Logo

मर्दी ट्रेकमा आन्तरिक पर्यटकको चहलपहल



कास्की, ६ असोज । कास्कीको मर्दी हिमाल पदयात्रामा आन्तरिक पर्यटक पुग्न थालेपछि पर्यटन व्यवसायीमा उत्साह बढेको छ । कोरोनाले शिथिल यस पर्यटनमार्गमा पछिल्ला दिनमा दैनिक आन्तरिक पर्यटक आउन सुरु गरेको त्यस क्षेत्रका व्यवसायी बताउछन् । विदेशी पर्यटकले पनि सोधीखोजी शुरु गरेका छन् ।

कोभिड अघिको अवस्थामा यहाँको पयर्टन फर्किन समय लाग्ने भए पनि स्वदेशी पदयात्रीको चहलपहल सुरु भएकाले आशा जगाएको छ । मर्दी ट्रेकमा होटल व्यवसाय सञ्चालन गर्दै आएका पर्यटन व्यवसायी सुदीप गौतमले अहिले पदयात्रामा आन्तरिक पर्यटक आउन सुरु गरेको बताए ।

“नेपाली हिँडन् थालेका छन्, विदेशीको पनि सोधपुछ आउन थालेको छ”,गौतमले भने,“दिनमा १५÷२० जना नेपाली पर्यटक आएका छन् ।” दसैँको बिदा सुरु भएलगत्तै थप पर्यटक आवागमन हुने ठानिएको छ ।

सरकारले आगामी फागुनसम्म सबैलाई कोरोना खोप दिने बताएको र अहिले पनि केहीले खोप पाइसकेकाले मर्दी क्षेत्रको पर्यटन विस्तारै पहिलाकै अवस्थामा फर्किनेमा आशावादी रहेको उनी बताउछन् । मर्दी पदयात्राका धम्पुस, अष्ट्रेलियन, पोथना, हाइ र लो क्याम्पका होटल तथा रेष्टुराँटसमेत अहिले खुलेका छन् ।

होटलमा आउने पर्यटकका लागि स्वास्थ्यमापदण्ड पालना गराउने गरिएको गौतमले बताए । विदेशी पर्यटक आउन समय लाग्ने भएकाले आन्तरिक पर्यटकमै अझै केही महिना पर्यटन निर्भर हुने बताइन्छ ।

विशेषगरी दसैँको आसपासमा यस क्षेत्रमा पर्यटकको बाक्लो चहलपहल हुने गरेको छ । विगत वर्षमा विदेशी पर्यटक उल्लेख्य हुने गरे पनि दुई वर्षयता विदेशीको आगमन ठप्प छ । छोटो अवधिमा नजिकबाट हिमशृङ्खलाको अवलोकन मर्दी पदयात्राको आकर्षण हो । पदयात्री मौसमानुसारका फूल फुल्ने हरियालीसँग यात्राका क्रममा आनन्दित हुने गर्दछन् ।

गत वर्ष दसैँ तिहारमा पर्यटकको घुँइचो भएपछि कोभिड–१९ को सम्भावित जोखिम न्यूनीकरणका लागि पदयात्रामा आउने पर्यटकसँग पिसिआर रिपोर्ट अनिवार्य गरिएपछि पर्यटक घटेका थिए । पछि निषेधाज्ञा जारी भएपछि सबै होटल बन्द गरिएका थिए । रासस



प्रतिक्रिया दिनुहोस्