Logo

‘दश बुँदे त उहिल्यैदेखिनै कार्यान्वयन हुँदैछ’ : केशब बडाल (भिडिओसहित)



नेकपा (एमाले) का स्थायी कमिटी सदस्य केशब बडालले हिजो बसेको स्थायी कमिटी बैठकमा पार्टीलाई एकताबद्ध र सशक्त बनाउने सवालमा, पार्टीलाई सिंगै राष्ट्रको लोकतान्त्रिक आन्दोलनको नेतृत्वदायी पार्टीको रुपमा स्थापित गर्नको निमित्त अझै यस्तो गर्दा राम्रो होला भन्ने सुझाबहरु नेताहरुबाट आएको भएपनि पार्टीको भावना, स्परिट र गतिशिलताविपरित कसैले केही कुरा नराखेको स्पष्ट पारेका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । प्रस्तुत छ बडालसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश:

नेकपा (एमाले) को स्थायी समितीको बैठकमा केपी शर्मा ओली र अन्य नेताहरुको बीचमा सवालजवाफ भयो होईन ?

सवालजवाफ भएको होईन । हिजोको बैठकमा पहिलो वक्ता म आफैँ थिएँ । १९ जना साथीहरुले आफ्ना कुरा राख्नुभयो । विचार राख्ने कुरा स्वभाविक रुपमा आफुलाई लागेको राखिन्छ । सवालजवाफ केही भएको होईन । अत्यन्तै हार्दिकता, विनम्रताका साथ र व्यवस्थित् ढंगले नै कुराहरु आएका छन् । सुझव दिने सबै कमरेडहरुका कुराहरु मैले नोट पनि गरेको छु । पार्टीलाई एकताबद्ध बनाउने सवालमा, पार्टीलाई सशक्त बनाउने सवालमा, पार्टीलाई सिंगै राष्ट्रको लोकतान्त्रिक आन्दोलनको नेताको रुपमा स्थापित गर्नको निमित्त अझै यस्तो गर्दा राम्रो होला भन्ने सुझाबहरु आएका छन् । तर, पार्टीको भावना, स्परिट र गतिशिलताविपरित कसैले केही कुरा राख्नुभएको छैन् ।

अध्यक्ष केपी शर्मा ओलीको प्रतिवेदनप्रति दश जना नेताको असन्तुष्टि रहेको छ, अहिलेको अवस्थामा उहाँले पार्टीलाई एक बनाउन सक्नुभएन भन्ने उहाँहरुको आरोप छ नि, भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली र घनश्याम भुसालले ओलीको प्रतिवेदनमाथि असहमति जनाउनुभएको होईन र ?

होइन, त्यसो होइन । बैंकमा तपाईं होइन, म थिएँ । अहिलेको प्रतिवेदनमा मात्र होइन, जुनसुकै प्रतिवेदनमा पनि यो कुरा छुटेको छ, यो राख्नपर्यो भन्ने कुरा आउँछ । पहिलो वक्ता म नै हो । अध्यक्षको प्रतिवेदनमा १९ वटा बुँदामा यसको साटो यो राखौं भनेर सुझाव दिने काम त मैले पनि गरेको छु नी ।

तपाईंले पनि गर्नुभयो, तर घनश्याम भुसालले स्थायी समितिको प्रतिवेदनमाथि असहमति लेख्नुभयो ?

त्यस्तो केही लेख्नुभएको छैन् । मैले अघिपनि भनें हरेक प्रतिवेदनमा छलफल हुन्छ । आफ्नो विचार राख्ने कुरा हुन्छ । त्यसैले सकेसम्म ताजा दृष्टिकोण बनाउनको निम्ति नेतृत्वले समेट्न सक्ने जति समेट्न सक्छन् । त्यसको निम्ति नै ५, ६ र ७ गते आए सुझाबलाई लिएर बनाउने काम हुन्छ । त्यसपछि ८ र ९ गते केन्द्रीय कमिटी बैठकमा स्थायी समितिको तर्फबाट प्रस्ताब लैजान्छ । त्यसपछि केन्द्रीय कमिटीमा पनि छलफल गर्छ, त्यो पनि अन्तिम हुँदैन । केन्द्रिय कमिटीले छलफल गरेर त्यसमा अझै परिमार्जन गरेपछि १५, १६, १७ चाहीँ विधान महाधिवेशनमा जान्छ । महाधिवेशनले पनि त्यसलाई परिमार्जन गर्न सक्छ । त्यसैले प्रतिवेदन भनेको परिमार्जन हुँदै जाने चिज हो । त्यसैले घनश्यामजीका विचार छन्, साथै अन्य सबै १९ जना साथीहरुका विचार छन् । कतिपय सवालमा घनश्याम कमरेडले पनि नीतिगत सवालमा अझै यस्तो गर्दा होला भन्ने कुरा राख्नुभएको छ । त्यसैले विवाद भयो भनेर अर्को कोणबाट विवाद गर्न जरुरी छैन ।

भीम रावलले संसद् विघटनकै कारणले गर्दा एमाले विभाजनमा गयो भन्नुभएको छ, त्यसलाई केपी शर्मा ओलीले अस्विकार गर्नुभयो नि होइन ?

होइन, त्यहाँ स्विकार/अस्विकार भन्ने कुरा नै छैन । यसमा भएको के हो भने, वास्तबमा यो परिस्थिति आउनमा के कारणहरु थिए त भन्ने सन्दर्भको त्यो प्रतिवेदनमा जुन बुँदा छ । त्यसमा अझ यी भाषा पनि राखे हुन्थ्यो भन्ने सुझाव त आउने नै भयो त । त्यो स्वभाविक हो । मलाई र तपाईंलाई लागेको कुरा नै अन्तिम सत्य हँुदैन नि । बाधे बाधे जायते तत्व बोध भन्दा यी विचारहरु आउछन् । त्यसले गर्दा बिगतमा भए गरेका घटेका घट्नाका बारेमा समिक्षा गर्ने सवालमा स्वभाविक रुपमा लामो समयसम्म विवाद विमति विभिन्न छलफलहरु भइरहेको कुरा सबैलाई थाहा छ । त्यसैले उहाँहरुले यी कुराहरु पनि परोस भनेर आफ्नो कुरा राख्नु राम्रो कुरा हो । त्यो बारेमा तथ्यपरक ढंगले समायोजन गरेर अगाडि बढाउने जिम्मा पाउनुभएका सम्बन्धी कमिटी जुन बनेको छ, उहाँहरुले केन्द्रीय कमिटीमा लानुहुन्छ ।

पार्टीको एकताको लागि १० बुँदे सम्झौता भयो, तर केपी शर्मा ओलीले त्यसलाई पनि बेवास्ता गर्नुभयो भन्ने कुरा पनि उठेको छ नि ?

यो एउटा धाँजा पार्ने र त्यहाँबाट औंला पठाउने काम केही मान्छेले गरेका छन् । त्यसो होइन्, सम्पूर्ण कुराहरु के छ भने, चार वर्ष पहिले जन्मिएको बालक पनि स्कुल जान थालिसक्यो । त्यसले गर्दा सबै १०० प्रतिशत जस्ताको तस्तै भन्ने कुरा भन्दापनि आम रूपमा किनभने त्यतिबेला जिम्मेवारीमा नभएका कमरेडहरु पनि अहिले जिम्मेवारीमा हुनुहुन्छ । जस्तो उदाहरणको निम्ति चाहीँ नेकपा (एमाले) र नेकपा माओवादी केन्द्र मिलेर नेकपा बन्यो । नेकपाको बेलामा स्थायी समितीमा रहनुभएका कमरेडहरुले हामी एमाले हौं, हामी एमालेकै अंगको रुपमा जसरी नेकपा गठन भएको थियो । त्यो ढंगले प्रचण्डजी चोइटिएर गएतापनि हामी त्यही धारको रुपमा छौं भनेपश्चात् उहाँहरुलाई सामेल गर्ने कुरामा जेठ २ मात्र भनेर त भएन नी । त्यसैगरि जिल्ला र प्रदेशमा पनि यस्तो अवस्था छ । यी सब कुराहरु गर्न बिभाजन गर्न एकथरी मान्छेहरु लागेका छन् । यस्तोबेलामा म सबैलाई के भन्छु भने यो समयमा छाती ठुलो बनाएर एडजस्टमेन्ट गर्ने कुरामा सबैले ध्यान दिनुपर्छ । अध्यक्षको भावना र भनाइ पनि त्यही हो ।

तर, हिजाको बैठकमा अध्यक्ष र १० भाईबीच आरोप–प्रत्यारोप नै चल्यो अरे नि ?

यहाँले भनेजस्तो चर्काचर्की कसैले पनि गर्नुभएको छैन् । तर, भन्नुभएको के हो भने चाहीँ प्रतिवेदनमा यी कुरा राखिनुपर्छ, यस्ता कुराहरु राखिनुहुँदैन भनेर आफ्ना सुझाबहरु राख्नुभएको छ । कसैले लिखित पनि दिनुभएको छ । कसैले मौखिक पनि दिनुभएको छ । यस्तोलाई राजनीति नबुझेकाले त भन्लान, तर बुझेकाले वादविवाद भन्नु गलत हो ।

एमालेभित्र दश बुँदे कार्यान्वयन हुन्छ ?

दश बुँदे त उहिल्यदेखी नै कार्यान्वयन हुँदैछ । सबैकुराहरु अघि बढिसकेको छ । तपाईंले भनेजस्तो जेठ २ मा रामबहादुर थापा हाम्रो पार्टीको स्थायी समितीमा हुनुहुन्थेन अथवा टोपबहादुर रायमाझी पनि हुनुहुन्थेन नि । जेठ २ भनेको प्रयोगात्मक ढंगले अगाडि बढाउनेगरि पार्टीले सर्वसम्मत् गरेको छ । जहाँसम्म एक÷दुई जनाको जिम्मेवारीको बारेमा मिल्यो की मिलेन एक/दुई वटा जिल्लामा समस्या पर्यो की परेन भन्ने कुराहरु छन् । तर ति कुराहरु पनि अब समस्या पर्यो भने कसरी हल गर्ने भन्ने कुरा कार्यदल बनेको छ । कार्यदलले त्यसलाई मिलाउनु हुन्छ । टिमले सबै समस्याहरु हल गर्छ । त्यसलाई सबैले पालना गर्न म अनुरोध गर्छु ।

तर, केपी शर्मा ओलीले हिजो कार्यदलमा बसेका ५ जनाको कारणले गर्दा मेरो सरकार ढल्यो, सरकार ढाल्ने योजनाकारहरु भीम रावललगायतका नेताहरु हुन भन्नुभयो होईन ?

कहिले भन्नु भयो त्यो ? उहिलेका कुरा नगर्नु न तपार्इं । हिजोको बैठकमा उहाँले त्यस्तो केहीपनि बोल्नुभएको छैन् । एक÷दुई वर्ष अघिको कुरा ल्याएर विवाद चर्काउने कुरा नगर्न सम्पूर्ण मिडियाकर्मीलाई म अनुरोध गर्न चाहन्छु । बैठकमा त्यस्तो शब्द कसैले प्रयोग गर्नुभएको छैन् ।

त्यसो भए ७० वर्ष काटेका नेताहरु अब एमालेको नेतृत्वमा रहँदैनन् त ?

एमालेमा रहँदैनन् कहाँ भनेको छ ? कार्यकारी पदमा नरहने भन्ने कुरा नवौं महाधिवेशनकै हो । त्यसलाई जस्ताकोतस्तै लगेको छ । यसलाई सच्याउने की नसच्याउने भन्ने कुरा स्थायी समितीमा छलफल भएको छैन । तर, केही साथीहरुले ७० वर्षभन्दा दुई कार्यकाल राख्दा वैज्ञानिक होला भनेर राख्नुभएको छ । अब केन्द्रीय कमिटीले के गर्छ, त्यो चाहीँ अब ९ गतेतिर थाहा होला । केही साथीहरुले यो पार्टीलाई सशक्त बनाउनका निम्ति राष्ट्रिय/अन्तराष्ट्रिय रुपमा पनि के गर्नुपर्ला भन्ने विषयमा आफ्ना विचार राख्नुभएको छ ।



प्रतिक्रिया दिनुहोस्