Logo

देउवा वैशाखमा चुनाव गर्ने बाटोमा



काठमाडौं, ६ असोज । प्रधानमन्त्री शेरबहादुर देउवा वैशाखमा संघीय संसदको चुनाव गर्ने बाटोमा बढेका छन् । जतिसक्दो छिटो चुनाव गरेर अहिलेको राजनीतिक गतिरोध अन्त गर्न सकिने भन्दै देउवाले भित्री तयारी समेत गरेका छन् ।

चुनावको पक्षमा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली पनि छन् । उनले मध्यावधि चुनावका लागि दुई पटक संसद विघटन गरेका थिए । तर, सर्वोच्च अदालतले उनको कदमलाई असंवैधानिक ठहर गरिदियो । त्यसपछि ओली सरकार ढलेर देउवा प्रधानमन्त्री बने ।

ओली प्रधानमन्त्री छँदै देउवाले अर्ली इलेक्शनमा जोड दिदै आएका थिए । उनले सार्वजनिक रुपमै चुनावको रटान लगाएका थिए । तर, घटनाक्रमले देश चुनावमा नगई प्रतिनिधि सभा पुनःस्थापना भयो ।

देउवानिकट नेताहरु एनपी साउद, रमेश लेखकलगायतले अर्ली इलेक्शनमा सार्वजनिक रुपमै बोल्दै आएका छन् । जतिसक्दो छिटो चुनाव गराएर निकास दिन सकिनेमा काँग्रेसको देउवा पक्ष अगाडि बढेको छ ।

सरकार गठन भएपनि मन्त्रिपरिषद विस्तार हुन सकेको छैन । २ महिना बितिसक्दा प्रधानमन्त्री, ४ मन्त्री र १ राज्यमन्त्रीको भरमा देश चलिरहेको छ । सत्ता गठबन्धनमा खटपट सुरु भइसकेको छ । पार्टीहरु फेरि फुट्ने खतरा बढ्दै गएको छ । यसले दलहरुभित्र विभाजनको आगोको झिल्को फैलदा राजनीतिक अस्थिरता बढ्न सक्ने देखिएको छ ।

देशमा अर्को संकट आउने खतरा बढ्दै जाँदा चुनावमा जान दुई मुख्य दल नेपाली काँग्रेस र नेकपा एमालेका नेताहरु तयार भइसकेका छन् । काँग्रेसले जति चुनाव छिटो हुन्छ उति लाभ लिन सकिने निष्कर्ष निकालिसकेको छ । एमाले पनि चुनावमा गएर अन्य कम्युनिस्ट दलहरुलाई साइजमा ल्याइदिने रणनीतिमा छ ।

ओलीले माधव नेपाल नेतृत्वको नेकपा एसलाई सुन्यमा झारिदिने ठोकुवा गरिसकेका छन् । प्रचण्ड नेतृत्वको माओवादीलाई पनि कमजोर पार्न सक्ने ओलीको निष्कर्ष रहेको बुझिएको छ । यसकारण पनि देउवा र ओलीबीच चुनाव छिटो गर्ने विषयमा मन मिलेको देखिन्छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्