Logo

एनआरएनएको अध्यक्षमा गृहजिल्लाबाट आचार्यले गरे उम्मेदवारीे घोषणा



काठमाडौं, ४ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए) को दशौं अन्तराष्ट्रिय महाधिवेशन नजिकिदै गर्दा कुल आचार्यले अध्यक्ष पदमा उमेद्वारी घोषणा गरेका छन् ।  आचार्यले कुश्मामा आइतबार (हिजो) पर्वत बाग्लुङ र म्याग्दीका पत्रकारहरुको सम्मेलन गरेर यही कात्तिक ६ देखि ८ गते (अक्टोबर २३ देखि २५) सम्म काठमाडौमा हुने महाधिवेशनका लागि अध्यक्षको उमेद्वारी घोषणा गरेका हुन् ।

पर्वतको जलजला गाउँपालिका–७ धाइरीङमा जन्मिएका आचार्यले हाल बेलायतमा ब्यवसाय गर्दै आएका छन् । उनले यसअघि एनआरएनएको विभिन्न पदमा रहेर काम गरेका छन् । सन् २००३ देखि गैह्रआवासीय नेपाली संघको अभियानमा आवद्ध आचार्य गैरआवासीय नेपाली संघ बेलायतको कार्यसमिति सदस्य, उपाध्यक्ष हुँदै अध्यक्ष बनेका थिए । सन् २०१३ मा अन्तर्राष्ट्रिय समन्वय परिषदको सदस्य, युरोप संयोजक हुँदै सन् २०१७–१९ मा संघको उपाध्यक्ष बनेका थिए । संघको नवौं विश्व सम्मेलन तथा महाधिवेशनमा अध्यक्षका प्रतिस्पर्धी रहेका आचार्य कुमार पन्तसँग झिनो मतान्तरले पराजित भएका थिए ।

पत्रकार सम्मलेनमा बोल्दै आचार्यले सुस्तामा बिद्यालय, जुम्लामा प्रसुतिगृह, शंखमुलमा उद्यान, एनआरएनएको लगानी भित्र्याउन इन्भेष्टमेन्ट कम्पनी खेल्ने लगायतका कामको अगुवाई गरेका आचार्यले ८५ देशमा रहेका ८० लाख गैरआवासीय नेपालीहरुको भावना अनुसार संस्थालाई मर्यादित र बिश्वमै प्रतिष्ठित बनाउने प्रतिवद्धता जनाए ।

प्रवासीलाई जन्मथलो र गाउँसंग जोड्ने, गैरआवासीय नागरिकताको ब्यवस्था दोहोरो श्रम स्विकृति, एनआरएनएको लगानीलाई पारदर्शी र मुनाफामुलक बनाउने मुद्दालाई सारेको आचार्यले जिकिर गरे । ‘नेपालमा प्रवासीको लगानी भित्र्याउन र भित्रिएको लगानी सुरक्षाका लागि एनआरएनए नागरिकता आवश्यक छ,’ उनले भने ‘प्रवासमा रहेका नेपालीहरुलाई आफ्नो देशसँग जोड्न गैरआवासीय नागरिकताको ब्यवस्था हुनुपर्छ ।’

नेपालबाट पुँजी पलायन रोक्न र बाहिरबाट पुँजि भित्र्याउने बिषयमा बहस गर्नुपर्ने उनले बताए । सरकारी निकायसंग समन्वय गरेर नेपालबाट बिदेशिने कामदारको क्षमता र दक्षता बढाउन प्रयास गर्ने उनको भनाई थियो । ‘कोभिड १९ का कारण ठूलो संख्यामा नेपालीहरुले रोजगारी गुमाएर स्वदेश फर्कनु भएको छ,’ उनले भने ‘स्वदेश फर्केका नेपालीहरुका लागि रोजगार सिर्जना गर्न सघाउन मैले ’एक एनआरएन एक रोजगार’ भन्ने अवधारणा अगाडि सारेको छु । ’

प्रवासमा नेपाली भाषा, संस्कृति र सम्पदाको रक्षा गर्ने कुरामा आफूले जोड दिंदै आएको सुनाए । महाधिबेशन प्रतिनिधी चयनमा देखिएको बिवाद बिधान अनुसार समाधान हुनुपर्ने र परराष्ट्र मन्त्रालयले छिटो छानबिन गरेर तोकिएकै मितिमा महाधिवेशन गर्ने बातावरण बनाउन समेत उनले आग्रह गरे ।

उमेम्दवारी घोषणाको क्रममा आचार्यले जन्मथलो धाइरीङको किराखोरका पहिरो पिडितको पुर्नवासका लागि १० लाख र कुश्माको गुप्तेश्वर बहुमुखी क्याम्पसमा स्नाकोत्तर तहको पठनपाठन सञ्चालन गर्न १ लाख ५० हजार ब्यक्तिगत सहयोग घोषणा गरे ।



प्रतिक्रिया दिनुहोस्