Logo

लुम्बिनीमा कृषि, पर्यटन र औद्योगिक विकासको उच्च सम्भावना



काठमाडौं, असोज ६। । लुम्बिनी प्रदेशमा कृषि, उद्योग र पर्यटन विकासको प्रशस्त सम्भावना देखिएको छ । त्यहाँ भएको कृषियोग्य भूभाग, औद्योगिक क्षेत्र र पर्यटन स्थलहरूका कारण यी ३ क्षेत्रको विकासमा उच्च सम्भावना देखिएको हो ।

नेपाल राष्ट्र बैंकले लुम्बिनी प्रदेशमा गरेको आर्थिक गतिविधिसम्बन्धी अध्ययनले यस्तो देखाएको हो । उक्त प्रतिवेदन मंगलवार सार्वजनिक गएिको छ, त्यसमा गत आवको पहिलो ६ महीनाको तथ्यांक समावेश गरिएको राष्ट्र बैंकको भनाइ छ ।

राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले लुम्बिनी प्रदेशको समग्र आर्थिक गतिविधिको सम्बन्धमा अध्ययन गरिएको बताए । ‘हामीले लुम्बिनी प्रदेशको समग्र अर्थतन्त्रको आर्थिक गतिविधि अध्ययन गरेका थियौं । हामीले क्षेत्रगत रूपमा पनि आवश्यक अध्ययन गरेका थियौं,’ उनले भने, ‘त्यसमार्फत हामीले समग्र लुम्बिनी प्रदेशमा क्षेत्रगत व्यवसायको सम्भाव्यता र चुनौती पनि निकालेका छौं ।’

लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू–भागमा अधिकांश कृषि उपजको उत्पादनका लागि आवश्यक मौसमी अनुकूलता रहेको छ । दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रूपन्देहीलगायत भित्री मधेश तथा तराईका जिल्लाहरू कृषि उत्पादनका लागि उर्वर भूमि रहेका छन् । साथै, पहाडी जिल्लामा पनि बेंशी तथा फाँटहरू प्रशस्त रहेका छन् । त्यहाँ कृषि व्यवसाय विकासको उच्च सम्भाना रहेको अध्ययनले देखाएको छ । उक्त प्रदेशमा भरपर्दो सिँचाइ सुविधाको यथोचित व्यवस्था गर्न सकिएमा खाद्यान्नलगायत नगदे बाली उत्पादनको प्रशस्त सम्भावना रहेको प्रतिवेदनमा उल्लेख छ ।

दाङ जिल्लालाई तेलहनको पकेट एरिया र रोल्पा, रूकुम तथा प्युठान जिल्लालाई बीउबिजन उत्पादन केन्द्रका रूपमा विकास गर्न सकिने अध्ययनले देखाएको छ । प्रदेशका पाल्पा, गुल्मी, अर्घाखाँची र प्यूठान जिल्लामा कफी र अदुवाजस्ता नगदे बालीको सफल उत्पादन भइरहेकोमा यसलाई थप विस्तार गर्न सकिने प्रचुर सम्भावना रहेको पनि प्रतिवेदनमा उल्लेख छ । यसका अलावा उखु, तरकारी र मसलाजन्य वस्तुहरूको उत्पादनको पनि उच्च सम्भावना रहेको बताइएको छ । यसमा पशुपालन, मत्स्यपालन, मौरीपालन, कुखुरापालन र अस्ट्रिचपालनको पनि सम्भावना रहेको प्रतिवेदनमा उल्लेख छ ।

लुम्बिनी प्रदेशमा पर्यटन विकासको उच्च सम्भावना पनि रहेको अध्ययनले देखाएको छ । गौतम बुद्धको जन्मस्थल लुम्बिनी आफैमा एउटा विश्वप्रख्यात पर्यटक स्थल हो । हिन्दूहरूको पवित्रस्थल स्वर्गद्वारी, अर्घाखाँचीको सुपादेउरालीलगायत थुप्रै धार्मिकस्थल तथा सांस्कृतिक क्षेत्रहरू त्यहाँ छन् । साथै थारू, मगर, अवध, मुस्लिम आदि समुदायको विशिष्ट संस्कृतिहरू तथा बाँके र बर्दियामा रहेका प्रसिद्ध राष्ट्रिय निकुञ्जहरूले गर्दा त्यहाँ पर्यटनको विकासको उच्च सम्भावना दखिएको हो ।

उक्त प्रदेशका पहाडी जिल्लाहरूमा सुविधा सम्पन्न हिल स्टेशनहरू निर्माण गरेर आन्तरिक एवम् बाह्य पर्यटक आकर्षण गर्न सकिने सम्भावना पनि देखिएको छ । यसका अलावा होमस्टेहरूको व्यवस्थित रूपमा विकास गरी पर्यटकहरूलाई थप आकर्षण गर्न सकिने प्रतिवेदनमा उल्लेख छ ।

बुटवल, भैरहवा, घोराही, तुलसीपुर, नेपालगञ्ज र कोहलपुरजस्ता तीव्र रूपमा विस्तारित हुँदै गएका शहरहरूलाई पर्यटन, उद्योग, व्यापार, बैंकिङ, पूँजीबजार, शिक्षा, स्थास्थ्यजस्ता क्षेत्रको मुख्य केन्द्रको रूपमा विकास र विस्तार गर्न सकिने पनि अध्ययनले देखाएको छ । यी सम्भावित महानगरहरू सिंगो प्रदेशको आर्थिक समृद्धिको संवाहक हुन सक्ने प्रतिवेदनमा उल्लेख छ । लुम्बिनीमा औद्योगिक विकासको सम्भावना पनि रहेको अध्ययनले देखाएको छ ।

लुम्बिनी प्रदेश पनि भारतीय सीमासँग जोडिएको, सुनौलीजस्ता ठूला भन्सार नाकाहरू पनि रहेको तथा सजिलै कच्चा पदार्थ आयात गर्न सकिने र उत्पादित वस्तु निर्यात गर्न सकिने भएकाले यस्तो सम्भावना देखिएको हो । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

https://pch.edu.np/

हल बुकिंग फाराम