Logo

बगरफाँटमा तीन महिनादेखि खानेपानीको हाहाकार



गलेश्वर, ५ असोज: म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँट गाउँका २०८ घरपरिवार विगत तीन महिनादेखि खानेपानी अभवका कारण खोला र कुवाको दूषित पानी पिउन बाध्य भएका छन् । खानेपानी अभावमा काकाकुलको नियति भोग्न बाध्य त्यहाँका बासिन्दा एकाबिहानै गाग्री बोकेर पानीको खोजीमा निस्कने गर्दछन् । खोला र कुवाको दूषित पानीका कारण बालबालिका र वृद्धवृद्धालाई रुघाखोकीलगायतका मौसमी रोग देखिएको स्थानीयवासीले बताएका छन् ।

गत असार ७ गते मरुवा, उपल्लो खन्ना र बाङ्खे छहरोमा गएको बाढी तथा पहिराले मुहान र पाइप लाइन बगाइदिएपछि त्यहाँका २०८ घरपरिवारलाई खानेपानीको समस्या भएको हो । यसबीचमा पाइपको सामान्य मर्मत गरेर केही दिन पानी सञ्चालन गरिएको भए पनि लगातारको वर्षाका कारण ठाउँठाउँमा पहिरो गएर पाइपमा क्षति पु¥याएपछि बगरफाँटका बासिन्दा विगत तीन महिनादेखि खोला र कुवाको पानी पिउन बाध्य भएका हुन् । मर्मतकार्यमा बगरफाँट खानेपानी तथा सरसफाइ योजना उपभोक्ता समितिले चासो नदेखाएको स्थानीयवासीको गुनासो छ ।

गाउँमा रहेका २८ वटा धारामा पानी नआएपछि त्यहाँका बासिन्दा कुवा र म्याग्दी नदीको धमिलो पानी उमालेर पिउन बाध्य भएका बेनी नगरपालिका–२ बगरफाँटकी सावित्री शर्माले बताए । दुई सय १४ घरधुरी रहेको बगरफाँटमा तीन महिनादेखि खानेपानीको समस्या हुँदासमेत कुनै वैकल्पिक व्यवस्था हुन नसक्दा यहाँका बासिन्दा ठूलो समस्यामा परेका स्थानीयवासीले बताएका छन् ।

विसं २०६९ मा बेनी नगरपालिका–३ भकिम्ली र बेनपा–२ ज्यामरुककोटको सिमानामा पर्ने कोप्रेखोलाको मुहानबाट पानी ल्याई बगरफाँटका २८ वटा धारामा वितरण गरिएको थियो । रु ५४ लाखको लागतमा बगरफाँट खानेपानी तथा सरसफाइ आयोजनाले योजना सम्पन्न गरी गाउँमा खानेपानीको सुविधा उपलब्ध गराएको थियो । त्यसपछि वर्षेनी बर्खाको समयमा बाढी र पहिराले पाइप लाइनलाई क्षति पु¥याउँदा मर्मत गरी पानी सञ्चालन गर्ने गरिएकामा यस वर्ष भने पाइप लाइन र मुहानलगायत सात ठाउँमा ठूलो पहिरो गएकाले सामान्य मर्मतले मात्र सम्भव नहुने र निरन्तर वर्षा भइरहेकाले मर्मत गर्न नसकिएको बगरफाँट खानेपानी तथा सरसफाइ आयोजनाका अध्यक्ष कृष्णबहादुर कार्कीले बताए ।

अध्यक्ष कार्कीका अनुसार अझै केही दिनसम्म समस्या यथावत रहने र वर्षा रोकिएपछि मर्मत अघि बढाइने छ । खानेपानीको समस्याका कारण बगरफाँटको २१४ घरधुरीका एक हजार २०० भन्दा बढी जनता प्रत्यक्षरूपमा प्रभावित भएका छन् । गाउँको पुछारमा म्याग्दी नदी र सिरानमा आप्रे, उडाइनो, मुलछहरी, कोप्रेझरनालगायतका पानीका आधा दर्जन बढी स्रोत रहेका भए पनि ती पानीका स्रोतलाई व्यवस्थित गर्न नसक्दा यहाँका बासिन्दाले वर्षौँदेखि खानेपानीको समस्या झेल्दै आएका छन् ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्