Logo

सरकारले एमालेलाई जबर्जस्ती मुठभेडतिर धकेल्न खोजिरहेको छ, निकम्मा निर्णयविरुद्ध सडकमा जान तयार छौंः डा. भट्टराई



काठमाडौं, असोज ६ । नेकपा एमालेका विदेश विभाग प्रमुख डा. राजन भट्टराईले सरकारका निकम्मा र जनविरोधी निर्णयको विरुद्धमा संसद्देखि सडकसम्म जाने बताएका छन् । आफ्नो पार्टी मुठभेडमा जान नचाहे पनि गठबन्धन सरकारले त्यतातिर जबर्जस्ती धकेल्न खोजिरहेको उनको दाबी छ ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा आज बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा। भट्टराईले भने, ‘हामीले सरकारका निकम्मा कामको निरन्तर विरोध गरिरहेका छौं । सभामुखको गलत रवैयाविरुद्ध संसद्मा अवरुद्ध गरिरहेका छौं । सदनभित्र र आवश्यक परेमा बाहिर पनि विरोधमा जान्छौं । सरकारले गरेका गम्भीर बदमासीलाई प्रतिपक्षले टुलुटुलु हेरेर बस्दैन । सदनदेखि सडकसम्म जानु हाम्रो अधिकार हो ।’

एमाले विधान महाधिवेशनदेखि महाधिवेशनसम्मको तयारीमा लागे पनि सरकारका गलत क्रियाकलापलाई नियालिरहेको उनले बताए । उनले भने, ‘हामीले ४१ म्हिनासम्म मुलुकलाई आर्थिक विकास, समृद्धि र सामाजिक रुपान्तरणमा हिँडाउन प्रयास गरेका हौं । यो सरकारले पनि कानुनले दिएका काम मात्र गरोस् भन्ने चाहन्छौं । सरकारले हाम्रो कार्यालयमा पुलिस प्रशासन लगाएर गुन्डागर्दी गरिरहेको छ । हामी त्यसको सशक्त प्रतिवाद गर्छौं । तर हामी मुठभेडमा जान चाहँदैनौं । मुठभेड हाम्रो प्राथमिकता होइन ।’

७० दिन हुन लाग्दा पनि मन्त्रीमण्डल विस्तार गर्न नसकेको सरकारले विभिन्न कूटनीतिक मिसनमा रहेका राजदूत फिर्ता गरेर अत्यन्त गलत सन्देश दिएको उनले बताए । उनले भने, ‘महामारी नियन्त्रणमा तदारुकता छैन, बाढीपहिरो पीडितको समस्यामा मतलब छैन, कसलाई हटाउने भन्ने खेलमात्र गरिरहेको छ । यो सरकार यहाँ भन्दा नांगिने ठाउँ के छ र १ महामारीविरुद्धको भ्याक्सिनमा समन्वयन गरिरहेका राजदूतहरुलाई एकैचोटि फिर्ता बोलाउँदा गलत सन्देश गएको छ । गैर जिम्मेवार सरकारसँग यो भन्दा बढी के अपेक्षा गर्ने ?’

उनले एमालेमा १० बुँदे सहमति कार्यान्वयन भइसकेकाले कसैको असन्तुष्टि नरहेको दाबी गरे । उनले भने, ‘यो हाम्रो पार्टीको आन्तरिक मामिला हो । १० बुँदे सहमति कार्यान्वयन भइसकेको छ, केही ठाउँका समस्या छ भने पनि समाधान हुन्छ । यसमा कसैको असहमति छ भने त्यसलाई पार्टीभित्र राख्ने अधिकार छ । महाधिवेशन सर्वोच्च संस्था हो । बाँकी कुरा महाधिवेशनले टुंग्याउँछ । एमालेमा डेढ वर्षदेखि विग्रह र झगडा धेरै भइसकेको छ । विवादको चरमोत्कर्ष हामीले भोगिसकेका छौं ।’

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले राजनीतिक प्रतिवेदनमा आफ्नो स्तर र हैसियत अनुसार भाषा प्रयोग गरेको आरोप लगाए । उनले भने, ‘माधव नेपालले १५, १६ वर्ष नेतृत्व गर्दा पार्टी कस्तो भएको थियो रु प्रधानमन्त्री हुनका लागि राजाको पाउमा दाम चढाएको र प्रतिगमन आधा सच्चियो भनेर सरकारमा गएको मान्छेले एमाले र यसका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध कसरी अन्टसन्ट लेख्न सक्नुभयो रु सत्ताका लागि उहाँले डेढ वर्षदेखि वितण्डा मच्चाउनुभएको होइन रु उहाँले एमालेलाई जति ड्यामेज गर्न खोज्नुभएको थियो, त्यति गर्न सक्नुभएन । उहाँले एमाले र ओलीलाई राम्रो भन्ने आशा हामीले गरेका छौं र ?’



प्रतिक्रिया दिनुहोस्