Logo

पर्वतमा मस्जिदमै कक्षा सञ्चालन



पर्वत, ६ असोज । जिल्लामा मुस्लिम बालबालिकाहरुले अध्ययन गर्ने मदरसा नहुँदा मस्जिदमै कक्षा सञ्चालन गरिएको छ । यसका लागि जग्गा नहुँदा ती समुदायले अल्लाहको प्रार्थना गर्ने र नमाज पढ्ने ठाउँमै मदरसा सञ्चालन गरिएको हो ।

ती समुदायका बालबालिकालाई धार्मिक शिक्षा दिन तथा उनीहरूलाई उर्दू भाषा अध्यापन गराउने ठाउँ मदरसा हो । मदरसा नभएकै कारण कुश्मामा बसोबास गर्दै आएका मुस्लिम समुदायका बालबालिकालाई मस्जिदमा राखेर पठनपाठन गर्दै आइएको छ । बालबालिकालाई पढाउनुपर्ने बाध्यता भएकाले मस्जिदमा राखेर भए पनि अध्यापन गराइएको हो ।

“मस्जिदमा प्रार्थना गर्न आउने हो । यहाँभित्र छिर्न निश्चित पोसाक ताकिएको हुन्छ । तर यहाँ मदरसा नहुँदा मस्जिदमा नै कक्षा चलाउनु परेको छ । हामीलाई सहयोग गर्न आउने तथा अनुगमन गर्न आउने मान्छे हाम्रो पोसाकमा आउने कुरा पनि हुँदैन,” मौलाना (शिक्षक) मोहम्मद अकबर अलीले भने, “हामी थोरै सङ्ख्यामा भएका कारण पनि होला कसैले वास्ता नगरेको, सरकारले हामीलाई हेरिदिए हुने हो ।”

विसं २०६८ मा कक्षा १ देखि पठनपाठन सुरु गर्न अनुमति पाएको भए पनि कक्षा चढाउने गरी समेत पठनपाठन हुन सकेको छैन । मस्जिदमा ५८ विद्यार्थी नियमित रूपमा अध्ययनका लागि आउने गरेका छन् । बिहान र बेलुका दुई समयमा उर्दू भाषाको अध्यापन गराइन्छ तर कक्षा चढ्ने भन्ने चाहिँ हुँदैन ।

मुस्लिम सेवा समितिका सचिव अस्गर अली मियाँले आफूहरू कुश्मामा अल्पसङ्ख्यक भएका कारण नै कसैको ध्यान मुस्लिमको समस्यामा नगएको बताउछन् । मुस्लिम समुदायको मदरसा मात्र नभई अन्य थुप्रै समस्या रहेको उनले बताए । “नगरपालिकाले वर्षको एकपटक एक लाख रुपैयाँ दिने गरेको छ । त्यसले त शिक्षकलाई ६ महिनाको तलब पनि पुग्दैन, हामीले चन्दा उठाएर मौलानालाई दिने गरेका छौँ,” उनले भने, “हामीलाई मस्जिदबाहिर छुट्टै ठाउँमा मदरसा र त्यहाँ स्थायी रूपले पढाउने एकजना शिक्षक चाहिएको छ ।”

कुश्मा नगरपालिकाको शिक्षा शाखाका अधिकृत दीपक सुवेदीले नगरपालिकाले मदरसामा सहयोग गर्ने चाहना राखेको भए पनि मदरसा सञ्चालनका लागि सरकारले तोकेका मापदण्डहरू पूरा नभएका कारण सबै काम गर्न नसकिएको जानकारी दिए । विद्यालय सञ्चालनका लागि नगरपालिकाका तर्फबाट वार्षिक रु एक लाख नियमित अनुदान दिँदै आएको र गत आर्थिक वर्ष थप रु दुई लाख ४१ हजार दिइएको उनको भनाइ छ । File Photo-रासस



प्रतिक्रिया दिनुहोस्