Logo

मिथिलाक्षेत्रका लोकनाच लोप हुन थालेपछि कलाकार पलायन हुँदै



लहान, ६ असोज । कुनै बेला मिथिला क्षेत्रमा अत्यन्तै लोकप्रिय बनेको प्रसिद्ध ऐतिहासिक तथा साँस्कृतिक लोकनाच यतिबेला लोप हुन थालेको छ ।

लोकनाच लोप हुन थालेसँगै कलाकार रोजगारीको खोजीमा पलायन हुन थालेका छन् । मोबाइल फोन र सिडी चक्काको बढ्दो प्रयोग तथा उचित संरक्षणको अभावमा सातौँ र आठांै शताब्दीदेखि मिथिला क्षेत्रमा प्रचलनमा रहेको मिथिला क्षेत्रका ऐतिहासिक, प्राचीन लोकनाच राजा सलहेस, शीतवसन्त, रुनाझुना, जङ्गली बादशाह, गोपीचन्द, कुँवर वृजभान, सुन्दर वनको सुन्दर फुल, अल्लाह रुदल, गुगलीघाट, सामाचकेवा, कमलामैया जस्ता नाच कालान्तरमा आएर लोप हुन थालेका हुन् ।

यस्तै जय विषहरा, दुलहा दयालासिंह, विदेशिया, दिनाभद्री, लोरिक, राजानल, राजा हरिश्चन्द्र, सती विहँुला, कारिक, महराई शोरवा महाराज, महराई, कारिक महाराज, आल्ला रुदल, झगडु मल जस्ता ऐतिहासिक लोकनाच पनि लोप हुन लागेका छन् । बढ्दो टिभी, सिडी र मोबाइलको प्रयोगसँगै ऐतिहासिक तथा प्राचीन लोकगाथाको नाच लोप हुन थालेको सुनाउँदै दशवर्षको उमेरदेखि नाँच गर्दै आएका सिरहा भगवानपुर गाउँपालिकाका ४० वर्षीय पनिराम साफीले भने, ‘‘नाच कम्पनी बन्द हुन थालेपछि आफूहरु बेरोजगार भएका छौं ।”

उनले पहिला पहिला प्रतिष्ठाको लागि भए पनि ठूलो रकम खर्चेर ग्रामीण क्षेत्रमा लोकनाँच गराउँदथ्यो, अहिले त्यो विचार हराउँदै गएकाले नाच कम्पनी बन्द हुन लागेको बताउँदै नाचबाटै कमाएर २० जना कलाकारको सहभागितामा नाच मण्डली खोले, तर दुर्भाग्य भन्नुप¥यो कम्पनी नै चल्न नसकेपछि बन्द गर्नुपरहेको गुनासो गरे ।

“केही वर्षअघिसम्म नाच कम्पनीबाटै वार्षिक पाँच÷सात लाख भन्दा बढी आम्दानी हुन्थ्यो”, अर्का कलाकार फनिरामले भन्नुभयो, ‘‘कुनै बेला मिथिला क्षेत्रमा लोकनाच प्रसिद्ध थियो, तर अहिले अब यी मौलिक नाच लोप हँुद्यै गएको छ ।” नाच कम्पनी बन्द हुन थालेपछि त्यसमा संलग्न कलाकार रोजगारीका लागि मलेसिया, साउदी, कतारलगायतका खाडीमुलुक तथा छिमेकी देश भारततर्फ पलायन हुन थालेको उनको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्