Logo

कान्ति राजमार्गको केही स्थानमा कालोपत्रको साटो ढलान



काठमाडौँ, ६ असोज । सङ्घीय राजधानीलाई वाग्मती प्रदेश राजधानी हेटौँडासँग जोड्ने वैकल्पिक सडकका रुपमा रहेको कान्ति राजमार्गको बढी पहिरो जाने स्थानमा कालोपत्रको विकल्पमा रिजिट पेभमेन्ट (कङ्क्रिटको ढलान) गरिने भएको छ ।

झन्डै ८६ किमी लम्बाइको सो राजमार्गमा अझै १० किमी कालोपत्र गर्न बाँकी छ । यसमध्ये पहिराको बढी जोखिम रहेको तीनदेखि चार किमी सडकमा ढलान गर्ने योजना बनाइएको कान्ति राजमार्ग योजनाले जनाएको छ । दश किमी सडकमध्ये कहाँ कहाँ कालोपत्र गर्न मिल्छ त्यो वर्ष सकिने र बाँकी स्थानमा नयाँ ठेक्कामार्फत निर्माण अघि बढाइने इञ्जिनियर दीपेश रजकले जानकारी दिए ।

विगतमा कालोपत्र गर्ने भनिएकाले चार किमीमा कङ्क्रिट (रिजिट पेभमेन्ट) का लागि नयाँ ठेक्का निकाल्नुपर्ने उनले बताए । उनले भने, “बाँकी ठाउँमध्ये जहाँ हामी कालोपत्र गर्न सकिँदैन, त्यहाँ डन्डी राखेर कङ्क्रिटले गर्न नयाँ बजेट माग भएको छ ।” यो सडकमा अहिलेसम्म अरूतिरको सडकभन्दा कम लगानीमा निर्माण भइरहेको योजनाले जनाएको छ । यो सडकमा एक किमी लम्बाइमा लगानी रु चार करोड रहेको थियो । यो सडकमा पहिराको समस्या हल गरेर मात्रै निर्माण अघि बढाइने उनले बताए । सडकको भित्तामा वा तल्लो भागमा आवश्यकताअनुसार पर्खाल लगाइनेछ । ठाउँठाउँमा कहाँ बायोइञ्जिनियरिङको काम गर्न सकिन्छ त्यहाँ गरिने उहाँले जानकारी दिए । उनले भने, “निर्माणस्थलमा के अवस्था छ त्यहीअनुसार गर्ने गरी योजना बनाइएको छ ।”

आगामी चैतसम्ममा समस्या भएको ठाउँबाहेक अरू खण्ड सम्पन्न गर्ने गरी योजना बनाइएको छ । चालु आवमा निर्माण नसकिएमा अर्को वर्ष आवतजावत गर्न अझै गाह्रो हुने इञ्जिनियर रजकले बताए । पहिराको समस्या आगामी आवमा बढ्ने देखिएको छ । उनका अनुसार पुरानो ठेक्का यो वर्ष सकिने र नयाँ ठेक्कामा नजाँदा पहिरो गएको ठाउँमा हटाउन सकिँदैन । उनले भने, “चालु ठेक्का नहुँदा पहिराले अवरुद्ध सडकमा निर्माण व्यवसायीलाई काम गराउन सकिँदैन ।”

सडकमा जहाँ सकिन्छ त्यहाँ कालोपत्र गरिने र नसकिने स्थानमा कङ्क्रिटको काम गरिने योजनाले जनाएको छ । कालोपत्र जहाँ टिक्दैन र कङ्क्रिट गर्नुपर्नेछ त्यो ठाउँ तत्काmल उसै छाडिनेछ । पटकपटक पहिरो जाने ठाउँमा कालोपत्र नटिक्ने हुँदा राज्यको लगानी खेर जाने उनले बताए । उनले भने, “त्यसैले पनि हामीले कालोपत्र नगरी छाडिरहेको हो ।”



प्रतिक्रिया दिनुहोस्