही समयपश्चात् एमालेले १०औं महाधिवेशन गर्दै छ । १०औं महाधिवेशन अघि एमालेले छुटै विधान महाधिवेशन गर्ने तयारी गरेको छ ।

एमाले उपाध्यक्ष युवराज ज्ञवालीका अनुसार विधान महाधिवेशन अघि स्थायी कमिटी, केन्द्रीय कमिटीबाट प्रस्ताव पारित गरेर विस्तृत छलफलका लागि विधान महाधिवेशनमा प्रस्तुत हुनेछ । विधान महाधिवेशनमा विधान पारित गरेपछि सोहीअनुसार १०औं महाधिवेशनमा नेतृत्वको चयन गरिनेछ ।

यता, नवौंं महाधिवेशनले सक्रिय राजनीतिबाट ७० वर्ष लागेपछि बिदा लिनुपर्ने व्यवस्था गरेको थियो । तर, केही नेताले ७० वर्षको प्रावधान हटाउन खोजेपछि उमेर हदको सो व्यवस्था कायम नै राखिने भएको छ । दोस्रो पुस्ताका नेताहरूको दबाबले उमेर हदसम्बन्धीको व्यवस्था कायम राखिएको हो ।

यस्तै, एमालेले आफ्नो विधानमा सात सदस्यीय सचिवालय गठनको प्रस्ताव गरेको छ । यसअघि तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकीकरण भई गठन भएको नेकपाजस्तै एमालेमा अब सात सदस्यीय सचिवालय हुनेछ । विधान महाधिवेशनबाट विधान पारित भएपछि एमालेमा अब अध्यक्षको नेतृत्वमा सचिवालय रहने व्यवस्था गरिनेछ । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्