Logo

संखुवासभा हत्याकाण्डः एउटा परिवार मिलेर अर्को परिवारका ६ जनाको हत्या



काठमाडौं, ४ असोज। संखुवासभामाको मादी नगरपालिकाको उम्लिङमा एकै परिवारका ६ जनाको सामूहिक हत्यामा नजिकका आफन्त पर्ने अर्को परिवार नै संलग्न भएको खुलेको छ । प्रहरीले लामो अनुसन्धानपछि यसअघि अभियुक्त ठहराएको लोकबहादुर कार्कीको परिवार नै संलग्न रहेको निष्कर्ष निकालेको हो ।

प्रहरीले लोकबहादुरको परिवारका सदस्यहरुलाई पक्राउ गरी संलग्नताबारे पत्ता लगाएको हो । उनीहरुसँग बयानपछि प्रहरीले आज घटनाको यथार्थ सार्वजनिक गर्ने भएको छ ।

यसअघि लोकबहादुर एक्लै संलग्न रहेको प्रहरीले घटना विवरण सार्वजनिक गरेको थियो । तर, प्रहरीले चलाखीपूर्ण तरिकाले अनुसन्धान गरिरहेको थियो । लोकबहादुरको परिवार एकजनाले घटनामा संलग्नता स्वीकारेपछि बाँकीले उन्मुक्ति पाउने ठानेका थिए । तर, प्रहरीले भित्र भित्र सबै पत्ता लगाइसकेको थियो । तथ्य प्रमाण जुटाइरहेको थियो ।

धेरैवटा तथ्य प्रमाण जुटाएपछि लोकबहादुरको परिवारका सदस्यहरुको संलग्नता खुलेको थियो । दुवै परिवारबीच लामो समययता विवाद रहेको समेत खुलेको बुझिएको छ ।

६ जनाको हत्या एक व्यक्तिले गर्न नसक्ने निष्कर्षमा प्रहरी पुगेको र थप अनुसन्धान गरेको थियो ।

२६ भाद्रमा सार्वजनिक गरिएका लोकबहादुरले आफू एक्लैले हत्या गरेको बयान दिएका थिए । तर, प्रहरीले घटनाको अनुसन्धान अगाडि बढाउँदै जाँदा थप तथ्य फेला पारेको थियो ।

लोकबहादुरको भाई नरेशको हातमा मृतकमध्ये रञ्जना कार्कीको मोबाइल फेला परेको थियो । प्रहरीले नरेशलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दै परिवारका अन्य सदस्यको संलग्नता पनि भेट्टाएको थियो ।

२१ भाद्रको विहानै मौका छोपेर तेजबहादुरको हत्या गरेको र त्यसपछि परिवारको अन्य सदस्यको हत्या गरेको बयान लोकबहादुरले दिएका थिए । उनले सबैको हत्या चिपर्टले हानेर गरेको भनेपनि धारिलो हतियारको समेत प्रयोग गरेको तथ्य फेला परेको थियो ।

अहिलेसम्म प्रहरीले बाहिर आएको बयानमा तेजबहादुरको हत्या गरेको दृश्य उनकी पत्नी कमला कार्की र बुहारी रञ्जना कार्कीले देखेका थिए । उनीहरु घटनास्थलमा आएपछि आक्रमण गरेका थिए ।

हत्याको दृश्य ८ वर्षीय विपिन कार्की र ५ वर्षीया गोमा कार्कीले पनि देखेपछि उनीहरुको पनि हत्या गरेका थिए । हत्या गर्न खोज्दा विपिन र गोमा भागेका थिए । उनीहरुको लखेटेर हत्या गरेको बयान लोकबहादुरले दिएका थिए । त्यसपछि घरमा बसेकी ८४ वर्षीया पार्वती कार्कीको पनि हत्या गरेका थिए । बुद्धमान कार्की कान नसुन्ने भएकाले केही थाहानपाएकाले छाडिदिएका थिए । तर, हत्यामा अन्य व्यक्ति पनि संलग्न रहेको खुलेपछि प्रहरीले नयाँ विवरण बाहिर ल्याउने भएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot