Logo

जहाज थपेर गन्तव्य विस्तार गर्दै यती एयरलाइन्स



काठमाडौँ, ५ असोज: आफ्नो स्थापनाको २३ वर्ष पूरा गरेको ठूलो हवाई सञ्जाल भएको प्रतिस्पर्धी वायुसेवा कम्पनी यती एयरलाइन्सले जहाज थपेर नयाँ गन्तव्य विस्तार गर्ने रणनीतिका साथ अघि बढेको छ । सन् १९९८ सेप्टेम्बर २१ बाट पहिलो उडान सुरु गरेको यतीले सोही दिनलाई वार्षिक उत्सवको रुपमा मनाउने गरेको छ । २४ वर्ष प्रवेशसँगै यतीले जेट स्ट्रिम युगको पूर्णरुपले अन्त्य गरी एटिआर युगमा प्रवेश गरेको छ ।

हालै यतीले आफूसँग रहेको पाँच वटा विमान बिक्री गरेको छ । नेपालका दुर्गम क्षेत्रका बासिन्दालाई मानवीय सेवा गर्ने उद्देश्य लिएर स्थापना भएको यतीले आफ्नो भगिनी संस्था तारा एअरसहित सेवा प्रदान गर्दै आएको कम्पनीले दाबी गरेको छ ।

स्थापनाको सुरुआती दिनमा यातायात सञ्जाल नजोडिएका हिमाली क्षेत्र र कर्णालीका बासिन्दालाई खाद्यान्न, औषधि, लत्ताकपडालगायत सामग्री ढुवानी गर्दै आएको यतीले पछिल्लो समय अन्तर्राष्ट्रियस्तरमा समेत आफ्नो सञ्जाल बढाउँदै लगेको एअरलाइन्सका प्रमुख कार्यकारी अधिकृत (सिईओ) अनोज रिमालले जानकारी दिए । “पाइलट, चालक दल, दक्ष प्राविधिक, तालिम प्राप्त कर्मचारी, साझेदार सङ्घसंस्थाको इमान्दारी तथा यात्रुको विश्वासले हामी सफल भएका छौँ,”, सिइओ रिमालले भने ।

कल सेन्टरको शुभारम्भ

एअरलाइन्सले वार्षिकोत्सवको अवसरमा ग्राहकवर्गलाई थप सहजता प्रदान गर्ने उद्देश्यले रिजर्भेसन सेन्टर बढाउँदै आजबाट कल सेन्टरको औपचारिक शुभारम्भ गरेको छ । कल सेन्टरको शुभारम्भसँगै अब ०१–५९७००७४ मा फोन गरी उडानसम्बन्धी जानकारी लिन सकिने र उडानसम्बन्धी जिज्ञासा अनुत्तरित नरहने यती एअरलाइन्सले जनाएको छ ।

एयरलाइन्सका प्रवक्ता एवं हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले उपयुक्त भाडा दर, झन्झट रहित यात्रा, गुणस्तरीय सेवा र यात्रुलाई पहिलो प्राथमिकतामा राखी उडान गरेको कारण यती एयरलाइन्स स्वदेशी तथा विदेशी यात्रुको रोजाइँमा परेको दावी गरे । “बिरामी, अपाङ्गता वा फरक क्षमता भएका यात्रु, बालबालिका तथा ज्येष्ठ नागरिकलाई विशेष प्राथमिकतामा राखेर सेवा दिएका छौँ”, उनले भने ।

यतीले कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न निकायको सहकार्यमा सगरमाथा सफाइ अभियानमार्फत् सगरमाथालगायत खुम्बु क्षेत्रबाट हालसम्म करिब १०० टन फोहर ल्याइसकेको छ । यस्तै, विभिन्न जिल्लामा दुईलाख ७२ हजार ६०० वटा बिरुवा वृक्षरोपण गरिसकेको छ । हवाई र पर्यटनमा मात्र नभइ क्रिकेट, फुटबल र गल्फलगायतका खेलकूदका क्षेत्रमा पनि योगदान रहेको जनाइएको छ ।

आगामी वर्षमा वायुयानको सङ्ख्या थपेर नयाँ गन्तव्यमा उडान विस्तार तथा बजार हिस्सा बढाउने कम्पनीको योजना छ । थप रोजगारी सिर्जना गर्ने, चार्टर उडानमार्फत् अन्तर्राष्ट्रिय गन्तव्यमा सेवा विस्तार गर्ने, नयाँ प्रविधि प्रयोगमा ल्याई सेवा परिष्कृत गर्दै थप गुणस्तरीय बनाउने र यात्रुलाई प्रत्यक्ष लाभ हुने सहुलियतका कार्यक्रम ल्याउने तथा सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिने कम्पनीले जनाएको छ ।

यतीले हाल पाँचवटा एटिआर विमानमार्फत् नेपालगञ्ज, भद्रपुर, जनकपुर, पोखरा, सिमरा, भैरहवा र विराटनगरमा उडान भर्दै आएको छ भने भगिनी संस्था तारा एअरको ४ वटा ‘ट्वीन–अटर’ विमानमार्फत् दुर्गम हिमाली तथा पहाडी भाग लुक्ला, फाप्लु, जोमसोम, हुम्ला, जुम्ला, रारा, डोल्पा, बाजुरा जस्ता विमानस्थलमा सेवा दिँदै आएको छ ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्