Logo

सेतीमा पवित्राको शव यस्तो अवस्थामा फेला परेको थियो



काठमाडौं, ६ असोज । रक गार्डेनस्थित सेती नदीमा पवित्रा लम्सालले आत्महत्या गरेको निष्कर्षमा प्रहरी पुगेको छ । २९ भाद्रमा भएको घटनामा पवित्रा टिकटक बनाउने क्रममा खसेको नभई आफै फाल हालेको निष्कर्षमा प्रहरी पुगेको हो ।

पवित्राले आत्महत्या गरेको निष्कर्ष निकालेर प्रहरीले कारण खुलाउन अनुसन्धान बढाएको छ । उनको शव मङ्गलबार भेटिएपछि प्रहरीले कारण खुलाउन अनुसन्धान बढाएको हो ।

भिमाद ७ स्थित सेती नदीको सिस्नेरी घाटमा उनको शव फेला परेको हो । ढुङ्गाको च्यापमा अड्किएर पछि पानीको वेगले निस्किएपछि तलतिर आइपुगेको अनुमान गरिएको छ ।

शवमा भित्री वस्त्र मात्र थियो । उनको परिवारले पहिचान गरेका थिए । शवको हातमा औंठी र नाकमा फूली थियो । एउटा कानमा मात्र फूली भेटिएको बुझिएको छ ।

पवित्रा कक्षा ९ मा पढ्दै थिइन् । उनको घटनाभन्दा ५ दिनअघि मात्र विवाह भएको थियो । विवाहका लागि उनी दुलाहाको घरमै पुर्याइएकी थिइन् ।

साथीहरुसँगको भेटमा दुलाहा मन नपरेको, घरमा धेरै काम गर्नुपरेको भन्दै असन्तुष्टि पोखेकी थिइन् । उनको प्रेमी पनि भएको हुनसक्ने आधारमा प्रहरीले अनुसन्धान बढाएको छ । उनले आत्महत्या गर्दै गर्दा खिचिएको भिडियोमा विशाल नाम लिदै साथीहरुले रोक्किन भनेका थिए ।

कक्षा ९ मा अध्ययन गर्ने पवित्रा १९ वर्षको भनिएपनि त्यसबारे अनुसन्धान बढाइएको छ । उनको उमेर ढाँटिएको, विवाह गरिएका पुरुष उनीभन्दा निकै बढी उमेरका भएको हुनसक्ने आधारमा पनि अनुसन्धान चलाइएको छ । उनका पति वैदेशिक रोजगारीका लागि गएका र विवाहकै लागि आएको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्