Logo

चीनको छिमेकी देशहरुसँग बढ्दो सीमा विवाद



प्रभात सिंहः चीनको १४ देशसँग जमिन जोडिएको छ । उसको समुन्द्र मार्गबाट नजिक रहेका छिमेकीहरु पनि छन् । जसमध्ये जापान, फिलिपिन्स, भियतनाम, थाइल्यान्ड, ताइवान लगायत छन् । ताइवानलाई चीनले देशको मान्यता दिएको छैन ।

चीनको विश्वको तेस्रो ठूलो देश हो । उसको १४ देशसँग सीमा जोडिएको छ । उसको अधिकांश छिमेकी देशसँग सीमा विवाद छ । जुन हल हुने सम्भावना क्षीण छ । समुन्द्री टापुहरुका विषयमा पनि विवाद छ ।

चीन र भारत बीच सीमाका विषयमा ठूलो विवाद छ । लद्दाखमा चीनले आफ्नो भूमि अतिक्रमण गरेको आरोप भारतले लगाउँदै आएको छ । त्यहाँ सन् २०२० मा दुई देशबीच झडप समेत भएको थियो । घटनामा दुवै देशतर्फ हताहती समेत भएको थियो ।

चीनको भुटानसँग पनि सीमा विवाद छ । दोक्लाममा भएको विवाद र झडप यसकै कारण हो । चीनको जापान, भियतनाम, फिलिपिन्स, ब्रुनईलगायतका देशसँग साउथ चाइना सीमा रहेको टापुका विषयमा विवाद छ ।

चीनको कम्बोडियासँग सीमा विवाद छ । कम्बोडियो मिंग राजवंशका बखत चीनको हिस्सा थियो । त्यहाँ चीनले ठूलो भूभाग अतिक्रमण गरेको विषय उठ्ने गरेको छ ।

इन्डोनेशियाको नातुन द्वीप समूहमा चीनले दाबी गरेको छ । जापानसँग सेनकाकू द्वीपका बारे विवाद छ । हालैमात्र जापानले विवादित द्विप नजिक जहाज पठाएको छ । त्यहाँ तनावको स्थिति छ ।
काजाकिस्तान, किर्गिस्तान, लाओस, मंगोलिया, ताजिकिस्तान जस्ता देशसँग पनि चीनको सीमा विवाद छ । त्यहाँका कतिपय भूभागमा चीनले दाबी गर्दै आएको छ ।

सिंगापुर, फिलिपिन्स, भियतनाम, दक्षिण कोरिया, मलेशिया जस्ता देशहरुसँग चीनको टापुका विषयमा विवाद छ । साउथ चाइना सीमा चीनले टापुहरुमा दाबी गरेको छ । त्यहाँ सैन्य उपस्थिति पनि बढाउँदै लगेको छ । उक्त क्षेत्रमा युद्धको कालो बादल मडारिइरहेको छ ।

फिलिपिन्सको स्कारबरो शोल र स्प्रैटली द्वीपलाई चीनले आफ्नो भन्दै आएको छ । भियतनामको पिरासेल टापुमा चीनको दाबी छ । स्प्रैटली टापु समूहमा रहेका कतिपय टापुहरुमा मलेशिया, भियतनाम, फिलिपिन्स र ताइवानको दाबी भएकोमा चीनको पनि दाबी छ । ताइवानलाई चीनले आफ्नो भूमी भन्ने गरेको छ ।

मंगोलियासँग चीनको सीमा विवाद छ । त्यहाँ उसले प्रभाव बनाउँदै आएको छ । मंगोलियाले विगतमा भारतसँग सम्बन्ध विस्तार गर्न खोज्दा चीनले नाकाबन्दी नै गरिदिएको थियो । भूपरिवेष्ठित देश मंगोलियाले त्यतिबेला निकै संकट व्यहोरेको थियो ।

रुसले चीनसँगको लामो सीमा विवादलाई समाधान गरेको छ । दुई देशबीच सन् १९९१, १९९४ र २००५ मा सीमा सम्झौतामा हस्ताक्षर भएको थियो ।

सीमा विवादका क्रममा चीनले आक्रामक व्यवहार पनि देखाउने गरेको छ । नतुना टापुमा चीनले गैरकानुनी रुपमा माछा मारेको भन्दै इन्डोनेशियाले आपत्ती जनाएको थियो ।

पारासे र स्प्राटली टापुको ठूलो क्षेत्रमा चीनले दाबी मात्र गरेन भियतनामको माछा मार्ने डुंगा नै डुबाइदियो । मलेशियासँग पनि उसको टापु र समुन्द्री क्षेत्रबारे विवाद छ ।

जापानको सेनकाकु र रुकु टापुमा चीनले सैन्य उपस्थिति बढाएको छ । त्यहाँ युद्धको खतरा बढेको छ ।

चीनको नजिकको भित्र भनिएको उत्तर कोरियासँग पनि सीमा विवाद छ । सिंगापुरले सीमा क्षेत्रमा चीनको सैन्य उपस्थितिप्रति चासो बढाएको छ । चीनले पछिल्लो समय सीमा क्षेत्रमा सैन्य प्रभाव बढाउँदै लगेको छ । अत्याधुनिक हतियारसहित सेना परिचालन गरेको छ । कतिपय देशको सीमा क्षेत्रमा झडप समेत भइसकेको छ ।

नेपालसँग सीमा समस्या

नेपाल पनि चीनको छिमेकी मुलुक हो । चीनको स्वशासित क्षेत्र तिब्बतसँग नेपालको उत्तरी सीमा छ । नेपालको पछिल्ला समयमा चीनसँग सुमधुर सम्बन्धबारे व्याख्या हुने गरेको छ । तर, नेपालले चीन र तिब्बत दुवैसँग युद्ध लडिसकेको इतिहास छ ।

चीन र नेपालबीच सन् १७८८ देखि १७९२ मा युद्व भएको थियो । यस क्रममा चीनले नेपालको धेरै भूमि कब्जा गरेको थियो । नेपाल उत्तरतर्फ खुम्चिन पुग्यो । लामो समय सीमा समस्या रह्यो । सन् १९६० मा सीमा समस्याबारे वार्ता गर्ने निर्णय भयो । उक्त वार्तालाई सन् १९६१ मा कार्यान्वयनमा ल्याइएको थियो । कार्यान्वयन गर्ने क्रममा दुवै देशले कब्जा गरेका भूमि समेत फिर्ता गरेको थियो । सोही वर्ष दुवै देशको सीमामा पिलर राखेका थिए । तर, चीनले हुम्ला, सिन्धुपाल्चोकलगायत ४ जिल्लाका ११ स्थानमा सीमा अतिक्रमण गरेको तथ्य इतिहासमा सुरक्षित छ । यसबारे अध्ययन गर्न सरकारले कमिटी गठन गरेर काम बढाएको छ ।

विगतमा कृषि मन्त्रालय गरेको सर्वेक्षणमा ११ स्थान मध्ये १० स्थानमा चीनले अतिक्रमण गरेको विषय उठेको थियो । केपी शर्मा ओली प्रधानमन्त्री भएको पालामा परराष्ट्र मन्त्रालयले चीन कुनै क्षेत्रमा सीमा नमिचेको विज्ञप्तिमार्फत् उल्लेख गरेको थियो । चीनले समेत उक्त क्षेत्रहरुमा कुनै भूमि नमिचेको बताउँदै आएको छ ।

नेपाल र चीनबीचमा रहेको १४१४.८८ किमीबाट कतिपय पिलर गायब भएको सर्वे रिपोर्टले सार्वजनिक गरेको थियो । चीनले तिब्बततर्फ आफ्नो सडक विस्तार योजनाहरु बढाएको छ । यसले पनि सीमा क्षेत्रमा प्रभावहरु पर्न थालेको छ । नेपालतर्फ उक्त क्षेत्रमा रहेको नदीहरुको बहावलाई मोड्न पुग्दा असर परेको छ । नदी नहाँ सम्म जान्छ त्यहाँ सम्म चीनले आफ्नो भूभाग दाबी गर्दै आएको छ ।

देउवा सरकारले सीमा अध्ययन गर्न कमिटी गठन गरी सर्वेक्षण गर्न टोली पठाएकोमा चाँडै फर्किएको छ । महत्वपूर्ण मानिएको ११ नम्बर पिलर सर्वेक्षण नगरी फर्किएको छ । यसले केही आन्यौलता देखिएको विश्लेषण गरिएको छ ।

चीनले विश्वमा आफ्नो प्रभाव बढाउन आक्रामक कदमहरु चालिरहेको छ । तिब्बतर्फ सुरक्षाफौज र सैनिक आधार बढाउन थालेको छ । उच्च हिमाली क्षेत्रमा समेत युद्धका अभ्यासहरु बढ्न थालेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्