Logo

एमालेको जबज एसको जबस



काठमाडौं, ५ असोज । नेकपा एमाले र नेकपा एसको मुहान एउटै हो । नेकपाबाट नेकपा माले हुँदै नेकपा एमाले बनेको पार्टीले लामो समय जनताको बहुदलीय जनवादलाई कार्यनीतिका रुपमा लियो ।

एमालेका तत्कालीन महासचिव मदन भण्डारीले प्रतिपादन गरेको जबज नै एमालेको कार्यनीति बनिरह्यो । तीन दशकयता एमाले मान्दै आएको जबजलाई अहिले पनि छाडेको छैन । नेकपा एमालेबाट फुटेर बनेको नेकपा एसले भने जबज छाड्ने भएको छ । उसले जबजलाई मार्गदर्शक सिद्धान्तका रुपमा स्वीकार गर्ने सम्मको सम्भावना छ । तर, जबज कार्यनीति नबनाउने निश्चित भइसकेको छ ।

जबजप्रति नेकपा मालेका तत्कालीन महासचिव तथा नेकपा एमाले बनेपछि अध्यक्ष समेत बनेका झलनाथ खनालले असन्तुष्टि जनाउँदै आएका थिए । उनले एमाले विभाजनपछि नयाँ दिल्लीबाट उपचार गरी फर्किंदा अब जबज कार्यनीति नहुने बताएका थिए । उनले समाजवाद प्राप्तिको लक्ष्यतर्फ बढ्नुपर्ने बताएका थिए ।

खनाल स्वयंले नेकपा एसको कार्यनीतिको टुंगो लगाउन प्रतिवेदन तयार गरेका छन् । उनले तयार पारेको प्रतिवेदनमा जबजको साटो जबस मान्ने प्रस्ताव छ । खनाल सहित १३ जना नेता मिलेर सिद्धान्त, विधान र घोषणापत्रलगायतका विषयसहितको प्रतिवेदन तयार गरेका हुन् ।

जबज समावेश हुनुपर्नेमा बामदेव गौतमको भने अडान रहेको बुझिएको छ । उनले जबजलाई मार्गदर्शक सिद्धान्त मान्नुपर्नेमा जोड दिएका छन् । सिद्धान्तकै विषयमा कुरा नमिलेर अड्किएका छन् । नेकपा एसमा प्रवेश गरिसकेका छैनन् ।

नेकपा एमालेमा केपी शर्मा ओली र बामदेव गौतम जबजका पक्षपाती रहँदै आएका थिए । माधव नेपालको मध्यमार्गी धार थियो । झलनाथ खनाल भने विगतमा जनवादमा जोड दिन्थे । पछि उनले समाजवादलाई लक्ष्य बनाउनुपर्नेमा जोड दिएका थिए । यसपटक नेकपा एसको कार्यनीति खनालले भनेजस्तै बनाइने भएको छ ।

नेकपा एसमा नेतृत्व माधव नेपालको र कार्यनीति झलनाथ खनालको हुने भएको छ । खनाललाई विचारका नेता मानिन्थ्यो । माधव नेपाल कुशल व्यवस्थापक रहँदै आएका छन् ।



प्रतिक्रिया दिनुहोस्